काठमाडौं । चोभारमा बन्दै गरेको सुख्खा बन्दरगाह निर्माणको १३ प्रतिशत काम सम्पन्न भएको उद्योग, वणिज्य तथा आपूर्ती मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार हालसम्म भौतिक प्रगतितर्फ १३ प्रतिशत काम भएको छ, भने आर्थिकतर्फ १९ करोड रुपैयाँको हाराहारीमा रकम खर्च भएको छ ।
हालसम्म फाउन्डेसन निर्माण, साइड क्लियरेन्स, रिटेनिङ वाल बनाउने र खन्ने काम भइरहेको मन्त्रालयका सहसचिव तथा नेपाल इन्टरमोडल यातायात समितिका कार्यकारी निर्देशन नवराज ढकालले जानकारी दिए ।
१८ महिना भित्र निर्माण पुरा गर्ने सम्झौतामा उल्लेख गरिएको छ । हाल बिभिन्न अबरोधकाबीच ४ महिना १३ प्रतिशत काम सम्पन्न हुनु सुखद रहेको ढकालको भनाई छ ।
‘आगामी आर्थिक वर्षभित्र निर्मण पुरा गर्ने योजनाका साथ हामी काम गरिरहेका छौँ, स्थानीयका विरोधका कारण केही ढिला काम सुरु भएको थियो, तर अब काम कतै रोकिदैन,’ ढकालले चाणक्यपोष्टसँग भने ।
चोभारको सुख्खा बन्दरगाह निर्माण ठेक्का साक्क्षी, आसिस जेभीले लिएको छ । चिनियाँ र नेपाली ठेकेदार कम्पनीको संयुक्त ठेक्कामा बन्दरगाह बनाइदै गरेको ढकालले बताए ।
८ सय रोपनी क्षेत्रफलमा बन्न लागेको चोभार सुख्खा बन्दरगाहमा ६ सयभन्दा बढी कन्टेनर राखिने छन् भने २ सय बढी ट्रक पार्किङ गर्न सकिने उनले जानकारी दिए ।
यस्तै बन्दरगाहमा भन्सार, बैंक, क्वारेन्टाइन, गोदाम, जाँचपास कक्ष लगायतका भौतिक पूर्वाधार समेत निर्माण गरिने ढकालले जानकारी दिए ।
१८ महिना भित्र निर्माण पुरा गर्ने सम्झौतामा उल्लेख गरिएको छ । हाल बिभिन्न अबरोधकाबीच ४ महिना १३ प्रतिशत काम सम्पन्न हुनु सुखद रहेको ढकालको भनाई छ ।
विश्व बैंकले १५.५ मिलियन अमेरिकी डलर लगानी गर्ने अर्थमन्त्रालय र विश्व बैंकबीच सम्झौता भएअनुसार उक्त बन्दरगाह निर्माण सुरु भएको हो ।
चोभारमा सुख्खा बन्दरगाह निर्माण गर्न २०७५ साल माघ ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानियवासीको विवादका बावजुत सिलन्यास गरेका थिए ।

सरकारले हिमाल सिमेन्टको सरकारी जग्गामा बन्दरगाह निर्माण गर्न लागेको भएपनि स्थानीयवासीले त्यसमा आफ्नो २ सय १५ रोपनी हाराहारीमा जग्गा रहेको र सरकारले हडपेर बन्दरगाह निर्माण गर्न लागेको आरोप लगाउदै आएका छन् ।
नेपाल इन्टरमोडल यातायात विकास समितिका उपनिर्देशक हरि कृष्ण मिश्रका अनुसार पछिल्लो समय २ पटक गुनासा माग गरिएको छ । पहिलो पटकमा ७ सय बढी गुनासा पत्र परेको थियो भने दोस्रो पटकमा ७८ वटा गुनासा पत्र परेको उनले जानकारी दिए । गुनासो सम्बोधनका लागि सम्बन्धीत निकायमा पहल भइरहेको उनले बताए ।
‘विवादका बीच निर्माण सुरु भएकाले हामीले बेला बेलामा गुनासा माग गरेका छौ, अहिलेसम्म २ पटक गरेको गुनासा मागमा ७७८ वटा गुनासा पत्र आएको छ, सबै गुनासा सम्बन्धीत निकायमा पुर्याउने प्रकृयामा रहेको छ,’ मिश्रले चाणक्यपोष्टलाई जानकारी दिए ।