काठमाडौं । सेयर बजार गत हप्तादेखि लगातार बढिरहेको छ । तर, यो बढाइको सन्तुलित गति भने छैन । नेप्सेले दोहारो अंकले छलाङ मारिरहेको छ । हिजो (आइतबार) नेप्से ४२ अंकले बढ्यो । यो बीचमा नेप्सेलाई यो स्तरको प्रभाव पार्न आर्थिक, राजनीतिक वा वित्तीय क्षेत्रमा केही पनि उथलपुथल भएको छैन ।
धितोपत्र बोर्डमा भिष्मराज ढुङ्गानाको रुपमा नयाँ अध्यक्ष आएका छन्, जुन सामान्य प्रक्रिया हो । अर्थमन्त्रीले केही सेयर बजारका बारेमा केही सकारात्मक कुरा बोले भन्ने हल्ला पनि चलेको छ, जुन सेयर बजारमा यो ढंगको उछाल आउन पर्याप्त कारण होइन ।
समग्र अर्थतन्त्र सुस्ताएको र लगानीकर्ताहरु लगानी नगर्ने मनस्थितिमा पुगेको अवस्थामा त झन् सेयर बजारमा उछाल आउनु पर्ने कुनै कारण नै छैन । बैंकहरुले ऋण प्रवाह गर्न नसकेको अवस्थामा त झन् आगामी वर्ष उनीहरुको नाफा घट्ने र सेयर बजारको ८० प्रतिशत भन्दा ठूलो हिस्सा बैंक तथा वित्तीय संस्थाहरुले ओगटेका कारण यसरी सेयर बजार बढ्नुमा कुनै तार्किक आधार भेटिदैन ।
बैंकहरुमा ऋणको माग घट्दै गएर तरलता थुप्रिन थालेका कारण उनीहरुले सेयर कर्जा सहज रुपमा उपलब्ध गराएका कारण सेयर बजार उफ्रिएको हो भन्ने कुराहरु पनि आएका छन् ।
तर, समग्र अर्थतन्त्र सुस्ताएको र लगानीकर्ताहरु लगानी नगर्ने मनस्थितिमा पुगेको अवस्थामा त झन् सेयर बजारमा उछाल आउनु पर्ने कुनै कारण नै छैन । बैंकहरुले ऋण प्रवाह गर्न नसकेको अवस्थामा त झन् आगामी वर्ष उनीहरुको नाफा घट्ने र सेयर बजारको ८० प्रतिशत भन्दा ठूलो हिस्सा बैंक तथा वित्तीय संस्थाहरुले ओगटेका कारण यसरी सेयर बजार बढ्नुमा कुनै तार्किक आधार भेटिदैन ।
धेरै वर्ष देखि सेयर बजार सुस्ताएको र अघिल्लो ‘बुल रन’मा नेप्सेले १८८१ छोएका बेला बजार पसेका त्यतिबेलाका धेरै नयाँ लगानीकर्ताले आफ्नो पैसा डुबाएका कारण बजारमा यसरी उछाल आउँदा उनीहरुले आशाका किरणहरु भेट्नु अस्वाभाविक पनि होइन ।
तर, बजार जब कुनै तार्किक आधार बिना नै यसरी उफ्रन थाल्छ तब अन्य नयाँ लगानीकर्ताहरु फेरि बजारमा जाकिने सम्भावना अधिक हुन्छ । नेप्सेको दीर्घकालिन वृद्धि भनेको स्वभाविक र उचित गतिमा नै हुने हो ।
यस्तो अस्वाभाविक उफ्राईले नयाँ लगानीकर्ताहरु खराब कम्पनीमा गएर जाकिने जोखिम अधिक हुन्छ भने उनै टाठाबाठाले आफ्ना खराब सेयर उच्च मूल्यमा नयाँ लगानीकर्तालाई भिराउने संभावना बढी हुन्छ ।
यसका केही उदाहरणहरु यहाँ प्रस्तुत गरिएको छ ।
नेपाल सेवा लघुवित्तलाई लिउँ । यो कम्पनीले आर्थिक वर्ष ७४/७५ मा ५.२ प्रतिशत नगद लाभांश र ७५/७६ मा २.५ प्रतिशत बोनस सेयर वितरण गरेको छ । यो लाभांशको दर भनेको बैंकको मुद्दति खाता भन्दा पनि धेरै गुणा कम हो । यो कम्पनीको प्रतिसेयर आम्दानी ४.५७ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १३८ गुणा रहेको छ ।
सामान्यत २५ गुणा भन्दा बढी मूल्य आम्दानी अनुपात भएको कम्पनीलाई जोखिमपूर्ण मानिन्छ । १३८ गुणा भनेको त धेरै नै जोखिमपूर्ण हो । तर, यस्तो कम्पनीको सेयर मूल्य १ हप्तामा १८.८८ प्रतिशतले बढेको छ । गत हप्ताको आइतबार प्रति कित्ता ५१९ रुपैयाँको सेयर हिजो आइतबार ६१७ रुपैयाँ प्रति कित्ता पुगेको छ ।
उता गुराँस लघुवित्तको हालत पनि यस्तै छ । एक हप्तामा यो कम्पनीको सेयर मूल्य ३६.७३ प्रतिशतले बढेको छ । गत हप्ता प्रति कित्ता ४६० रुपैयाँको सेयर हिजो आइतबारसम्म ६२९ रुपैयाँ पुगिसकेको छ । यो कम्पनीको मूल्य आम्दानी अनुपात ३३४ गुणा छ भने प्रति सेयर आम्दानी २.०३ रुपैयाँ छ । यो कम्पनीको सेयर माथि उल्लेखित मूल्यमा कसले बेचिरहेको छ अनी कसले किनिरहेको छ ? प्रश्न महत्वपूर्ण छ ।
घोडाघोडी लघुवित्तमा पनि नयाँ लगानीकर्ताहरु फसिरहे झैं देखिन्छ । यो कम्पनीको सेयर पनि एक हप्तामा २५ प्रतिशतले बढेको छ । एक हप्तामा यो कम्पनीको सेयर मूल्य ६०८ रुपैयाँ प्रतिकित्ताबाट ७६० रुपैयाँ पुगेको छ । अहिलेसम्म लाभांश नदिएको यो कम्पनीको मूल्य आम्दानी अनुपात २३.२१ गुणा रहेको छ ।
नयाँ लगानीकर्ताहरु जहिल्यै पनि बढेपछि बजार पस्ने हुन् । हल्ला खल्ला हुन थालेपछि वा आफन्त वा साथीभाईले सेयर बजारमा पैसा कमाएँ भनेर भन्न थालेपछि उनीहरु बजार पस्ने हुन् । त्यसैले बढेको बजारमा आत्तिदै पस्ने उनीहरु जहिल्यै पनि ठूला लगानीकर्ताले थापेको खराब कम्पनीको पासोमा पर्ने गरेका छन् ।
लामोसमय सुस्ताएको सेयर बजार बढ्न थाल्नु पक्कै पनि सबैका लागि सुखद कुरा नै हो । तर, यस्ता अस्वाभाविक उछलकुद र खराब कम्पनीहरुमा आउने उछालको ‘भूलभूलैया’ मा फेरी अर्को ‘लट’ सोझासाझा लगानीकर्ताहरु नजाकिउन भन्ने चासो सबै सरोकारवालाहरुको हुनैपर्छ ।