काठमाडौं । वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण विभागले चल्ला र अण्डा नष्ट गर्ने ह्याचरी संघलाई कारबाही गर्ने भएको छ । ह्याचरी संघको अग्रसरतामा चल्ला र अण्डा नष्ट गर्ने अनैतिक कार्य भएको भन्दै विभागले त्यसमा संलग्न माथि कारबाही गर्ने भएको हो ।
विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले पत्रकार सम्मेलनमा बोल्दै चल्ला र अण्डा नष्ट गरेर मूल्यवृद्धि गराउने ह्याचरी संघलाई कारवाही गर्ने चेतावनी दिएका हुन् । उनले यसमा संलग्नता बारेमा अनुसन्धान भइरहेको बताए । ‘मूल्य वृद्धिमा संलग्नबारे अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘कालोबजारी कसुुर प्रमाणित भएकमा कैद र जरिवाना दुवै सजाय हुने छ,’ महानिर्देशक सुवेदीले भने ।
विभागले चालू आर्थिक वर्षमा लक्ष्यभन्दा बढी बजार अनुगमन गरेको छ । चालू आर्थिक वर्षमा १ हजार व्यापारिक तथा फर्महरूको अनुगमन गर्ने लक्ष्य लिइएकोमा माघ मसान्तसम्ममा १ हजार १ सय ६४ फर्महरूको अनुगमन गरिसकिएको हो ।
अनुगमनबाट काठमाडौं उपत्यकाभित्र ६५ लाख २७ हजार रुपैयाँ तथा उपत्यका बाहिर ४२ लाख ५५ हजार रुपैयाँ जरिवाना गराएको विभागले जनाएको छ । अनुगमनमा कैफियत देखिएका २ फर्मविरुद मुद्दा दायर गरिएको छ । उपत्यका भित्र संकलन गरिएको १८ वटा वस्तुको नमूना संकलन गरी परीक्षणको क्रममा रहेको महानिर्देशक सुवेदीले बताए ।
देशैभर गरिएका अनुगमनका क्रममा करीब डेढ करोड मूल्य बराबरको म्याद नाघेका बिस्कुट तथा चकलेट लगायतका वस्तुहरू नष्ट गरिएको छ । प्रशासन तथा स्थानीय तहको सहयोग लिएर विभागले एकैपटक अनुगमन गरेको जनाएको छ ।
त्यस्तै विभागले गरिमा धानको नक्कली वीउको आयात तथा विक्री सम्वन्धमा उपभोक्ता संरक्षण ऐन २०७५ ले दिएको अधिकार प्रयोग गरी आयातकर्तालाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ । अन्य विक्रेतालाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ ।
विभागका अनुसार चालू आर्थिक वर्षको फागुन ४ गतेसम्म प्राइभेट फर्म, साझेदारी फर्म, एजेन्सी र कम्पनी गरीजम्मा ६ हजार ५ सय ४८ दर्ता भएका छन् भने अन्य प्रशासनिक काम–कारबाही ६ हजार ३ सय ५६ समेतबाट ७ करोड २ लाख ११ हजार ८ सय ९९ राजस्व जम्मा भएको छ ।
विभागको काम–कारबाहीलाई थप व्यवस्थित गर्न मापदण्ड निर्माणका लागि कार्यदल गठन गरेको उनले जानकारी दिए । विभागका महानिर्देशक सुवेदीले बजारको तह तथा मूल्य निर्धारणका लागि गृहकार्य अघि बढाएको जानकारी दिए ।