काठमाडौं । देशका ७५३ स्थानीय तहमध्ये अब ८ स्थानीय तहमा मात्र वाणिज्य बैंकको शाखा पुग्न बाँकी छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पुसमसान्त सम्ममा देशका ७४५ तहमा वाणिज्य बैंकका शाखा पुगेका छन् ।
केन्द्रीय बैंकको अनुसार सुदूरपश्चिम र बागमती प्रदेशको २/२ तह, गण्डकी, प्रदेश नम्बर २ र प्रदेश नम्बर १ को १/१ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुग्न बाँकी छ । प्रदेश ५ का भने सबै १०९ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगिसकेको छन् ।

राष्ट्र बैंकाका अनुसार पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ९ हजार ३९४ पुगेका छन् । जसमध्ये वाणिज्य बैंकका शाखा सबैभन्दा धेरै छन् ।
पुससम्ममा २७ वाणिज्य बैंकका शाखा संख्या ४ हजार ११ ओटा, २४ विकास बैंकको शाखा संख्या १ हजार २९३ ओटा, २२ वित्त कम्पनीको २२९ ओटा र ९० लघुवित्त कम्पनीको ३ हजार ८६१ शाखा रहेका छन् ।
२०७६ असार मसान्तको तुलनामा बैंक तथा वित्तीय संस्थाको संख्या १७१ बाट घटेर १६४ मा सीमित भएका छन् भने शाखा संख्या ७०८ ले बढेर ९ हजार ३९४ पुगेको छ। २०७६ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ८ हजार ६८६ रहेको थियो।
