काठमाडौं। वाणिज्य, आपूर्ती तथा संरक्षण विभागले मूल्य निर्धारण मापदण्ड बनाउने भएको छ । बजारमा हरेक सामानको जथाभावी मूल्य तोकिने हुँदा त्यसको गुणस्तर अनुसार मापदण्ड राख्नका लागि मूल्य निर्धारण मापदण्ड बनाइन लागेको हो ।
वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बजारको तह र मूल्य निर्धारण मापदण्डको मस्यौदा बन्दै गरेको बताएका हुन् ।
‘अनुगमनमा जाँदा प्राय मूल्य हेरिने भएकाले राज्यले मूल्य नतोक्ने हुँदा मूल्य कुन आधारमा तोक्ने भनेर मूल्य निर्धारण मापदण्ड तयार गरिदैं छ, हामी मस्यौदा बनाउँदै छौं,’ सुवेदीले भने ।
आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले उपभोक्ता र व्यवसायीका लागि मात्र नभई अनुगमन गर्न जानेका लागि समेत आचारसंहिता आवश्यक परेको बताए ।
अनुगमनका जानेले समेत आफ्नो मनलाग्दी निर्णय लिने भएकाले र आफ्नो बुझाई अनुसार हेरेर अनुमान लगाउँदा त्यसमा त्रुटी हुनसक्ने बताए । त्यसलाई मध्यनजर गर्दै अनुगमनमा जानेका लागि आचारसंहिता बन्ने तयारीमा रहेको उनले बताए ।
उनका अनुसार हाल सो आचारसंहिताको मस्यौदा बन्ने क्रममा रहेको छ । उनले अनुगमन टोली समेत नियम भित्र बसेर अनुगमन गर्नु पर्नेमा जोड दिएका हुन् ।
‘व्यवसायीका लागि मात्र होइन, अनुगमन जानेका लागि समेत हामी आचारसंहिता बनाउने तयारीमा छौं, मस्यौदा तयार हुँदै छ, चाँडै त्यसलाई लागु गरिन्छ,’ उनले भने ।
मंसिर १ बाट नियुक्त भएका सुवेदीले आफुले उपभोक्ताको संरक्षणका लागि आवश्यक परेसम्म हरेक नीति नियमलाई कार्यान्वयनमा ल्याउने बताए ।
यस्तै उनले अत्यावश्यक वस्तुको सूची तयार पारिने बताएका छन् । उनले त्यसका लागि विज्ञहरुसँग छलफल भइरहेको बताए । सो विषयमा विज्ञसँग छलफल गरी मस्यौदा तयार पारिने उनको भनाई रहेको छ ।
सूचीमा पर्ने अत्यावश्यक सामानहरु सरकारले चलाउनु सहुलियत पसलमा समेत अनिवार्य पाइनु पर्ने उनले बताए । ‘सरकारले सञ्चालन गर्ने सहुलियत पसलमा पनि सूचीमामा पर्ने अत्याश्यक सामानहरु पाइनु पर्छ,’ सुवेदीले भने ।
पछिल्लो समय अनलाइन ट्रेडिङलाई कानुनी दायरामा ल्याउनका लागि पनि मस्यौदा बन्दै गरेको उनले बताए । उनले अनुगमन चाडवाडमा मात्र नभई प्रत्येक दिन विभागको टोलीले गर्ने गरेको उनले बताए । उनले हिजो मंगलबार मात्र १७ वटा फर्मको अनुगमन भएको दाबी गरे ।
उनले उपत्यकामा मात्र नभई उपत्यका बाहिर पनि अनुगमनलाई तिब्रता दिइएको जानकारी दिए ।