पीपीपी मोडलमा दुई कम्पनीसंग तमोर जलविद्युत आयोजना निर्माणको सम्झौता

काठमाडौं। गत वर्ष अर्थात २०७५ चैत्रमा भएको लगानी सम्मेलनको क्रममा ‘सोकेश’मा राखिएको तमोर जलाशय जलविद्युत आयोजना निर्माणका लागि दुई वटा कम्पनीसंग सम्झौता भएको छ । उक्त आयोजना निर्माणका लागि स्वदेशी जलविद्युत कम्पनी हाइड्रो ईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) र चीनको पावर कन्स्ट्रक्सन कर्पोरेशन अफ चाइना (पावर चाइना)संग सम्झौता भएको नेपाल लगानी बोर्डले जानकारी गराएको हो ।

 

गत लगानी सम्मेलनको क्रममा बोर्डले तमोर जलविद्युत आयोजनालाई उच्च प्राथमिकताका साथ सोकेशमा समावेश गरेको थियो । ७ सय ५६ मेगावाटको तमोर जलाशय जलविद्युत आयोजना निर्माण गर्न हाल दुईवटा कम्पनीसँग सम्झौता गरेको बोर्डले बताएको छ ।

 

बोर्डका अनुसार, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, एचआईडीसीएलका सीईओ छविराज पोखरेल र पावर चाइनाका उपसभापति पान डेग्युले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । एचआईडीसीएल र पावर चाइना कम्पनीको संयुक्त लगानीमा निमार्ण हुने यस आयोजनामा हाल एचआईडीसीएलको ५१ प्रतिशत र पावर चाइनाको ४९ प्रतिशत लगानी रहने सम्झौता भएको बोर्डले खुलाएको हो ।

 

पब्लिक, प्राइभेट र पार्टनरशिप (पीपीपी)मोडलमा निर्माण हुने यस आयोजनाको निर्माण कार्य ८ वर्षभित्रमा सम्पन्न हुने बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी बताउँछन् । ‘चाँडैनै एचआईडीसीएल र पावर चाइनाले संयुक्त रुपमा अध्ययन सुरु गर्ने तयारी अघि बढाएका छन्’, अधिकारी भन्छन्, ‘यस आयोजनालाई हामीले ‘गेम चेन्जर’ को रुपमा लिएका छौं’ यो आयोजना सम्पन्न हुदाँ देशको अर्थतन्त्रमा समेत ठूलो योगदान पुग्ने अधिकारीको दाबी गरेका छन् ।

 

बोर्डका अनुसार आयोजनाको सम्भाव्यता अध्ययन करिब डेढ वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने छ । त्यस्तै, यस आयोजनाको निर्माण सम्पन्नका लागि १ खर्ब ८० अर्ब (प्रतिमेगावाट २५ करोड ) रुपैयाँ लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

 

संयुक्त लगानीमा आयोजना निर्माण गर्न इच्छा देखाएका एचआईडीसीएल र पावर चाइना कम्पनीलाई विभिन्न चरणको प्रक्रिया पूरा गरेपछि बोर्डले गत असोज २४ गते नै अनुमतिपत्र दिएको थियो । एचआईडीसीएलका अनुसार, आयोजनाको विस्तृत अध्ययन फागुनदेखि सुरु हुने छ ।

 

आयोजनाको विस्तृत अध्ययन दुई वर्षभित्र पूरा हुने अनुमान एचआईडीसीएलले गरेको छ । राष्ट्रिय महत्वको आयोजना निर्माण प्रक्रिया अघि बढाउन पाउँदा खुसी लागेको बताउँदै, आगामी महिनादेखि अध्ययन गर्ने संयुक्त टोली आयोजना स्थल पुग्ने जानकारी गराएको छ ।

 

आयोजना निर्माण गर्न अलगै कम्पनी स्थापना गर्ने समेत एचआईडीसीएलले बताएको हो । यता, पावर चाइनाका पान डेग्यूले एचआईडीसीएलसंगको सहकार्यमा तमोर जलाशय निर्माण गर्न पाउँदा खुशी व्यक्त गरेको बोर्डले जानकारी गराएको छ । हाल भएको समझदारीले निर्माण प्रक्रिया एक चरणमाथि पुगेको चाइना पावरको दाबी छ ।

 

सुरुवातमा एचआईडीसीएल, पावर चाइना, नब्रास पावर कम्पनी कतार, होल्डिङ्स एलएलसी र जापानको फुजी इलेक्ट्रिकसहित पाँच विदेशी कम्पनीले आयोजना निर्माण गर्ने इच्छा व्यक्त गरेको बोर्डको खुलाएको छ । ती कम्पनीसंग लगानी बोर्डले आशयपत्र समेत मागेको थियो ।

उपभोग्य वस्तुको मूल्य निर्धारण मापदण्ड बन्दै Read Previous

उपभोग्य वस्तुको मूल्य निर्धारण मापदण्ड बन्दै

एभरेष्टको नाफामा ८ कराेडले बढ्दा सनराइज बैंकले बढायो १५ कराेड Read Next

एभरेष्टको नाफामा ८ कराेडले बढ्दा सनराइज बैंकले बढायो १५ कराेड