सरकारलाई बजेट, आर्थिक वृद्धिपछि मूल्य वृद्धिको धक्का
चाणक्य पोष्ट
प्रकाशित : 3:17 pm, सोमबार, फाल्गुन ५, २०७६

Advertisement Section

काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा मूल्य वृद्धिदर बढेर ६ दशमलव ८२ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको ६ महिनामा ‘नेपालको आर्थिक तथा वित्तीय स्थिति’ को प्रतिवेदनले यस्तो देखाएको हो ।

 

राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आवको ६ महिनाको अवधिमा खाद्य तथा पेय पदार्थको मूल्य वृद्धिदर १० दशमलव २१ प्रतिशत पुगेको छ । यो गत आवको सोही अवधिको तुलनामा ७ दशमलव ६ प्रतिशतले वृद्धि भएको हो । गत आवको पुस महिनामा खाद्य तथा पेय पदार्थको मूल्य वृद्धिदर २ दशमलव ६५ प्रतिशतमा सिमित रहेको थियो ।

 

समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मुख्यतः तरकारी, मासु तथा माछा, फलफूल र मसला उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ । त्यसैगरी, गैर-खाद्य तथा सेवा समूह अन्तर्गत मुख्यतः घरायसी उपयोगिताका वस्तु तथा सेवा, लुगा तथा जुत्ता र शिक्षा उपसमूहको मूल्य बढेको तथ्यांकमा उल्लेख छ ।

 

त्यस्तै गैर खाद्यतर्फ भने मूल्य वृद्धिदर ४ दशमलव २५ प्रतिशत रहेको छ । गत आवको सोही अवधिको तुलनामा भने गैर खाद्यतर्फ मूल्य वृद्धिदर घटेको तथ्यांकले देखाएको छ । गत आवको पुस महिनामा ६ दशमलव ११ प्रतिशत रहेको मूल्य वृद्धिदर चालू आवको पुसमा मात्रै ४ दशमलव २५ प्रतिशत रहेको हो । यसरी तथ्यांकलाई हेर्दा समग्रमा पुस महिनामा मूल्य वृद्धिदर ६ दशमलव ८२ प्रतिशत पुगेको छ ।

 

पहिलो ६ महिनामै ६ दशमलव ८२ प्रतिशत मूल्यवृद्धि दर पुग्नुले सरकार मूल्य वृद्धिदर नियन्त्रणमा असफल रहेको पुष्टि भएकोे छ । चालू आवको बजेट भाषणको समयमै सरकारले ६ प्रतिशत भन्दा बढी मूल्य वृद्धिदर नहुने घोषणा गरेको थियो । यद्यपि, सरकारी तथ्यांकले नै यसलाई गलत सावित गरेको छ ।

 

यस्तै समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मुख्यतः तरकारी, मासु तथा माछा, फलफूल र मसला उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ । त्यसैगरी, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत मुख्यतः घरायसी उपयोगिताका वस्तु तथा सेवा, लुगा तथा जुत्ता र शिक्षा उपसमूहको मूल्य बढेको तथ्यांकमा उल्लेख छ ।

 

समीक्षा अवधिमा काठमाडौं उपत्यकामा ७.२४ प्रतिशत, तराईमा ७.४६ प्रतिशत, पहाडमा ५.३९ प्रतिशत र हिमालमा ५.०१ प्रतिशत मूल्य वृद्धिदर रहेको छ । २०७५ पुसमा भने यी क्षेत्रहरुमा क्रमशः ५.१५ प्रतिशत, ४.०२ प्रतिशत, ४.९२ प्रतिशत र ४.४८ प्रतिशत मूल्य वृद्धिदर रहेको राष्ट्र बैंकको तथ्यांकमा समावेश गरिएको छ ।

 

चालू खाता तथा शोधानान्तरको स्थिति

 

राष्ट्र बैंकको तथ्यांक अनुसार चालू आवको ६ महिनामा चालू खाता घाटा ८४ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । जबकी गत आवको सोही अवधिमा चालू खाता घाटाको स्थिति १ खर्ब ५२ अर्ब १६ करोड रुपैयाँ रहेको थियो ।

 

यस्तै समीक्षा अवधिमा शोधानान्तर स्थिति २६ अर्ब ६५ करोड रुपैयाँ बचतमा रहेको छ । गत आवको पुस महिनामा शोधानान्तर स्थिति ६३ अर्ब ६८ करोड रुपैयाँ घाटामा रहेको तथ्यांकमा उल्लेख छ ।

Advertisement Section