काठमाडौं । पछिल्लो समय चीनमा फैलिएको कोरोना भाइरसका कारण विश्वमै तहल्का मच्चिरहेको छ । कोरोना भाइरसका कारण चीनमा मास्कको माग समेत बढिरहेको छ । नेपाल–चीन चेम्बर अफ कर्मस एण्ड इन्डस्ट्रिजले चीनलाई १२ हजार थान मास्क प्रदान गरेको हो ।
नेपाल–चीन चेम्बर अफ कर्मस एण्ड इन्डस्ट्रिजका महासचिव विवेक पौडलले चाइनीज तिब्बत चेम्बर अफ बोर्डर ट्रेडलाई मास्क सहयोग गरेका हुन् ।
चीनमा हुवेई प्रान्तबाट फैलिएको उक्त भाइरस हाल चीनका अघिकांश प्रान्त तथा विभिन्न मुलुकहरुमा फैलिएको छ । भाइरस फैलिएसँगै चीनमा सुरक्षाका लागि मास्कको माग बढेको हो ।
नेपालसँग सिमा जोडिएको चिनीयाँ प्रान्त तिब्बतमा समेत भाइरस फैलिएमा नेपालमा समेत भित्रिन सक्ने सम्भावना रहेको हुँदा यसका लागि मास्क सहयोग गरिएको बताइएको छ ।
विश्व स्वास्थ्य संगठनले (डब्लूएचओ) चीन हुँदै अन्य देशमा समेत कोरोना भाइरसको संक्रमण फैलन थालेपछि विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरिसकेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार, कोरोना भाइरसका कारण चीनमा हालसम्म २ सय १३ जना बढिको मृत्यु भइसकेको छ ।
चीनसहित विश्वका अन्य १८ देशमा पनि यसका बिरामी भेटिएका छन् । चीनको वुहान सहरको यात्रा गर्नेहरुमा यो भाइरस फेला परेको छ । यस्तै चीन बाहेक फिलिपिन्सको मनिलामा एक जनाको मृत्यु भएको छ ।
के हो त कोरोना भाइरस ?
कोरोना भाइरस जनवारबाट सर्ने एक रहस्यमयी भाइरस हो । यो भाइरस गएको डिसेम्बरमा पत्ता लागेको थियो । कोरोना भाइरस विभिन्न प्रकारका हुने र्गछन् । यसअघि ६ प्रकारको भाइरस मात्र मान्छेमा संक्रमण हुन्छ भनिएता पनि हाल त्यसबाहेक नयाँ प्रकारको कोरोना भाइरस पनि फैलिएको हो ।
यसले मान्छेमा संक्रमण गर्ने क्षमता अरु कोरोना भाइरस भन्दा तिब्र एवं धेरै राख्छ । स्वास्थ्य विशेषज्ञहरुले यो निकै भयानक रहेको बताइरहेका छन् ।
कोरोना भाइसको लक्षण
कोरोना भाइरसले संक्रमण गरिसकेपछिको सुरुवाती लक्षण रुघाखोकी पनि रहेको छ । रुघाखोकीबाट सुरु हुने यो भाइरसको संक्रमणपछि उच्च ज्वरो आउने, टाउको दुख्ने, सास फेर्न गाह्रो हुने आदि हुन्छ । यो भाइरसको संक्रमण एउटा प्रजातिको जीवबाट अर्कोमा सजिलै सर्न सक्छ ।
सुरक्षाका उपायहरु
यस भाइरसबाट सुरक्षित रहनका लागि अहिलेको अवस्थामा सजग र सतर्क रहनु नै पहिलो र प्रभावकारी उपाय हो । रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने, भिडभाडमा सावधानी अपनाउने, सरसफाईमा विशेष ध्यान दिइयो भने यस भाइरसको संक्रमणबाट केही टाढा रहन सकिन्छ ।