४०० रोपनीमा खेती गर्ने कृषकलाई ट्रक, ट्रयाक्टर र पिकअप गाडी दिँदै सरकार

हेटौंडा । ठूलो परिमाणमा कृषि उपजहरुको उत्पादन गर्नेगरी चक्लाबन्दी खेती गर्ने किसानलाई वागमती प्रदेश सरकारले ठूला कृषियन्त्र वितरण गर्ने भएको छ ।

 

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको कृषि विकास निर्देशनालय हेटौंडाले धेरै क्षेत्रफलमा खेती गर्ने किसानका लागि ठूलाखालका कृषियन्त्र उपकरण वितरण गर्ने तयारी गरेको हो ।

 

प्रत्येक कृषकको समेत ५० प्रतिशत लगानी हुनेगरी ढुवानी ट्रक, ट्र्याक्टर र पिकअप गाडी वितरण गरिने जनाइएको छ । त्यसरी अनुदान प्राप्त गर्ने प्रदेशभरका १३ कृषकको नाम छनोट कार्यसमेत सम्पन्न गरिएको बताइएको छ ।

 

कृषि निर्देशनालयका अनुसार त्यसरी छनोट गरिएका प्रदेशका १३ किसानमध्ये आठले पिकअप गाडी, दुईले ट्र्याक्टर र तीन जनाले ढुवानी ट्रक प्राप्त गर्नेछन् ।

 

प्रदेशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन कृषकलाई प्रोत्साहन गर्नका लागि उनीहरुलाई कृषिमा प्रयोग हुने उपकरण उनीहरुको समेत थप लगानीमा वितरण गर्न लागिएको निर्देशनालयका निर्देशक रवीन्द्रबहादुर प्रधानले जानकारी दिए ।

 

उनका अनुसार त्यस्ता कृषि उपकरण प्राप्त गर्न ती किसानले कम्तीमा ४०० रोपनी जग्गामा तरकारी, फलफूल तथा अन्नबाली लगाएको हुनुपर्ने छ । प्रदेश सरकारले कृषि उपजको वृद्धिका लागि साना किसानलाई पनि अलग्गै कार्यक्रममार्फत प्रोत्साहन गरिरहेको मन्त्रालयले जनाएको छ ।

 

आधुनिक कृषि प्रणाली अपनाई पशुपालन तथा कृषि उत्पादन गर्ने व्यावसायिक कृषकलाई सरकारले सहयोग गर्ने प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा बताउँछन् । त्यसरी गरिने कृषिमा जैविक कृषि प्रणाली अपनाउने कृषकलाई सरकारले प्रथमिकता दिने उनको भनाइ छ । रासस

चल्ला र अण्डा नष्ट गरी मूल्य वृद्धि गर्नेलाई कारबाही हुने Read Previous

चल्ला र अण्डा नष्ट गरी मूल्य वृद्धि गर्नेलाई कारबाही हुने

बैंक तथा वित्तीय क्षेत्रको समस्या समाधान गर्न अर्थमन्त्रीको निर्देशन Read Next

बैंक तथा वित्तीय क्षेत्रको समस्या समाधान गर्न अर्थमन्त्रीको निर्देशन