२०२० अन्तिमबाट मुग्लिन-पोखरा सडक खण्डको काम शुरु हुने

सांकेतिक तस्बिर ।

काठमाडौं । मुग्लिन–पोखरा सडक खण्ड विस्तारको काम यही २०२० को डिसेम्बर अन्तिमबाट शुरु हुने भएको छ । एशियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा बन्न लागेको सो सडक खण्डमा पहिलो चरणमा तनहुको आँबुखैरेनीदेखि पोखरासम्म काम शुुरु हुने भएको हो ।

 

दुई चरणमा बन्न लागेको यो सडक खण्डमा पहिलो चरणमा आँबुखैरेनीदेखि पोखरा र दोस्रो चरणमा मुग्लिनदेखि आँबुखैरेनीसम्म सडक विस्तार गरिने छ ।

 

हाल पहिलो चरणमा आँबुखैरेनीदेखि पोखरा खण्ड निर्माणका लागि ठेक्का आह्वान भएको आयोजना कार्यान्वयन निर्देशनालयका (एडीबी) सौरभ बज्रचार्यले बताए । सो ठेक्का आह्वानको अन्तिम मिति यही जनवरी अन्तिमसम्म रहेको छ ।

 

ठेक्का प्रकृया सकिएपछि प्राविधिक तथा आर्थिक सम्भाव्यता अध्ययनका लागि ६ महिना थप समय लाग्ने भएकाले अझै फिल्डमा काम शुरु हुन निकै समय लाग्ने उनले बताए ।

 

‘हाम्रो प्रकृया लामो भएकोले सन् २०२० डिसेम्बरसम्म आँबुखैरेनीदेखि पोखरा सडक खण्डमा फिल्डमै काम शुुरु गरिने छ,’ बज्राचार्यले चाणक्यपोष्टसँग भने ।

 

आगामी सन् २०२५ सम्ममा निर्माण पूरा गर्ने लक्ष्यसहित पहिलो चरणमा आँबुदेखि पोखरासम्मको ८०.३३ किलोमिटर सडक खण्डमा काम शुरु गरिने भएको छ ।

 

यस्तै दोस्रो चरणमा मुग्लिनदेखि आँबुखैरेनीसम्मको सडक खण्डको डीपीआर भर्खरै पूरा भएको उनले जानकारी दिए । उक्त खण्डको डीपीआर परामर्शदातालाई बुझाइएको छ । उक्त डीपीआर स्वीकृत भएपछि ईआइए तथा अन्य अध्ययनका कामहरु बाँकी रहेकाले त्यसको विस्तारमा अझै समय लाग्ने उनले बताए ।

 

सो डीपीआर स्वीकृत हुन डेढ महिना लाग्ने र त्यसपछि मन्त्रीस्तरमा पनि पेश गर्नुपर्ने हुँदा त्यसमा अझै थप समय लाग्न सक्ने उनले बताए । आँबुखैरेनीदेखि मुग्लिनसम्म ८.२५ किलोमिटर लम्बाई रहेको छ ।

 

एडिबीको झण्डै २२ अर्ब ऋण सहयोगमा सो सडक खण्डलाई ४ लेनमा विस्तार गर्न लागिएको हो । मुग्लिनदेखि पोखरासम्मको सडक खण्डमा बजार क्षेत्रमा ६ लेन र अन्य स्थानमा ४ लेनमा सडक विस्तार गरिनेछ ।

 

साथै दमौलीस्थित मादी नदीमा ४ लेनको पुल र पोखरा स्थित सेतीनदीमा २ लेनका नयाँ पुल बनाइने छ  । यी ठूला पुलहरु पर्यटकीय गन्तव्य हुने गरी निर्माण गरिने बताइएको छ । यसैगरी अन्य ८ पुल पनि बनाइने छ ।

 

सो खण्डमा ६२ पाइप कल्भर्ट, २ सय ३० स्ल्याब कल्भर्ट, ८ मुख्य पुल (नयाँ) र ३१ साना पुलबाट वारपार नाला बनाइने छ ।

एसबीआई बैंकलाई साढे २ अर्बको ऋणपत्र बिक्री गर्न अनुमति Read Previous

एसबीआई बैंकलाई साढे २ अर्बको ऋणपत्र बिक्री गर्न अनुमति

मेलम्चीको सुरुङ ‘फिनिसिङ’को काम अन्तिम चरणमा Read Next

मेलम्चीको सुरुङ ‘फिनिसिङ’को काम अन्तिम चरणमा