काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । पछिल्लो समय लगातार आकाशिँदै गएको सुनको मूल्यले आज फेरि नयाँ कीर्तिमान बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला ११०० रुपैयाँले बढेर १ लाख ७७ हजार ९०० रुपैयाँ पुगेको छ ।
यो नेपाली बजारमा अहिलेसम्मकै महँगो हो । यसअघि आइतबार सबैभन्दा धरै प्रतितोला १ लाख ७६ हजार ८०० रुपैयाँ पुगेको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि आकाशिएको हो । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस ३ हजार १०० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेर २०३५ रुपैयाँमा कारोबार भइरहेको छ ।