काठमाडौं । विषादी परिक्षणका लागि वाणिज्य मन्त्रालयले कृषि मन्त्रालयलाई ६ महिना म्याद दिएको छ । तर, सो म्यादमा पूर्वाधार खडा गर्न असम्भव रहेको कृषि मन्त्री चक्रपाणी खनालको भनाई छ ।
उनले नेपालको खरिद प्रकृया अनुसार विषादी परिक्षण मेसिन किन्न ९ देखि १० महिना लाग्ने बताए ।
उनले सरकारले आफ्नो सल्लाहा विना मन्त्री परिषदबाट विषादी परिक्षण लागु गरेको र हचुवामै फेरी निर्णय फिर्ता लिएको बताए ।
‘हामीले वाणिज्यको निर्देशन अनुसार विषादी परिक्षण लागु गरेको हो, अब वाणिज्यले निर्णय फिता लिएको छ, यसलाई मैले रोक्नुपर्ने हुन्छ,’ मन्त्री खनालले भने ।
वाणिज्य मन्त्रालयबाट राजपत्र निकाल्दै मन्त्री स्तरिय रुपमै विषादी जाँच भन्सारमै हुनुपर्ने कुरा लागु गरेको थियो ।
कृषि मन्त्री खनालले ७ प्रदेश मध्य कणाली बाहेक सबैमा विषादी जाँच मेसिन भएको तर, त्यसले २ वटा प्यारामिटर मात्र चेक गर्ने बताए ।
अहिले कालीमाटीको केन्द्रिय ल्याबमा २९ वटा विषादी जाच गर्न सक्ने विषादी परिक्षण मेसिन रहेको छ । उक्त क्षमताका विषादी परिक्षण मेसिन ल्याउन ४ अर्ब रुपैयाँ रकम आवश्यक पर्ने मन्त्रालयले जानकारी दिएको छ ।
विराटनगर भन्सारका सुचना अधिकारी मणिराम पौडेलका अनुसार सरकारको विषादी परिक्षण निर्णयले भन्सारबाट आउने तरकारी तथा फलफुल आयातमा ८० प्रतिशत नै कमी आएको थियो ।
विषादी परिक्षण भई नाकाबाट भित्र्याउन एक दिनभरी ट्रक भन्सारमै रोकिने गरेकाले यसले आयातमा असहज भएको थियो ।
कालिमाटीले विसादी परिक्षणको रिपोर्ट १ घण्टामै सार्वजनिक गर्ने गर्छ तर, भन्सारबाट सम्बन्धीत व्यवसायीले सामाग्री लिएर आउने जाने गर्नुपर्ने र त्यसमै बढि समय जाने आउनेमै खर्चिने गरेको थियो ।