काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विषादी परिक्षण यन्त्र भवन सहित आगामी वर्षसम्ममा सञ्चालनमा ल्याउने भएको छ । विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले आगामी वर्षभित्र भवन सहित विषादी परिक्षण यन्त्र सञ्चालनमा ल्याइने बताएका हुन् ।
उनले यो वर्ष ‘र्यापिड बायस पेष्टीसाइड रिड्युस’ (आरबीपीआर) यन्त्र ल्याउने जानकारी दिए । उनका अनुसार पहिलो चरणमा १५ थान साना विषादी परिक्षण यन्त्र ल्याइन लागेको हो ।
सो यन्त्र ल्याउनका लागि ठेक्का प्रकृया सुरु भइसकेको उनले बताए । सो आरबीपिआर यन्त्र १२ वटा नाकामा राखिने छ । सो आयातका लागि १५ करोड लागत छुट्याइएको छ ।
अर्को तर्फ बीसीएमआर यन्त्र भने भवन निर्माण सहित आगामी वर्ष सम्म सञ्चालनमा ल्याइने उनले बताए ।
‘यो आवभित्र १५ थान साना आरबीपीआर यन्त्र ल्याउने छौं, त्यो १२ ठाउँमा राखिन्छ । त्यसपछि लगतै ठूलो बीसीएमआर ल्याव भवन सहित अर्को वर्ष सम्ममा सञ्चालनमा ल्याउने छौं,’ महर्जनले भने ।
बीसीएमआर नामक विषादी परिक्षण यन्त्र बहुवर्षीय योजना अन्तर्गत ल्याइन लागेको हो । सो आयातका लागि १० देखि १२ करोड रुपैयाँ लाग्ने उनले बताए ।
प्रत्येक प्रदेशमा विषादी परिक्षण केन्द्र
अब प्रदेशहरुले समेत छिटै विषादी परिक्षण यन्त्र राख्ने भएका छन् । प्रत्येक प्रदेशहरुले आफ्नो क्षेत्रमा रहेका फलफुल तथा तरकारीको विषादी परिक्षणका लागि विषादी परिक्षण यन्त्र तथा त्यसको कार्यलय निर्माण गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।
चालु आर्थिक वर्ष भित्र बीसीएमआर यन्त्र आयातको समेत ठेक्का प्रकृया पुरा भइसक्ने उनले बताए ।
हाल ६ वटा नाकामा रहेको क्वारेन्टाइन बाट विषादी परिक्षणका काम भइरहेको छ । विर्तामोड, नवलपरासी, कालिमाटीलगायत विभिन्न ठाउँमा रहेका क्वारेन्टाइन बाट विषादी परिक्षण केही मात्रामा भइरहेको छ ।
असल किसान अभ्यास
यस्तै विभागले विषादी न्यूनीकरणका लागि ‘असल किसान अभ्यास’ नामक कार्यक्रम समेत सञ्चालन गरिरहेको छ ।
प्रत्येक फार्मलाई असल किसान तालिम दिने र उनीहरुलाई विषादी कति मात्रामा, कुन तरकारीमा, कस्तो विषादी छर्किदाँ हुन्छ भन्ने जानकारी दिइने उनले बताए । यसरी तालिम पछि त्यस फार्मलाई असल किसान अभ्यासको सर्टिफिकेट समेत दिइने छ ।
हालसम्म ३ वटा फार्मले असल किसान अभ्यास सर्टिफिकेट पाएका छन् ।
बहुउद्देश्य टिकाथली, सदाबाहार कृषिफाम र मैत्रीमंगलफामले यो सर्टिफिकेट पाएकाहुन् ।
यस्तै हाल ३० कृषकलाई असल किसान अभ्यास तालिम दिइदैंछ । उपत्यका सहित उपत्यका बाहिरका कृषकहरुलाई पनि सो तालिम दिइने उनले बताए ।
तालिम पछि सो फार्महरुले कृषि मन्त्रालयले दिएको मापदण्ड अनुसार पुरा गरेका छन् वा छैनन् जाँच गरेर मात्र लामो प्रकृया पछि उनीहरुलाई असल किसान अभ्यास सर्टिफिकेट दिइने उनले बताए ।
उनले विषादी परिक्षणबाट मात्र कृषिमा विषादीको कमि ल्याउन नसकिने भन्दै तालिम दिन थालिएको बताए । खेत बारीबाटै कृषि उत्पादनमा सुधार ल्याउन विभागले तालिम दिइरहेको छ ।