नेपाल सरकारको ५१ प्रतिशत स्वामित्व रहेको नेपाल बैंकको आर्थिक वर्ष २०७/०७७ को दोस्रो त्रैमासीक रीपोर्टमा अधिकांश सूचक घटेको छ । यस अवधिमा बैंकको खुद नाफा १८.६० प्रतिशतले घटेर १ अर्ब ३५ करोड २३ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्ष यसैअवधिमा बैंकले १ अर्ब ६६ करोड १४ लाख ९८ हजार रुपैयाँ नाफा कमाएको थियो । पछिल्लो तीन महिनाको मात्रै हिसाब गर्दा भने नाफा ३ प्रतिशतले बढेको छ। पुस मसान्तसम्ममा बैंकको वितरण योग्य नाफा ६८ करोड ३७ लाख १९ हजार रुपैयाँ रहेको छ ।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेकोले पनि खुद नाफा घटेको हो । यसको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश, १३.३२ र २५ प्रतिशतले घटेको छ । यता, खुद नाफा घट्नुको असर बैंकको प्रतिसेयर आम्दानीमा देखिएको छ । पुस मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ३ पैसाले घटेर २७ रुपैयाँ ५७ पैसामा आएको छ । यो गत वर्षकाे १५ प्रतिशत बोनस शेयर पूँजीकरण नगरिएको प्रतिशेयर आम्दानी हो। १५ प्रतिशत बोनस शेयर पूँजीकरणपश्चात बैंकको प्रतिशेयर आम्दानी २३ रुपैयाँ ९७ पैसा कायम हुनेछ। यसअवधिमा यसको प्रतिसेयर नेटवर्थ २९७ रुपैयाँ ५५ पैसा रहेको छ ।
त्यस्तै दोस्रो त्रैमाससम्म आइपुग्दा लक्ष्मी बैंकले भने ९० करोड ३० लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिमा भन्दा २४.७६ प्रतिशतले बढी हो । गत वर्ष यसैअवधिमा बैंकले ७२ करोड ३७ लाख ९१ हजार रुपैयाँ नाफा कमाएको थियो । पुस मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा ५९ करोड १८ लाख ४४ हजार रुपैयाँ रहेको छ ।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै खुद नाफा बढ्न टेवा पुगेको हो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश, १९.९४ र २०.०१ प्रतिशत बढेको छ । साथै, बैंकको खराब कर्जा पनि घटेको छ । बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ४१ पैसा रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ९० पैसा छ ।