काठमाडौं । नेपाल आयल निगमले वायु प्रदुषण कम गर्ने यूरो ६ मापदण्डको पेट्रोलियम पदार्थ बजारमा ल्याउने तयारी अघि बढाएको छ । भारतीय आयल निगमले चैत्र १९ (अप्रिल १) बाट यूरो ६ मापदण्डको पेट्रोलियम पदार्थ नेपाल पठाउने भने पनि लिखित रुपमा त्यसबारेमा निगमलाई जानकारी नदिएको प्रवक्ता विरेन्द्र गोइतले बताए ।
यद्यपी, इन्डियन आयल कर्पोरेसन (आईओसी) ले चैत्र १९ अर्थात् अप्रिल १ बाट भारतभर यूरो ६ मापदण्डको पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने भएकाले सोही दिनबाट नेपाल आउने पेट्रोलियम पदार्थ पनि यूरो ६ मापदण्डको आउने गोइतले जानकारी दिए ।
अहिले बजारमा उपलब्ध पेट्रोलमा सल्फरको मात्रा ५० पीपीए छ । अब आउने यूरो ६ मापदण्डको पेट्रोलियम पदार्थमा भने सल्फर कन्टेन्ट १० पीपीए मात्र हुनेछ । यसले सवारीसाधनले फ्याक्ने धुवाँ अहिलेको तुलनमा निकै स्वच्छ हुनेछ । आयल निगमका आपुर्ति तथा वितरण विभागका जगदिशचन्द्र यादवले यूरो ६ मापदण्डको पेट्रोलियम पदार्थमा सल्फर कन्टेन्ट बाहेक अन्य केही फरक नहुने जानकारी दिए ।
‘युरो ६ मापदण्डको पेट्रोलियम पदार्थमा सल्फर कन्टेन्ट मात्र कम हुने हो, अरु सबै अहिले आइरहेको पेट्रोलमा भएका मापदण्ड अनुसार नै हुने छन्,’ यादवले चाणक्यपोष्टसँग भने ।
पेट्रोलियम पदार्थमा सल्फर कन्टेन्ट जति कम हुन्छ त्यतिनै वातावरण प्रदूषण पनि कम हुन्छ । सोही पेट्रोलियम पदार्थ नेपालमा आउने भएपछि वातावरणमैत्री यूरो ६ मापदण्डको पेट्रोलियम पदार्थ नेपाली उपभोक्ताले पनि प्रयोग गर्न पाउने छन् ।
नेपाली बजारमा यूरो ६ मापदण्डका सवारीसाधन आयात सुरु भइसकेका छन् । यस्तोमा नयाँ मापदण्डको पेट्रोलियम पदार्थ आयात हुँदा त्यसले सवारी साधनको आयुमा समेत फरक पार्नेछ ।
आयल निगमले यूरो ६ मापदण्डको पेट्रोलियम पदार्थ आयात सुरु गरेपछि यूरो ४ मापदण्डको पेट्रोलियम पदार्थ आफैँ क्रमिक रुपमा विस्थापित गर्दै लानेछ ।