काठमाडौं । नेपाल एसबीआई बैंकलाई २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र ल्याउन नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरले २५ लाख कित्ता ऋणपत्र बिक्री गर्न बोर्डबाट अनुमति पाएको हो । यसमध्ये १० लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १५ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
यस ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर पाइनेछ । बैंकले १० वर्ष अवधिको ‘१०% नेपाल एसबीआई डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम कुमारी क्यपिटलले गर्नेछ । इक्रा नेपालले यो ऋणपत्रलाई उच्च सुरक्षा जनाउने ‘इक्रा एनपी एल डबल ए’ रेटिङ दिएको छ।
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति मार्फत वाणिज्य बैंकहरुलाई चुक्ता पूँजीको २५ प्रतिशतसम्म ऋणपत्र अनिवार्य जारी गर्नुपर्ने व्यवस्था गरेको थियो । त्यसपछि धरेैजसो बैंकहरु ऋणपत्र निष्काशनको तयारीमा जुटेका छन् भने केहीले निष्काशन समेत गरिसकेका छन् ।