बागमती प्रदेश सरकारले हेटौंडा–धुलिखेल विद्युतीय बस सञ्चालन गर्ने

काठमाडौं । बागमती प्रदेश सरकारले सरकारी स्वामित्वमा हेटौंडा-धुलिखेल विद्युतीय बस सञ्चालन गर्ने भएको छ ।प्रदेश सरकारले छुट्टै स्वायत्त निकाय स्थापना गरी प्रदेश राजधानी हेटौँडादेखि धुलिखेलसम्म विद्युतीय बस सञ्चालन गर्ने योजनालाई तीव्रता दिएको छ ।

 

आत्मनिर्भरता बढाउँदै समृद्धितर्फ जाने उद्देश्यका साथ प्रदेश सरकारले विद्युतिय बस सञ्चालन गर्न लागेको हो । प्रदेश सरकारले ‘प्रदेश यातायात निगम’ स्थापनाको तयारी अघि बढाइसकेको जनाएको छ ।

 

मुख्यमन्त्री डोरमणि पौडेलले विद्युतिय बसको सञ्चालनले प्रदेशलाई समृद्ध बनाउने बताए । उनका अनुसार प्रदेश सरकारले यस्ता गौरवका योजना छिटो नै सम्पन्न गरेर समृद्ध प्रदेश निर्माण गर्नेछ । उनले सरकारले २ वर्षभित्र समृद्धितर्फ जाने गौरवका योजनाको डीपीआर बनिसकेको र अबका वर्षमा तीव्रताका साथ निर्माण गरिने बताए ।

 

वि.सं. २०७७ भित्र प्रदेशमा विद्युतीय बस सञ्चालन गर्न सरकारले प्रदेश सभा सदस्य दीपक निरौलाको संयोजकत्वमा भौतिक योजना मन्त्रालयअन्तर्गत विद्युतीय सवारी साधन सरसफाइ सामग्री खरिद सहजीकरण समिति बनाएर कामलाई तीव्रता दिएको जनाइएको छ । फागुन दोस्रो हप्ताभित्र बिजुली बस खरिदका लागि ग्लोबल टेन्डर खोल्ने तयारी भइरहेको संयोजक निरौलाले जानकारी दिए ।

 

उनका अनुसार मन्त्रालयलाई प्रतिवेदन बुझाउने बित्तिकै विद्युतिय बस खरिद गर्न ग्लोबल टेन्डर निस्किने छ । प्रदेश मन्त्रिपरिषद्ले २ महिनाअघि प्रदेश यातायात निगम गठन सम्बन्धमा सङ्घीय सरकारलाई अनुरोध गरिसकेको उनले जानकारी दिए।

 

निरौलाका अनुसार सङ्घीय सरकारले यातायात निगम गठन गर्ने अनुमति दिएपछि प्रदेश यातायात निगम विधेयक प्रदेशसभामा पेश हुनेछ । बिजुली बस हेटौँडा-नारायणगढ-काठमाडौँ हुँदै धुलिखेलसम्म सञ्चालन गर्ने तयारी भइरहेको बताइएको छ ।

 

समितिले यही फागुन ६ गतेसम्म प्रदेशको भौतिक योजना मन्त्रालयलाई विद्युतिय बस सञ्चालनसम्बन्धी प्रतिवेदन दिने संयोजक निरौलाले जानकारी दिए ।

 

प्रतिवेदनमा बिजुली बस सञ्चालन प्रक्रिया, बस सञ्चालन हुने रुट, चार्जिङ स्टेशनलगायत विषय समेटिने र समितिअन्तर्गत दुईवटा उपसमिति गठन गर्दै बिजुली बस सम्बन्धमा छलफल भइरहेको उनको भनाइ छ । रासस

शेयर बजारमा उछाल कायमै, २ अर्ब ६८ करोडको कारोबार Read Previous

शेयर बजारमा उछाल कायमै, २ अर्ब ६८ करोडको कारोबार

फागुन ९ देखि मेची पर्यटन महोत्सव हुने Read Next

फागुन ९ देखि मेची पर्यटन महोत्सव हुने