काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसेनल बैंकले सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने भएको छ । यस सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो । आज आइतवार सिटिजन्स बैंक इन्टरनेसेनलको मुख्य कार्यालयमा उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।
कार्यक्रममा सिटिजन्स बैंक इन्टरनेसेनलको तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक पवित्र कुमार कार्की र सहयोगी विकाश बैंकका तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक डिल्ली प्रकाश घिमिरेले हस्ताक्षर गरेका हुन् ।
२०७६ असार २१ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकले सहयोगी विकाश बैंकलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप ७५ अर्ब ६८ करोड रुपैयाँ पुग्ने छ ।
बैंकको लगानी ६८ अर्ब ४७ करोड रुपैयाँ र पुग्ने छ । हालको सिटिजन्स बैंकको चुक्ता पूँजी ८ अर्ब ३७ करोड रुपैयाँ रहेको छ । सहयोगी विकाश बैंकको चुक्ता पूँजी ५० करोड ९६ लाख रुपैयाँ रहेको र प्रारम्भिक सहमति अनुसार, सहयोगी विकाश बैंकले एक कित्ता बराबर ९० रुपैयाँ पाउने छ ।
तथापि वास्तविक शेयर स्वाप रेसियो विस्तृत मूल्यांकन प्रतिवेदन द्वारा सिफारिस भए बमोजिम निर्धारण गर्ने सहमति भएको छ ।
धनुषा, महोत्तरी र सिन्धुली जिल्ला कार्यक्षेत्र भएको यस सहयोगी विकाश बैंकले १४ वटा शाखाहरूबाट बैंकिंग सेवाहरू प्रदान गर्दै आएको छ ।