काठमाडौं । फोहोरबाट बिजुली निकाल्ने काठमाडौं महानगरको योजना अलपत्र परिरहेको समयमा महानगर फेरी फोहोरबाट ठूला बायोग्यास आयोजना सञ्चालनका लागि अघि बढेको छ ।
विगतमा शुरु गरिएको योजना अहिलेसम्म पनि कार्यान्वयनमा आउन भने सकेको छैन । विगतमा ‘बायोमिथेनेसन प्लान्ट’ ल्याएर मेयर विद्यासुन्दर शाक्यबाट उद्घाटन भए पनि त्यो हालसम्म सञ्चालनमा आउन सकेको छैन । सो समयमा सफलता पूर्वक फोहोरबाट १४ किलोवाट विद्युत उत्पादन गरिएको भएपनि हाल सम्म त्यो संचालनमा आउन नसकेको हो । परिक्षण पश्चात पनि सञ्चालनमा ल्याउन नसकिएको प्लान्टलाई पुन–सञ्चालनमा ल्याउन छाडेर सरकारले नयाँ प्लान्ट बनाउने योजना अघि सारेको छ ।
नयाँ योजना अनुसार विभिन्न ६९ वटा नगरपालिकामा फोहोरबाट ठूला बायोग्यास आयोजना सञ्चालनका साथै प्रांगारिक मल उत्पादन गरिने महानगरले जनाएको छ ।
सरकारले नयाँ प्लान्टका लागि करिब १ अर्ब १३ करोड रुपैयाँ सहुलियत कर्जा लिन लागेको छ । संयुक्त अरब इमिरेट्सले नेपालमा सहरी फोहोरबाट आधुनिक उर्जा उत्पादन प्रयोजनका लागि एक करोड अमेरकी डलर (करिब १ अर्ब १३ करोड) रुपैयाँ सहुलियतपूर्ण कर्जा दिने भएको हो ।
विगतमा महानगरले टेकुमा सञ्चालनमा ल्याएको प्लान्ट मार्फत दैनिक ३ सय टन जैविक फोहोरलाई ‘मिथानेशन’ गर्ने सक्ने भनिएको प्लान्टले दैनिक १४ किलोवाट बिजुली, ३ सय किलोग्राम कम्पोष्ट मल, ९६ किलोग्राम ग्यास, १३ हजार लिटर प्रशोधित पानी उत्पादन गर्ने योजना बनाइएको थियो । तर, अहिले बायोमिथेनेसन प्लान्ट त्यसै बिना प्रयोग थन्किएको छ ।
महानगरका सहरी विकास प्रमुख हरि बहादुर कुँवर भने यस विषयमा छलफल मात्र भइरहेको बताउँछन् । ‘छलफल मात्र भएको हो । काम अघि बढिसकेको अवस्था भने होइन’, उनी भन्छन् । उनले फोहर मार्फत ग्यास उत्पादन गरी त्यसबाट विद्युत निकाल्न विभिन्न स्तरको छलफल भइरहेको बताए ।