काठमाडौं। पछिल्लो समय नेपाली बजारमा लसुनको मूल्य ह्वात्तै बढेको छ । छोटो समयमा नै लसुनको भाउ दोब्बरले बढ्न पुगेको हो ।
गत पुस १६ मा प्रतिकिलो २ सय १५ रूपैयाँमा बिक्री हुँदै आएको लसुन थोकमा बजारमै ५ सय ५५ रूपैयाँ पुगेको छ भने खुद्रा मूल्य ६ सय ३५ पुगेको छ । गत महिनाभन्दा बजार मूल्य दोब्बर भइसकेको लसुनको आयात प्रभावित भइरहँदा भाउ अझै बढ्ने स्थिति छ । बजारमा भएको स्टक सकिएकाले बजामा अझै लसुनको मूल्य बढ्ने स्थिति रहेको छ ।
‘चीनमा नोवेल कोरोना भाइसको संक्रमण बढे लगत्तै नेपालमा आयात रोकिए पछि लसुनको भाउ दोब्बरले बढेको हो’, कालिमाटि तरकारी तथा फलफूल बजार विकास समितिका सुचना अधिकारी विनय श्रेष्ठले बताए ।
पछिल्लो एक महिनामा अधिकांश तरकारीको भाउ घट्दा लसुनको भाउ भने दोब्बर भन्दा बढिले बढ्न गएको छ ।
नेपालमा लसुनको खेती खासै नहुने र करीब ८० प्रतिशत चीन बाट आयातित लसुनमा निर्भर हुँदा बजारमा लसुन अभाव हुन गएको हो । भाउ बढेका खाद्य वस्तुहरुमा लसुनको भाउ सबैभन्दा उच्च रहेको छ ।
विगतका तुलनामा लसुन उत्पादनमा बृद्धि भएता पनि उत्पादित समयमा नै खपत हुने भएकाले लसुनका लागि आयातमा निर्भर हुन परेको हो । आपुर्ति नै ठप्प भएपछि बजारमा स्टक पनि सकिएको जानकारी श्रेष्ठले दिए ।
कोरोनाभाइरस फैलन नदिने सतर्कताका लागि सीमा क्षेत्रमा ढुवानी गर्दै आएका मालवाहक सवारीसाधनको आवतजावतमा प्रतिबन्ध लगाइएपछि चीनबाट लसुन ल्याउन बन्द भएको हो । चिनियाँ नाका खुले लगत्तै लसुनको भाउ घट्ने अनुमान गरिएको छ ।