प्रभु बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ८ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको भन्दा ४.२२ प्रतिशत अर्थात ४ करोडले ३९ लाखले बढी हो । गत वर्ष बैंकले १ अर्ब ४ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा १४.१२ र १२.९४ प्रतिशतले बढेको छ । यसले खुद नाफा थोरै भए पनि माथि लैजान सहयोग पुगेको देखिन्छ ।
प्रभुको ६ महिनाको वितरण योग्य नाफा भने १ अर्ब ३ करोड ३० लाख रुपैयाँ रहेको छ । पुस मसान्तसम्म १ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको यस बैंकले ९४ अर्ब ७१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल प्रभुको चुक्ता पुँजी १० अर्ब ३१ करोड रुपैयाँ छ । यो गत वर्षको भन्दा २५.२८ प्रतिशतले धेरै हो ।
प्रभुको खराब कर्जा बढेर ३.१२ प्रतिशत हुन पुगेको छ । खराब कर्जा वृद्धि हुँदा प्रोभिजनमा राख्ने रकम वृद्धि गर्नुपरेको छ । यसले खुद नाफा वृद्धिमा असर गरेको हो । बैककाे स्प्रेड दर सामान्य ४.८७ बाट ४.८३ प्रतिशतमा झरेको छ। बैंकको आधार दर ९.३७ प्रतिशतबाट ९.४५ प्रतिशतमा पुगेको छ। बैंकको प्रतिसेयर आम्दानी समीक्षा अवधिमा भन्दा ६ रुपैयाँ ९५ पैसाले घटेर २३.४३ रुपैयाँमा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ भने १४७ रुपैयाँ ६१ पैसा छ ।
त्यस्तै कृषि विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ५८ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको यो नाफा गत वर्षको यसै अवधिको तुलनामा २२.८० प्रतिशत अर्थात २९ करोड ३६ लाख रुपैयाँले धरै हो । अघिल्लो आर्थिक वर्षको यही बेला बैंकले १ अर्ब २८ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा बैंकको वितरण योग्य नाफा १ अर्ब १४ करोड ८३ लाख रुपैयाँ रहेको छ ।
पुस मसान्तसम्म खुद ब्याज आम्दानी ९.२५ प्रतिशतले घट्दा सञ्चालन नाफा भने १६.०७ प्रतिशतले बढेको छ । हालसम्म बैंकले १ खर्ब २७ अर्ब २१ करोड निक्षेप संकलन गरेर १ खर्ब १५ अर्ब ३६ करोड कर्जा लगानी गरेको छ । बैंकले निक्षेप १५.५१ र कर्जा लगानी ७.५० प्रतिशतका दरले बढाएको हो ।
बैंकमा ९ अर्ब ५५ करोड ६४ लाख ६० हजार साधारण र ५ अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँ बराबरको सरकारको अग्राधिकार सेयर रहेको छ । यस बैंकको जगेडा कोषमा १० अर्ब ४१ करोड रुपैयाँ छ । त्यस्तै, रिटेन्ड अर्निङ शीर्षकमा पनि ४ अर्ब ४६ करोड रहेको छ ।
समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा ४.५० प्रतिशतबाट घटेर ३.९१ प्रतिशतमा झरेको छ। यससँगै गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ५० करोड १२ लाख रुपैयाँ रहेको इम्पेरिमेन्ट चार्ज घटेर १७ करोड ७३ लाखमा सीमित भएको छ। बैंकको स्प्रेड पनि ६.७३ प्रतिशतबाट ५.२९ प्रतिशतमा आएको छ। आधार दर ११.१५ बाट १०.१७ प्रतिशतमा झरेको छ। प्रतिसेयर आम्दानी ६ रुपैयाँ ५१ पैसाले बढेर ३१ रुपैयाँ ४७ पैसा पुगेको छ । गत आवको यसै अवधिमा बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ९६ पैसा थियो ।