नरेन्द्र मोदी र बाल ठाकरेबाट ओलीले यी कुरा नसिकुन् !

प्रधानमन्त्री ओली व्यक्तिगतरुपमा साह्रै तुष पाल्ने र आफ्ना बिरोधीहरुलाई सकेसम्म भित्तैमा पुर्याउन खोज्ने स्वभावमा मानिस हुन् भनेर उनीसँग लामो समय सँगै काम गरेका उनकै सहयात्रीहरु राधाकृष्ण मैनाली र प्रदिप नेपालले बारम्बार लेखेका–बोलेका छन् । उनको यस्तै चरित्रका बारेमा उनकै पार्टी निकट पत्रकार किशोर श्रेष्ठले पनि बारम्बार बोलेका छन् ।

 

मनपरेकालाई काखी च्याप्ने र मननपरेकालाई भित्तैमा पुर्याउने चरित्र उनको व्यवहारले पनि पुष्टि गर्दै नै आएको छ । उनको मनपरेको व्यापारिक समुहले सहज रुपमा राष्ट्रको सम्पत्ति माथी दोहन गर्न पाइनैरहेको छ । मन नपरेका र उनको तारिफ नगर्ने सम्पादकहरुलाइ त उनले मुटु नै नभएको भन्दिहाले ।

 

सरकारले ल्याउन चाहेका मिडिया र सामाजिक सञ्जाल सम्बन्धी बिद्येयकहरुले उनको अनुदार शैलीलाई उघार्छन् । विकासका ठूल्ठूला बतासे गफहरुले उनी जनतालाई सहभागी गराएर विकासको प्रक्रियामा सहभागी गराउन चाहदैंनन् भन्ने पुष्टि गर्छन् ।

 

अनी शर्मा थर गरेका एक व्यापारीले एक सार्वजनिक कार्यक्रममा गरेको उनको चाकरी (अतिप्रशंसा) र उनकै मन्त्रीले भ्रमण वर्षको निम्तो दिन उनको ठूलो फोटो साथै लिएर गएको तथ्यले उनी कति आत्मरतिमा रमाउँछन् र त्यसो नगरेर आफु् अप्ठ्यारोमा पर्न सकिन्छ भनेर बिभिन्न क्षेत्रका मानिसहरु र उनकै मन्त्रीहरु पनि कति सचेत छन् भन्ने देखाउँछ ।

 

अर्थमन्त्री युवराज खतिवडा ओलीको बाहेक खासै कसैको पनि कुरा सुन्दैनन् । उनी आफुसँग अर्थतन्त्रका सबै क्षेत्र र आयामहरुको उत्तर कोटको खल्तीमा छन् भने जसरी प्रस्तुत हुन्छन्, भलै पछिल्ला केही हप्तामा उनले यो स्वभावमा केही सुधार ल्याएका छन् भन्ने कुरा आएका छन् । खतिवडा सहायक नेतृत्व हुन् । खड्ग प्रसाद ओली चाँही मुल नेतृत्व हुन् । सहायक नेतृत्वमा मुल नेतृत्वको चरित्र हावी हुनु स्वभावीक हो । इतिहासकार प्रत्युष वन्त भन्छन्,‘लोकतन्त्रमा कसैसँग पनि सबै प्रश्नको उत्तर हुँदैन’ । यसैलाई आधार मान्दा खतिवडासँग अर्थतन्त्रका सबै अवयवहरुको उत्तर कसरी भए ? यसले उनको मुल नेतृत्वको लोकतान्त्रिक चेत पनि उघार्छ । 

 

