बाणिज्य बैंकहरुलाई ‘गोएएमएल’ अनिवार्य, शंकास्पद वित्तिय गतिविधि नियन्त्रण हुने राष्ट्र बैंकको बिश्वास

काठमाडौं । ‘क’ वर्गका बैंकहरुले २०७६ साल माघ १ देखि अनिवार्य रुपमा विद्युतीय माध्यमबाट (गोएएमएल) प्रतिवेदन पेश गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन २०७६ को निर्देशन नम्बर १९ को बुँदा नम्बर ११ ले बाणिज्य बैंकहरुलाई सो निर्देशन दिएको हो । यो निर्देशनले बिद्युतीय माध्यमबाट प्रतिवेदन पेश गर्ने व्यवस्था पूर्ण रुपमा कार्यान्वयनमा आएको बताइएको छ ।

 

उक्त व्यवस्था बमोजिम माघ १ गतेबाट ‘क’ वर्गका बैंकहरुबाट सीमा र शंकास्पद कारोवार विवरण गोएएमएलको माध्यबाट मात्र वित्तीय जानकारी इकाइमा पेश गर्ने गरी व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।

 

गोएएमएल को माध्यमबाट वित्तीय जानकारी इकाईमा पेश गर्नुपर्ने विवरणले सूचक संस्थाहरुका प्रतिवेदन पेश गर्ने विद्यमान व्यवस्थामा पूर्ण रुपमा परिवर्तन ल्याई ग्राहक पहिचान लगायतका विवरण सजिलै विद्युतीय माध्यमबाट राख्ने व्यवस्थाको सवलीकरण हुने विश्वास गरिएको छ ।

 

यसको कार्यान्वयनसँगै नियामक निकाय, बैंक तथा वित्तीय संस्था र ग्राहक लगायत सबै पक्षलाई उपयोगी र सहज हुने राष्ट्र बैंकले जनाएको छ ।

 

साथै, गोएएमएल को माध्यमबाट प्राप्त सूचना र विवरणको वित्तीय जानकारी इकाईको शंकास्पद र सीमा कारोबारको विश्लेषण कार्य लगायत सूचक संस्थाहरुसँगको सूचना आदानप्रदान कार्य थप चुस्त र सरल हुने राष्ट्र बैंकको बुझाइ छ ।

 

यो प्रणाली ‘यूएनओडीसी’ द्धारा विकसित गरिएको हो । यो प्रणालीको एकिकृत सूचना सञ्जाल अन्तराष्ट्रिय स्तरको भएको बताइएको छ । यो प्रणाली संसारका करिब ५० मुलुकले प्रयोगमा ल्याइसकेका छन् भने ६० भन्दा बढी मुलुकमा कार्यान्वयनको क्रममा रहेका छन् ।

 

यो प्रणालीको कार्यान्वयनले नेपालको सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणमा प्रभावकारिता आउने राष्ट्र बैंकले बिश्वास लिएको छ ।

 

हाल वाणिज्य बैंकहरुमा पूर्ण रुपमा कार्यान्वयनमा ल्याइएको यो प्रणाली आगामी आर्थिक वर्ष २०७७÷७८ देखि अन्य वित्तीय संस्था र अन्य सूचक संस्थाहरुमा पनि क्रमिक रुपमा कार्यान्वयन गर्दै लाने राष्ट्र बैंकको योजना रहेको छ ।

डेपुटी गर्भनर शिवराजले पाए सफाई, थपिए अर्का गर्भनरका प्रत्यासी Read Previous

डेपुटी गर्भनर शिवराजले पाए सफाई, थपिए अर्का गर्भनरका प्रत्यासी

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८ अर्वको साधारण सेयर आउने Read Next

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८ अर्वको साधारण सेयर आउने