सिटिजन्स बैंकका आजबाट ४ नयाँ शाखा संचालनमा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा माघ ५ गते थप चार वटा नयाँ शाखाहरु संचालनमा ल्याएको छ । पूजा पाठ गरी बैंकले चितवनको टाँडी, लमजुंगको भोटेओडार, कपिलवस्तुको जितपुर तथा नुवाकोटको देवीघाट शाखाहरु संचालनमा ल्याएको छ । उक्त शाखाहरुको शुभारम्भ समारोहमा स्थानिय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । आम नागरिकलाई अत्यावश्यक वित्तीय सेवाको पहुँच प्रदान गर्ने उद्देश्यका साथ बैंकले बागमती प्रदेशको टाँडी र देवीघाट, गण्डकी प्रदेशको भोटेओडार र प्रदेश ५ को जीतपुरमा शाखा विस्तार गरेको हो ।

 

यी शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याँउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, एटीएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।

 

सरकारले वित्तीय पहुँच तथा समावेशिता वृद्धि र औपचारिक अर्थतन्त्रको प्रवर्धनका लागि सबै नेपालीको बैंक खाता भन्ने नीति अवलम्बन गरेको छ । यसलाई मुर्त रुप प्रदान गर्न यस बैंकले थप ४ वटा नयाँ शाखाहरु संचालनमा ल्याएको छ । संघीयतालाई दह्रो र सहज बनाउन अतुलनीय भूमिका निर्वाह गर्दै आएको यस बैंकले प्रदेश  १ मा ११, प्रदेश २ मा ८, बागमती प्रदेशमा ३९, गण्डकी प्रदेशमा ६, प्रदेश ५ मा १३, कर्णाली प्रदेशमा ७ तथा सुदुरपश्चिम प्रदेशमा ५ गरी कुल ८९ वटा शाखा कार्यालयहरु सँचालन रहेका छन् ।

 

ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु उपलब्ध गराउँदै आएको छ । सूचना प्रविधिमा आएको परिवर्तनलाई अंगिकार गर्दै यस बैंकले ग्राहक वर्गलाई घरमै बसेर छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा वित्तीय सेवा सुविधा उपभोग गर्न मिल्ने विभिन्न प्रविधिमैत्री योजनाहरु समेत संचालनमा ल्याएको छ ।

 

यस बैंकले नेपाल राष्ट्र बैंकबाट ख वर्गको इजाजत प्राप्त सहयोगी विकाश बैंकलाई प्राप्ति गर्ने गरी अन्तिम सम्झौतामा हस्ताक्षर गरिसकेको छ । उक्त विकास बैंकको प्राप्ति पश्चात बैंकको कुल शाखा १०३ पुग्नेछ भने प्रदेश  २ मा थप १३ तथा बागमती प्रदेशमा १ शाखाहरु संचालनमा आउने छन् । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८९ वटा शाखा, ८५ वटा एटीएम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

मोदीले अर्थतन्त्रलाई स्वचालित हवाइजहाज ठान्दा आर्थिक संकटः भारतका पूर्व गर्भनरको विचार Read Previous

मोदीले अर्थतन्त्रलाई स्वचालित हवाइजहाज ठान्दा आर्थिक संकटः भारतका पूर्व गर्भनरको विचार

लुम्बिनी बिकासका लागि छलफल धेरै भयो, अब सरकार ‘एक्सन’ मा जान्छ : योगेश भट्टराई Read Next

लुम्बिनी बिकासका लागि छलफल धेरै भयो, अब सरकार ‘एक्सन’ मा जान्छ : योगेश भट्टराई