अनुदानमा देखिएको भद्रगोल अन्त्य गर्न ‘राष्ट्रिय अनुदान नीति’ लागु गर्ने सरकारको तयारी

काठमाडौं। सरकारले अब राष्ट्रिय अनुदान नीति ल्याउने तयारी गरेको छ । विभिन्न क्षेत्रमा सरकारले वर्षेनि ठूलो मात्रामा अनुदान वितरण गरेतापनि उक्त अनुदान कार्यक्रम प्रभावकारी तरिकाले कार्यन्वयन नभएको हुँदा अब राष्ट्रिय अनुदान नीति ल्याउने तयारी गरेको राष्ट्रिय योजना आयोगले जानकारी गराएको छ ।

 

शिक्षा, स्वास्थ्य, कृषिलगायत क्षेत्रमा सरकारले हरेक वर्ष अनुदान वितरण गरे पनि त्यस्तो अनुदान प्रभावकारी नभएपछि राष्ट्रिय योजना आयोग अब भने राष्ट्रिय अनुदान नीति ल्याउने तयारीमा लागेको छ । पछिल्लो समय मुलुकमा संघीयता लागु भएसंगै तीन तहको सरकार कार्यन्वयनमा रहेको छ । यस्तोमा तीन तहको सरकारले ल्याएको अनुदान आपसमा बाझिन थालेपछि योजना आयोगले अबको तीन महिना भित्रमा अनुदान नीति लागु गर्नेगरी गृहकार्य अघि बढाएको बताएको छ ।

 

त्यस्तै, राज्यले शुरु गरेका अनुदान लक्षित वर्गसम्म नपुग्नु, एउटै प्रकृतिका अनुदान धेरै रहनुजस्ता अन्य समस्याका कारण थप प्रभावित बन्न पुगेको आयागले स्पष्ट पारेको छ ।

 

योजना आयोगका सदस्य डा. दिलबहादुर गुरुङका अनुसार, पछिल्लो समय १५ मन्त्रालयबाट विभिन्न शिर्षकमा अनुदान वितरण भइरहेको तर उक्त अनुदानको प्रभावकारिता भने न्यून देखिरहेको छ । तसर्थ, हाल वितरण भइरहेका अनुदानमा एकरुपता तथा पारदर्शिता बनाउनका लागि उक्त अनुदान नीति लागु गर्ने तयारी भइरहेको र त्यसका लागि आवश्यक गृहकार्य पनि अघि बढेको गुरुङले बताए । आयोगका सदस्य गुरुङको संयोजकत्वको समितिले अनुदानसम्बन्धी नयाँ नीति निर्माणका लागि अनुदान वितरणमा प्रत्यक्ष रुपमा संलग्न १५ मन्त्रालयका वरिष्ठ अधिकारीहरुसँग छलफल शुरु गरेको छ ।

 

केही समयअघि अर्थमन्त्री डा. युवराज खतिवडाले पनि सरकारले युवा स्वरोजगारको नाममा सीधै अनुदान नदिने बताएका थिए । उनले कृषि, उद्योग तथा व्यवसायमा सीधै अनुदान दिँदा कुनै उपलब्धि नभएको बताउँदै उत्पादनका लागि आवश्यक साधनमा मात्र अनुदान दिने बताएका थिए ।

 

संघीयता कार्यान्वयनसँगै प्रदेश र स्थानीय सरकारले पनि संघीय(केन्द्र) सरकारले वितरण गर्ने अनुदानको नक्कल गर्न थालेपछि यसको व्यवस्थापनका लागि नयाँ नीतिको आवश्यकता भएको आयोगको भनाइ छ । नयाँ प्रणाली ल्याइएपछि संघ, प्रदेश र स्थानीय तहबाट वितरण हुने अनुदानका कार्यक्रम उस्तै प्रकृतिका पाइएमा त्यसलाई पुनरवलोकन गर्न सकिने आयोगको ठम्याई छ ।

 

आयोगका अनुसार, अनुदान वितरणको हालको अवस्था र त्यसमा आवश्यक नयाँ नीतिका बारेमा अनुसन्धान गर्न त्रिभुवन विश्वविद्यालयलाई दिने तयारी रहेको छ । अहिले आयोगले मन्त्रालयहरुले कुनकुन शीर्षकमा के कति अनुदान वार्षिक रुपमा दिइरहेका छन्, त्यसबारे विवरण संकलन गरिरहेको छ । राज्यको ठूलो रकम स्वरोजगार, सामाजिक सुरक्षा र कृषि अनुदानमा वितरण भइरहेको सन्दर्भमा राष्ट्रिय अनुदान नीति नै निर्माण गरी आउने दिनमा अनुदान वितरणलाई व्यवस्थित गर्ने आयोगले बताएको हो ।

 

सरकारले अहिले कृषि क्षेत्रका लागि मात्रै भनेर ३१ प्रकारका अनुदान दिइरहेको छ । तर, त्यसको प्रभावकारितामाथि भने सरकारी अध्ययनले नै केही समय अघि प्रश्न उठाएको थियो । कृषिक्षेत्रको विकासमा सरकारले दिँदै आएको अनुदान प्रभावकारी नभएको र यसको दुरुपयोग गरिएको तथ्य केही समयअघि एक सरकारी अध्ययनले देखाएको थियो ।

 

यसरी, कृषिक्षेत्रमा गरिएको लगानीका बारेमा कृषि मन्त्रालयका तत्कालीन सहसचिव तेजबहादुर सुवेदीको संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदनले कृषिको व्यवसायीकरणका लागि मूल्य शृंखलामा आधारित पूरक अनुदानमा टाठाबाठाको हालिमुहाली रहेको देखाएको थियो ।

 

त्यस्तै, केही समयअघि अर्थमन्त्री डा. युवराज खतिवडाले पनि सरकारले युवा स्वरोजगारको नाममा सीधै अनुदान नदिने बताएका थिए । उनले कृषि, उद्योग तथा व्यवसायमा सीधै अनुदान दिँदा कुनै उपलब्धि नभएको बताउँदै उत्पादनका लागि आवश्यक साधनमा मात्र अनुदान दिने बताएका थिए । त्यसका लागि सरकारले अनुदानसम्बन्धी नीतिमा पुनरवलोकन गर्न लागेको उनको भनाइ थियो ।

सहकारी ऐन २०७४ कार्यान्वयनमा आउन नपाउँदै संशोधनको तयारी सुरु Read Previous

सहकारी ऐन २०७४ कार्यान्वयनमा आउन नपाउँदै संशोधनको तयारी सुरु

दोस्रो त्रैमाससम्म नेपाल बैककाे नाफा घट्दा लक्ष्मीकाे बड्याे Read Next

दोस्रो त्रैमाससम्म नेपाल बैककाे नाफा घट्दा लक्ष्मीकाे बड्याे