सेजको निर्यात सीमा पुनःपरिमार्जन गर्ने तयारीमा उद्योग मन्त्रालय

काठमाडौं। विशेष आर्थिक क्षेत्र (सेज) मा सञ्चालन भएका उद्योगको निर्यात सीमा कम गर्ने तयारी सुरु भएको छ । हालको सेजमा उद्योग स्थापना गरेपछि ६० प्रतिशत निर्यात गर्नैपर्ने प्रावधानले उद्योग सञ्चालनमा समस्या आएपछि सरकारले निर्यातको प्रावधानमा केही परिमार्जन गर्ने तयारी गरेको हो ।

 

पछिल्लो समय सेजमा उद्योग स्थापनाका लागि उद्योगीहरु खसै उत्साहीत नदेखिएपछि सरकार केही लचिलो हुने भएको छ । सेजमा सञ्चालन रहेका उद्योगले अनिवार्य रुपमा ६० प्रतिशत उत्पादन निर्यात गर्नुपर्ने हालको सरकारी व्यवस्था छ । तर उद्योगी, व्यवसायीले भने यसप्रति गुनासो व्यक्त गर्न थालेपछि अहिले उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयले यसप्रति चासो देखाउन थालेको छ ।

 

उसो त सरकारले गत वर्ष नै विशेष आर्थिक क्षेत्र (सेज) ऐन परिमार्जन गरेर निर्यातको सीमा ६० प्रतिशतमा झारेको थियो । सेज सञ्चालनको सुरुवाती चरणमा ७५ प्रतिशत उत्पादन अनिवार्य रुपमा निर्यात गर्नुपर्ने सरकारी व्यवस्था रहेको थियो । तर, सरकारले गत वर्ष यसलाई परिमार्जन गर्दै उक्त ७५ प्रतिशतको दरलाई घटाएर ६० प्रतिशतमा छारेको हो । यसरी, निर्यातको सीमा घटाएर पनि उद्योगी सेजमा जान आकर्षित नभएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अझै सीमा घटाउन सकारात्मक भएको छ ।

 

यता, उद्योगीले भने पूरानै उद्योग सेजमा जान पाउनुपर्ने प्रावधान लागु गर्नुपर्ने पनि माग गर्दै आएका छन् । सेज ऐन अनुसार, नयाँ उद्योग मात्रै सञ्चालन गर्न पाइने व्यवस्थालाई पनि परिमार्जन गर्नुपर्ने उद्योगीहरुको माग रहेको छ ।

 

उद्योग विकासकालागि सरकारले सेज सञ्चालनमा ल्याएतापनि यसबाट खासै प्रगति नदेखिएपछि सरकार यसका केही प्रावधानलाई खुकुलो बनाउनेतर्फ ध्यान दिन थालेको छ । मुलुककै पहिलो भैरहवा सेज न्यून क्षमतामा मात्र सञ्चालन हुने देखिएपछि सरकार केही लचक भएको हो। हालको समयमा भैरहवा सेजमा मात्रै तीनवटा उद्योग सञ्चालनमा रहेका छन् ।

 

त्यस्तै, भैरहवा सेजमा उद्योग स्थापनाका लागि स्वीकृति पाएका १३ उद्योगमध्ये ५ वटा फिर्ता भईसकेको हालको अवस्था छ । भैरहवा सेजमा ६८ प्लटमध्ये २२ प्लट खाली छन् भने केही उद्योग स्थापनाको क्रममा रहेका उद्योग मन्त्रालयले जानकारी गराएको छ ।

 

 

मन्त्रालयका सहसचिव दिनेश भट्राईका अनुसार, निर्यातको सीमा ६० प्रतिशत बढी भयो भन्ने उद्योगीबाट व्यापक गुनासा आएपछि घटाउन सकिने पक्षमा मन्त्रालय पुगेको छ । ‘सरकारले गत वर्ष ७५ प्रतिशतलाई ६० प्रतिशतमा झार्दा पनि उद्योगी सेजमा आकर्षित हुन सकेका छैनन्’ भटराई भन्छन्, ‘झण्डै २० वर्ष अघि सुरु भएको भैरहवा सेजमा हाल २२ वटा प्लट खाली छ । त्यस्तै, तीनवटा उद्योगले गत वर्षदेखि उत्पादन सुरु गरेका छन् भने दुई उद्योग निर्माणाधीन क्रममा रहेका छन्। सेजको मापदण्डमा सञ्चालन गर्न समस्या भएको भन्दै आवेदन दिएका ५ उद्योग फिर्ता भएका छन् । सेजमा पर्याप्त पूर्वाधार नभएको भन्दै उद्योगी जान नमानेपछि अहिले मन्त्रालयले कानुनी व्यवस्थालाई पुनःपरिमार्जन गर्ने लागेको हो’

 

यस विषयमा आवश्यक छलफलगरी कानुनी व्यवस्थालाई परिमार्जन गर्न सकिने सहसचिव भट्राई बताउँछन् ।

 

यता, उद्योगीले भने पूरानै उद्योग सेजमा जान पाउनुपर्ने प्रावधान लागु गर्नुपर्ने पनि माग गर्दै आएका छन् । सेज ऐन अनुसार, नयाँ उद्योग मात्रै सञ्चालन गर्न पाइने व्यवस्थालाई पनि परिमार्जन गर्नुपर्ने उद्योगीहरुको माग रहेको छ । त्यस्तै, सेजमा विद्युत, भाडा, पूर्वाधारलगायत उद्योगमैत्री बनाउन सके निजी क्षेत्र सेजमा आकर्षित उद्योगीहरुको ठम्याई रहेको छ । नेपालमा बिक्री हुने उत्पादनको नेपालको कानुनअनुसार सेवासुविधा र निर्यात गर्ने वस्तुको सेज ऐनअनुसार सुविधा दिने व्यवस्था लागु गर्नुपर्ने व्यवसायीहरु बताउँछन् ।

 

मन्त्रालयका सहसचिव भट्राईले निर्यात प्रवद्र्वन गर्न सेजको अवधारणा ल्याइएको भएपनि सेजमा उद्योगी आकर्षित हुन नसकेको बताए । ‘निर्यात बढाउन सेज स्थापना गरिएको हो’, उनले भने, ‘औद्योगिक क्षेत्रभन्दा सेज फरक हो।’ सेजमा स्थापित उद्योगले उत्पादन भएको पहिले वर्षमा सबै उत्पादन स्वदेशमा बिक्री गर्न पाउँछन् । उत्पादनको दोस्रो वर्षपछि ४० प्रतिशत मात्रै स्वदेशमा बिक्री गर्नुपर्ने उनले स्पष्ट पारे ।

सवारी कर्जा खुकुलो पार्न छलफलमा अर्थमन्त्रालयका अधिकारीहरु, पुर्नविचार हुने संकेत Read Previous

सवारी कर्जा खुकुलो पार्न छलफलमा अर्थमन्त्रालयका अधिकारीहरु, पुर्नविचार हुने संकेत

मध्य पहाडी लोकमार्ग निर्माणः १२ वर्षमा ४२ प्रतिशत भौतिक प्रगति Read Next

मध्य पहाडी लोकमार्ग निर्माणः १२ वर्षमा ४२ प्रतिशत भौतिक प्रगति