नेपालमा अहिले अर्थतन्त्र सुस्ताएको छ । भारतमा त झन् मन्दी नै भइहाल्यो । भारतको अर्थतन्त्रमा सुधार ल्याउने हो भने लगानी धेरै बढाउनुपर्ने बताउँछन् अर्थशास्त्रीहरु । गिता गोपिनाथले यसै बताइन, सार्वजनिक रुपमा । तर, लगानीकर्ताहरु भने त्रसित छन् । नेपालमा पनि अत्याधिक लगानी बढाउनुपर्ने अवस्था छ । तर, बिबिध कारणले लगानीकर्ताहरु आश्वस्त हुन सकेका छैनन् । सरकारले आश्वस्त तुल्याउन सकेको छैन । घरेलु उद्योग दर्ता ४४ प्रतिशत र बैदेशिक उद्योग दर्ता २३ प्रतिशतले घटेको छ ।

 

नेपाल भारतबाट धेरै नै सिक्ने देश हो, सबै क्षेत्रमा । भारतको क्याराभान भन्ने पत्रिकाले मोदीको चरित्र र वैचारिक धरातलका कारण भारतको अर्थतन्त्र र व्यापारीहरु कसरी पिल्सिएका छन् भनेर आलेख प्रस्तुत गरेको छ । त्यसैले नेपालका प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री मोदीबाट के चाँही नसिकुन् ? भनेर यहाँ त्यही आलेखको सारांश प्रस्तुत गरिएको छ ।

 

जब गत वर्ष अप्रिलमा लोकसभाको चुनाव भइरहेको थियो तब इन्फोसिसका सह-संस्थापक नारायण मूर्ती भारतको आईआईएमका बिद्यार्थीहरु माझ भाषण गर्दै थिए । उनले कुनै पनि पार्टीको नाम नलिई ‘विश्वासको स्वतन्त्रता’ र ‘डरबाट मुक्ति’ बिना आर्थिक प्रगति नहुने बताएका थिए । धेरैलाई लागेको थियो कि मूर्ती भाजपा तिर आफ्नो तीर सोझ्याउँदै थिए । त्यसको अर्को महिना गृह मन्त्रालयले इन्फोसिसको गैर सरकारी संस्था इन्फोसिस फाउन्डेसनको पञ्जीकरण रद्द गरिदियो । तर, इन्फोसिसले भने आफैंले पञ्जीकरण रद्द गर्न निवेदन दिएको बताएको थियो ।

 

जब मोदी फेरी सत्तामा फर्किए तब मूर्तीको पनि धारणा बदलियो । उनले भारतको अर्थतन्त्र बिगत ३ सय वर्षकै राम्रो अवस्थामा रहेको बताए । तर, तथ्याङ्कले भने त्यसको पुष्टि गर्दैन ।

 

बायो-फार्मास्युटिकल कम्पनीका अध्यक्ष किरण मजुमदार शाले पनि आफ्ना विचारहरुलाइ सरकारले सहज रुपमा नलिने बुझिन् । क्याफे कफि डेका मालिक वीजी सिद्धार्थले पनि कर अधिकारीहरुले धेरै सताएका कारण आत्महत्या गरेका हुन् भनेर धेरै मानिसहरुलाई लाग्छ । शाले संयुक्त प्रगतिशील गठबन्धनको तर्फबाट सरकारको गरिब बिरोधी नीतिहरको कटु आलोचना गरिन् । सिद्धार्थको मृत्यु पछि उनले ‘कर आतंकवाद’ प्रति चिन्ता पनि जनाएकी थिइन् । त्यसपछि कर अधिकारीहरुले यो खाले बयान नदिन उनलाई धम्की दिएका थिए ।

 

भारतमा अहिले उद्योगीहरु डराएका छन् भलै केही उद्योगिहरुले मात्र कर अधिकारीले गरेका ज्यादती र चन्दा असुली जस्ता विषय सार्वजनिक रुपमै उठाउने हिम्मत गरेका छन् ।

 

कर्पोरेट क्षेत्रमा पनि अहिलेको आर्थिक मन्दी प्रति व्यापक असन्तुष्टि छ । तर, कसैले पनि सार्वजनिक रुपमा सरकारको आलोचना गर्ने हिम्मत जुटाउन सकेका छैनन् ।

 

