काठमाडौं । नेपाल नागरिक उड्यन प्राधिकरणले (क्यान) विभिन्न आन्तरिक विमानस्थलहरुको स्त्तरोन्नती गर्ने भएको छ । ५ वर्षमा अत्याधुनिक पूर्वाधारसहितको विमानस्थल निर्माणका लागि क्यानले हरेक विमानस्थलको मास्टर प्लान तयार गरिरहेको छ ।
यसैक्रममा क्यानले विराटनगर विमानस्थल स्त्तरोन्नती काम धमाधम गरिरहेको छ । साथै, क्यानले यो ५ वर्षमा विराटनगर विमानस्थल कस्तो बनाउने भनेर मास्टर प्लान बनाएको छ । सो प्लान अनुसार विराटनगर एयरपोर्टको १ सय २६ बिगा जग्गा अधिग्रहण गर्नु पर्ने छ । यसका लागि मन्त्रालयमा पत्र पठाइसकेको क्यानले जनाएको छ ।

ए–३२०, बी ७३७ र ‘इक्यूभ्यालेन्ट एयरक्राफ्ट’ राख्न मिल्ने गरी एयरपोर्टलाई स्त्तरोन्नती गरिने छ । यसको रनवे ३ हजार मिटर लामो हुने छ । यो रनवेको लम्बाई काठमाडौंको त्रिभुवन विमानस्थलको रनवे बराबर रहने छ । एउटा टर्मिनल विल्डिङ बनिसकेको छ भने फेरी त्यसैमा नयाँ टर्मिनल विल्डिङको निर्माण गरिने बताइएको छ ।
नयाँ टर्मिनल विल्डिङको डिजाइन तयार भइसकेको क्यानले जनाएको छ । सो डिजाइन स्विकृत भइसकेको छ । उक्त टर्मिनल विल्डिङ निर्माणका लागि मात्र २ अर्ब ७९ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।
यस्तै सो विमानस्थल स्त्तरोन्नतीका क्रममा १६ वटा परिवार अट्ने स्टाफ क्वाटर समेत निर्माण गरिने बताइएको छ । सो क्वाटर निर्माणका लागि समेत डिजाइन तयार भइसकेको छ । सो क्वाटर निर्माणको लागत १३ करोड रुपैयाँ अनुमान गरिएको छ ।
सो विमानस्थलको स्त्तरोन्नती आगामी ५ वर्षमा पुरा गरिने बताइएको छ । विराटनगर एयरपोर्टमा ८ सय ४० मिटरको ट्याक्सी वे बनाइने छ । एयरपोर्टमा दुई लेनको एयरपोर्ट सर्भिस रोड निर्माण गरिने छ भने २ सय गाडी पार्क गर्न मिल्ने गरी पार्किङस्थलको समेत व्यवस्था गरिने छ । साथै, समानान्तर ट्याक्सी राख्ने ठाउँ, १४ हजार स्क्वायरमा २ रनवे एयरपोर्ट सर्भिस वे बनाइने छ ।

यस्तै एयरपोर्टको प्रोजेक्टको कुल खर्च भौतिक निर्माण तर्फ ४ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ भने जग्गा अधिग्रहण तर्फ ४ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । हालसम्म उक्त विमानस्थलको स्त्तरोन्नतीका क्रममा १ सय २६ बिगा जमिन अधिग्रहण गर्ने काम पुरा भएको छ । ए ३२०, बी ७३७ र ‘इक्यूभ्यालेन्ट एयरक्राफ्ट’ राख्ने ठाउँको निर्माण पुरा भएको छ ।
यस्तै क्यानले नेपालगञ्ज, चन्द्रगढी, धनगढी, भरतपुर, जनकपुर, राजविराज, सुर्खेत, जोमसोम, जुम्ला, सिमिकोट, रारा, ताप्लेजुङ, साप्रेफेदी, लामिडाँडा लगायतका विभिन्न विमानस्थल निर्माणका लागि ५ वर्षे योजना बनाएको हो । सो विमानस्थलहरु अबको ५ वर्षको अवधिमा अत्याधुनिक भौतिक निर्माणसहित स्त्तरोन्नती गरिने बताइएको छ ।
२२ वटा विमानस्थल सञ्चालन बिहिन
देशभर कुल ५४ वटा विमानस्थल रहेका छन् सो मध्ये ३२ वटा विमानस्थल मात्र सञ्चालनमा रहेका छन् । २२ वटा विमानस्थल सञ्चालनमा ल्याउन सकिएको छैन । हाल अहिले रहेकामा ३५ वटा विमानस्थलहरुमा पिच थप्ने (ओभर ले) गर्ने काम भइरहेको छ । विगत २ वर्षमा ८ वटा विमानस्थलमा ओभर लेको काम सम्पन्न भएको छ ।
थप ८ वटा विमानस्थलमा यो आवभित्र ओभर ले गरिने बताइएको छ । हाल डोल्पा, मछिनेचौर, कालिकोट बझाङ, बलेवा, गुल्मी, इलाम, तुम्लिङटार र सुर्खेत विमानस्थलमा ‘ओभर ल्याप’ गर्ने काम भइरहेको छ ।
टुम्लिङटार र सुर्खेतमा ओभर लेको काम मात्र गरिने छ भने अन्य विमानस्थलहरुमा नयाँ तह (सरफेस) राखिनेछ । हाल ‘ओभरल्याप’ गरिन लागेका ८ वटा मध्ये ६ वटा विमानस्थलमा घाँसे धावनमार्ग भएकाले कालोपत्रे गरेर ओभर ल्याप गरेर सरफेस निर्माण गरिने छ ।
विगतमा बनेका धावन मार्गहरु ट्वीन अटरलाई लक्षित गरेर बनाइएको थियो । त्यस अनुसार प्रत्येक धावनमार्ग ६ सेन्टी भन्दा माथिको रहेको छ । तर, अब भने त्यसमै ६ सेन्टी ओभर ल्याप थप गरेर त्यसमा ‘एटीएफ ७२’ समेत धान्न सक्ने गरी बनाइने छ ।
विगतमा रहेको सोही ओभर ल्यापमा सिआरजे क्यूरियस ८०० जहाजहरु चलाइदंै आएको छ । अब बन्ने धावनमार्गहरुले ठूला जहाजहरुलाई समेत धान्न सकने छन् । यस्तै क्यानले बन्द रहेका विमानस्थलहरु समेत विस्तारै सञ्चालनमा ल्याउने योजना बनाएको छ ।