काठमाडौं । पछिल्लो समय लगातार उकालो यात्रामा रहेको शेयर बजारले आफ्नो यात्रा कायमै राख्दै पछिल्लो २५ महीना यताकै उच्च बिन्दुमा पुगेको छ ।
औसतमा दैनिक १ अर्बभन्दा बढीको कारोबार हुँदै आएको बजारले आज कारोबारमा नयाँ रेकर्ड बनाएको छ । आज करीब पौने ३ अर्बको कारोबार भएको छ ।
शेयर बजार मापक सूचक नेप्से आज ३४.२६ अंकले बढेर १ ३९८.२४ बिन्दुमा पुगेको छ । आज कुल १७५ कम्पनीको २ अर्ब ६८ करोड ७५ लाख रुपैयाँ बराबरको कारोबकार भएको छ । आज ६४ लाख ७४ हजार ७५० कित्ता खरिद–विक्री भएको छ ।
आज कारोबार भएका १७५ कम्पनीमध्ये १३२ कम्पनीको शेयर मूल्य बढेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ । आज ३७ कम्पनीको मात्र शेयर मूल्य घटेको छ ।
कारोबार भएका १२ ओटै समूहमध्ये परिसूचक उकालो लागेको छन् । आज निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै १८१.८२ अंकले बढेको छ । बैंकिङ समूह पनि ४१.१३ अंकले बढेको छ ।
कारोबार रकमको आधारमा शिवम् सिमेन्टको शेयर शीर्ष स्थानमा रह्यो । यसको १२ करोड ९४ लाख ९० हजार २३८ रुपैयाँको कारोबार भएको छ । यस्तै, शिखर इन्स्योरेन्स र हिमालय डिष्ट्रलरीको पनि १० करोडभन्दा बढीको कारोबार भएको छ ।
सोमबार चार कम्पनीको शेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । पञ्चकन्या माई हाइड्रोपावर, ङादी ग्रुप पावर, राष्ट्रिय बीमा कम्पनी सर्वसाधारण र संस्थापक शेयर १० प्रतिशतले बढेको छ । आज नेशनल हाइड्रोपावर कम्पनीको मूल्य सबैभन्दा धेरै ५.६३ प्रतिशतले घटेको छ ।