काठमाडौं । राष्ट्रिय गौरवको योजना अन्तर्गत निर्माणका क्रममा रहेको मध्य पहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग) को भौतिक प्रगति ४२ प्रतिशत मात्र भएको छ । २०६४÷६५ सालदेखि २०७९÷८० सम्म निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको उक्त आयोजनाको भौतिक प्रगती ४२ प्रतिशत रहेको हो ।
हालसम्म कुल १ हजार ८ सय ७९ किलोमिटर सडक मध्ये कुल ८ सय किलोमिटर सडक कालोपत्रे भएको छ । सो खण्डमा पर्ने ३ सय ६४ किलोमिटर सडक आयोजना आफैले कालोपत्रे गरेको हो भने बाँकी ४ सय ६२ किलोमिटर सडक अन्य निकायले कालोपत्रे गरेको सडक विभागले जनाएको छ ।
सो आयोजना अन्तर्गत १ सय २९ पुल मध्ये ७० वटा पुलको निर्माण सम्पन्न भएको छ ।
चालु आवको निर्माण अवस्था
मध्य पहाडी लोकमार्ग आयोजनाले जनाए अनुसार चालु आवको ५ महिनामा २३ प्रतिशतको हाराहारीमा मात्र भौतिक प्रगती भएको छ । यस्तै वित्तीय तर्फ ११ प्रतिशतको हाराहारीमा प्रगति भएको हो ।
सो अवधिमा झण्डै ३ सय ५५ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखिएको थियो । तर, सो अवधिमा २१ प्रतिशत हाराहारीमा मात्र सडक कालोपत्रे भएको हो । ३ सय ९५ किलोमिटर सडक ग्राभेल गर्ने लक्ष्य रहेकोमा ७० किलोमिटर सडक ग्राभेल भएको जनाइएको छ । उक्त अवधिमा २० वटा पुल निर्माण गर्ने लक्ष्य राखिएकोमा २ वटा मात्र पुल निर्माण भएको हो ।
आयोजनाको कुल लम्बाई १ हजार ८ सय ७९ किलोमिटर सडक निर्माण हो । यो आयोजना अन्तर्गत १ सय २९ वटा पुल निर्माण गर्नुपर्ने छ । आयोजनाको लागत १ खर्ब १ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।
हालसम्म उक्त सडक निर्माणको भौतिक प्रगति ४२ प्रतिशत भएको आयोजनाको इन्जिनियर शर्मिला देशारले जानकारी दिइन् । उनले सो खण्डमा वित्तिय प्रगति पनि ४२ प्रतिशत भएको जानकारी दिइन ।
सो अनुसार हालसम्म उक्त योजनामा झण्डै ४१ अर्ब १९ करोड रुपैयाँ खर्च भएको सडक विभागले जनाएको छ ।
गत आर्थिक वर्ष २०७५÷७६ मा सो लोकमार्ग निर्माणको लागि अर्थ मन्त्रालयले २ अर्ब ७ करोड बजेट विनियोजन गरिएको थियो । चालु आवमा कुल ४ सय ३५ किलोमिटर सडक कालोपत्रे गर्नका लागि १२ अर्ब २० करोड रुपैयाँ विनियोजन गरिएको छ । यस मध्ये सरकारले मात्र ११ प्रतिशत वित्तीय खर्च गर्न सकेको हो ।