
काठमाडौं । राजावादी समूहले गरेको तोडफोड र लुटपाटबाट काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा ८० लाख रुपैयाँ बढीको क्षति भएको छ ।
शुक्रबार राजावादी समूहले तीनकुनेमा गरेको प्रदर्शन अनियन्त्रित भएपछि प्रदर्शनकारीहरूले भाटभटेनी प्रवेश गरी तोडफोड र लुटपाट गरेका थिए ।
भाटभटेनीका सीओओ पानु पौडेलका अनुसार ६४ लाख ८८ हजार ३३७ रुपैयाँ बराबरको सामग्री लुटपाट भएको छ । त्यसैगरी बाहिरी भागमा रहेका धेरैजसो सिसा फुटेका छन् । भवनमा चौतर्फी क्षति पुगेको छ । त्यसबापत ११ लाख ८५ हजार ८५५ रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान छ ।
सीओओ पौडेलका अनुसार २ लाख ६५ हजार रुपैयाँका शोकेश तथा अन्य सामग्रीमा क्षति पुगेको छ । काउन्टरमा रहेका ९४ हजार रुपैयाँ पनि लुटपाट गरिएको उनले बताए ।
भाटभटेनीमा लुटपाट गर्ने समूहका ९ जना पक्राउ परिसकेका छन् । प्रहरीले फोटो र भिडियो फुटेज मार्फत पक्राउ कार्य जारी राखेको छ ।