मोदी सरकारको बदला लिने प्रबृत्तिले आरोपीहरुले नराम्रो परिणाम भोग्नुपर्ने अवस्था आउन सक्ने प्रति सबै सचेत छन् । उनीहरु पुरानो सत्तालाई याद गरिरहेका छन्, तर सार्वजनिक रुपमा बोल्न सकिरहेका छैनन् । इतिहासले पनि मोदीसँगको झगडा महङ्गो पर्न सक्ने पुष्टि गरेकै छ ।

 

मुख्यमन्त्री भएको बेला देखिनै बिरोधीहरु प्रतिको मोदीको रवैया सबैले देखे जानेकै हो । मुस्लिम नरसंहारको परिणामस्वरुप मिलेको चुनावी जित पछि मोदीले आफ्नो छवी सुर्धान भारतीय उद्योग परिसंघसँग एउटा बिशेष कार्यक्रम आयोजना गरिदिन अनुरोध गरेका थिए ।

 

उक्त कार्यक्रमको नाम थियो,‘गुजरातका नयाँ मुख्यमन्त्री नरेन्द्र मोदीको साथ बैठक’ थियो । कार्यक्रममा मोदीको साथमा व्यवसायी राहुल बजाज र जमशेद गोदरेज पनि सामेल थिए । उनीहरुले मोदीको खासै सत्कार गरेनन् । बजाजले २००२ लाई गुजरातको कालो वर्षको रुपमा घोषणा गरिदिए । बजाजले मोदीलाई सोधे,‘हामी कश्मीर, उत्तर प्रदेश वा बिहारमा लगानी गर्न किन पाउँदैनौं ? यसमा अन्य कारण भन्दा पनि सुरक्षाका कारण प्रमुख हुन् । मलाई आशा छ कि गुजरातमा यस्तो हुने छैन । गत सालको घटनाले मलाई यो याद दिलाएको हो ।’

 

यो घटनाको तुरुन्तै गुजराती व्यापारीहरुको एउटा समूहले प्रतिस्पर्धी संगठन स्थापना गरे । यसको सदस्यहरुमा अडानी समुहका गौतम अडानी र नीरमा समुहका करसन पटेल पनि सामेल थिए । उनीहरुले भारतीय उद्योग परिसंघबाट अलग्गिने धम्की दिए । केन्द्रमा भाजपाको नेतृत्वको सरकार थियो । त्यसैले भारतीय उद्योग परसंघले मोदीसँग झगडा गर्न नसकिने बुझे । र, परिसंघका महानिर्देशक तरुण दासले व्यक्तिगत रुपमा मोदीसँग माफी मागे ।

 

मोदीको कार्यकालको समयमा गुजरात सरकार निकै निरङ्कुश भएको धेरै साना–ठूला व्यापारीहरुले बताएका थिए । उनीहरुले गुजरातमा केवल ३ व्यापारीक घराना अडानी, अम्बानी र टाटालाई मात्र व्यवसाय गर्न सहज अवस्था रहेको बताएका थिए । गुनासो गर्नेमा धेरै मुम्बइका व्यापारी थिए, जो शिवसेनाको ट्रेड युनियनले कायल पारेपछि गुजरात पुगेका थिए । त्यहाँ उनीहरुलाई गुजरातका तत्कालिन मुख्यमन्त्री माधव सिंहले निकै सुविधा दिएका थिए ।

 

२०१२ ताका शिवसेना प्रमुख बाल ठाकरेको मृत्यु भइसकेको थियो अनी गुजरातमा निरन्तर मोदीको शासन चलिरहेको थियो । त्यसैले मुम्बईका व्यापारीहरु फेरी मुम्बई फर्कनको लागि मुख्यमन्त्री पृथ्वीराज चौहानसँग छलफलमा थिए । तर, २०१४ मा केन्द्र र महाराष्ट्र दुवैमा भाजपाको सरकार बन्यो । व्यापारी वर्ग टाक्सिए ।

 

