६ महिनादेखि घटिरहेको निर्माण सामग्रीको मूल्य माघ लागेपछि बढ्यो, के होला कारण

काठमाडौं। पछिल्लो समय मुलुकमा निर्माण सामाग्रीको मूल्यमा वृद्धि भएको छ । गत महिना अर्थात पुससम्म सस्तो नै रहेको निर्माण सामाग्रीको मूल्य माघ महिनामा भने केही वृद्धि भएको नेपाल निर्माण व्यवसायी महासंघले बताएको हो ।

 

हाल निर्माण सामाग्री उत्पादनका लागि प्रयोग हुने कच्चा पदार्थको मूल्यमा वृद्धि हुँदा सिमेन्ट, डन्डी, रोडा, आदि निर्माण सामाग्रीको मूल्य वृद्धि हुन पुगेको छ । महासंघका अनुसार, भारत तथा चीनबाट आउने कच्चा पदार्थ महँगिएपछि सिमेन्टको मूल्य वृद्धि भएको छ ।

 

यसको नतिजा माघ महिनामा मात्रै सिमेन्ट प्रतिबोरा २० देखि ५० रुपैयाँसम्म बढेको हो । त्यस्तै, डन्डी पनि प्रतिकेजी सातदेखि ८ रुपैंयाका दरले बढेको छ । पछिल्लो समय अन्तराष्ट्रिय बजारमा फलामे कच्चा पदार्थको मूल्य बढेपछि उत्पादकले डन्डीको पनि मूल्य बढाएका हुन् ।

 

निर्माण सामाग्रीको मूल्यमा गत महिनाको तुलनामा वृद्धि भएतापनि विगत ६ महिनाको तुलनामा भने नबढेको महासंघको दाबी छ । महासंघका अनुसार, निर्माणमा प्रयोग हुने सिमेन्ट, डन्डी, ढुंगा, रोडा र बालुवालगायतको मूल्य बढेको छैन । यद्यपी, निर्माण कार्यका लागि आवश्यक पर्ने काठको भाउमा भने घटबढ भएको छ ।

 

यस वर्षको सुरुवाती चरणदेखि नै मुलुकभित्र निर्माण सामाग्रीको उत्पादन बढेका कारण यसको मूल्यमा खासै वृद्धि नभएको उद्योगी व्यवसायीहरुको भनाई छ । त्यस्तै, पछिल्लो समय भवन निर्माणको क्रम घटेकाले बजारमा निर्माण सामग्रीको माग घटेको छ जसका कारण मूल्य वृद्धि नभएको उद्योगीहरु बताउँछन् ।

 

साथै, सरकारी आयोजना पनि दु्रत गतीमा अघि नबढेको कारण गत वर्षको तुलनामा निर्माण सामग्री बजार मागको तुलनामा बढी छ । त्यस्तै, गत वर्षको तुलनामा बिजुलीको सहजताका कारणले पनि निर्माण सामग्रीको उत्पादन बढेको व्यवसायीहरुको भनाई छ ।

 

सिमेन्ट कम्पनीका अनुसार पीपीसी सिमेन्ट अहिले प्रतिबोरा ६ सय ५० देखि साढे सात सय रुपैंयासम्ममा बिक्री भइरहेको छ । त्यस्तै, ओपीसीको मूल्य प्रतिबोरा सात सय पँचासदेखि नौ सय ५० रुपैंया रहेको छ ।

 

माघ महिनामा मूल्य वृद्धि भएतापनि विगतमा ६ महिना अघिको तुलनामा भने मूल्य घटेको देखिन्छ । फलामे डन्डीको मूल्य ६ महिनाअघिको तुलनामा सस्तो भएको छ । अहिले बजारमा डन्डी ७१ देखि ७६ रुपैंया प्रतिकेजीमा बजारमा उपलब्ध रहेको छ । जबकि, ६ महिनाअघि डन्डीको मूल्य प्रतिकेजी ७४.२५ रुपैंयादेखि ८०.५० रुपैंया रहेको थियो ।

 

गत ६ महिना अघिको तुलनामा बालुवा, रोडा र ढुंगाको मूल्य पनि केही कमी आएको छ । सरकारले बालुवा, रोडा ढुवानी गर्ने गाडीको कालाबजारलाई नियन्त्रण गर्न अभियान नै चलाएपछि अहिले प्रतिटिपर करिब ५ सयदेखि एक हजार रुपैंयाका दरले घटेको छ । तर, इँटा तथा काठको भाउमा भने खासै उतारचढाव आएको छैन । मागभन्दा पनि इँटा उत्पादन बढे पनि र गत वर्षको नै स्टक रहेको र इँटा उद्यमीको कार्टेलिङ कारण मूल्यमा नघटेको महासंघको दाबी छ ।

 

अन्य निर्माण सामग्रीको प्रतिस्पर्धाका आधारमा मूल्य तय हुने गरेपनि इँटाको भने इँटा उद्योग व्यवसायी संघले निर्धारण गर्ने गरेकाले मूल्यमा कमी नआएको महासंघको ठम्याई छ । हाल, पनि एक नम्बर लोकल इँटाको प्रतिहजारको १६ हजार रुपैंया मूल्य रहेको छ । त्यस्तै, दुई नम्बर इँटाको मूल्य १२ हजार रुपैंया र चाइनिज इँटाको मूल्य भने प्रतिहजार १९ हजार ७ सय ७५ रुपैंयासम्म रहेको छ ।

नेपालले गर्यो चीनलाई १२ हजार थान मास्क सहयोग Read Previous

नेपालले गर्यो चीनलाई १२ हजार थान मास्क सहयोग

कुमारी र माछापुच्छ्रे बैंकले दाेस्राे त्रैमासमा कस्ताे गरे प्रगती ? Read Next

कुमारी र माछापुच्छ्रे बैंकले दाेस्राे त्रैमासमा कस्ताे गरे प्रगती ?