बैंक तथा वित्तीय क्षेत्रको समस्या समाधान गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थामा रहेका समस्याको तत्काल र दीर्घकालीन समाधानका लागि जुट्न मातहतका निकायलाई निर्देशन दिएका छन्।

 

उनले समस्या समाधानका लागि संयन्त्र विकास गरी समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने र निजी क्षेत्रलाई विश्वासको वातावरण सिर्जना गरी लगानीमैत्री र व्यावसायिक वातावरण सुनिश्चित गर्न मन्त्रालय, नेपाल राष्ट्र बैंक तथा बैंकर्स एसोसिएसनलाई आग्रह गरे ।

 

मुलुकको समसामयिक आर्थिक तथा वित्तीय अवस्था एवं बैंकिङ क्षेत्रमा देखिएका समस्या र यसको समाधान गर्ने उद्देश्यले अर्थमन्त्री खतिवडाले सोमवार बैंक तथा वित्तीय संस्थाका पदाधिकारीसँग छलफल गरेका हुन् ।

 

मन्त्री डा. खतिवडाले समस्या समाधानका लागि आवश्यक सहजीकरण गर्न आवश्यक गृहकार्य गरी कार्यान्वयनको प्रक्रियामा लैजान अर्थमन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, नेपाल राष्ट्र वैंक र नेपाल बैंकर्स एसोसिएसनले यथाशीघ्र छलफल गरी टुङ्गोमा पुर्याउनसमेत निर्देशन दिए ।

 

सो अवसरमा बैंकिङ क्षेत्रमा विशेषगरी तरलताको अवस्था, कर्जाको माग, असुली र ब्याजदर, सम्पत्ति शुद्धीकरण अनुसन्धानसम्बन्धी पालना गर्नुपर्ने विषय, सामाजिक सुरक्षाकोषमा निजी क्षेत्रको स्वःस्फूर्त सहभागिता अभिवृद्धि, संस्थागत सामाजिक उत्तरदायित्वको दायरा फराकिलो बनाउनुपर्नेमा जोड दिइएको थियो ।

 

यस्तै सहुलियतपूर्ण कर्जा वितरणलाई ऋणीको आवश्यकता र मागबमोजिम परिचालन, नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनको कार्यान्वयन र तथा केवाइसी मौजुदा व्यवस्थालाई सरलीकरण गर्ने, हेजिङ सुविधा, मर्जर नीतिको कार्यान्वयनलगायत विषयमा सहभागीले आफ्नो धारणा राखे।

 

कार्यक्रममा अर्थ सचिव शिशिरकुमार ढुङ्गाना, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसी, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय एवं पदाधिकारी, अर्थ मन्त्रालयका पदाधिकारीसहित सबै वाणिज्य बैंक एवं सामाजिक सुरक्षा कोषका प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थिति थियो ।

४०० रोपनीमा खेती गर्ने कृषकलाई ट्रक, ट्रयाक्टर र पिकअप गाडी दिँदै सरकार Read Previous

४०० रोपनीमा खेती गर्ने कृषकलाई ट्रक, ट्रयाक्टर र पिकअप गाडी दिँदै सरकार

‘रेडबुल’को उत्पादन विश्वका सबैलाई बाँड्न पुग्ने, लगानीकर्ता अर्बपति Read Next

‘रेडबुल’को उत्पादन विश्वका सबैलाई बाँड्न पुग्ने, लगानीकर्ता अर्बपति