मोदी र बाल ठाकरे शासन उस्तै

अहिले भारतमा व्यापारी वर्गमा जस्तो त्रास व्याप्त छ, त्यसलाई सन् १९९५ देखि १९९९ सम्म महाराष्ट्रमा बाल ठाकरेसँग व्यापारीहरु त्रसित भएको अवस्थालाई दाँज्न सकिन्छ ।

 

सन् १९९५ मा शिवसेना र भाजपाको सरकार बनेपछि बाल ठाकरेको र उनको परिवारको लागि भव्य पार्टी आयोजना गरिएको थियो । ठाकरेको प्रिय पेय पदार्थ तातो बियरको खोलो बगाइएको थियो । सहरका करिब २५० जना निर्माण व्यवसायीहरु उक्त पार्टीमा आएका थिए । गरिबहरुलाई झुपडीबाट पक्की घरमा सार्ने योजनाबाट उनीहरु निकै उत्साहित थिए । उक्त योजना अनुसार गरिबहरुले पक्की घर त पाउँथे तर, उनीहरुको झुपडि भएको जमिनको एक तिहाई जमिन धनाड्य व्यवसायीहरुको पोल्टामा पनि जान्थ्यो ।

 

ठाकरेलाई रिझाएर आफ्नो व्यवसायीक दुनो जति सोझ्याउन चाहे पनि ठाकरेको मुड अनुसार उनीहरु बिभिन्न समयमा शिकार भइनैरहे । चन्दा आतंक फैलियो, बैंक, अस्पताल, होटल, कारखाना इत्यादी ठाउँमा शिवसेनाको ट्रेड युनियनले जरा गाड्यो । कतिसम्म गरियो भने कुनै डाक्टरले बिरामी जाँचेको पैसाको पनि केही प्रतिशत रकम शिवसेनालाई बुझाउनु पर्दथ्यो । होटल र व्याङ्कवेटहरुमा समेत बुकिङ कम हुन थालेको थियो । किनभने शिवसेनाका सदस्यहरु बुक गर्नेको विवरण निकाल्थे र कमिसन माग्थे ।

 

‘सरकारबाट काम गराउन व्यापारीहरुले धेरै मूल्य चुकाउनु पर्दथ्यो तरपनि काम हुने ग्यारेन्टी हुँदैनथ्यो । ठाकरेकै घरमा पनि तिनजनालाई हिस्सा दिनु पथ्र्यो । उनी आफैं, उनका छोरा र उनकी बुहारी’,एक व्यापारी भन्छन्,‘राम्रो र चम्किलो लेक्सस वा मर्सिडिजमा ठाकरेको घर गयो भने ट्याक्सीमा फर्कनु पथ्र्यो ।’

 

व्यापारीहरु अहिले ‘बरु कांग्रेस नै ठिक’ भन्ने मनस्थितिमा पुगेका छन् । कांग्रेसहरु पनि बदमाश नै हुन तर, उनीहरुको बदमाशीमा केही इमान थियो भन्नेमा पुगेका छन् भारतीय व्यापारीहरु ।

 

उनीहरु ठाकरे भन्दा पनि मोदी कडा माटोले बनेका छन् भन्ने निश्कर्षमा पुग्न थालेका छन् । हिन्दुत्व, साम्प्रदायिकता, जबरजस्ती असुली जस्ता हतकण्डालाई अझ ठूलो पैमानामा मोदीले बढावा दिदैं लगेका छन् । मोदीसँग लड्नका लागि उनका बिरोधीहरु धेरै ठूलो पैमानामा एकजुट हुनुपर्ने उनीहरुले बताउन थालेका छन् ।

गोली हानी गाँजा तस्कर पक्राउ Read Previous

गोली हानी गाँजा तस्कर पक्राउ

उपभोग्य वस्तुको मूल्य निर्धारण मापदण्ड बन्दै Read Next

उपभोग्य वस्तुको मूल्य निर्धारण मापदण्ड बन्दै