काठमाडौं । चालु आर्थिक वर्षमा बैंकिङ व्यवसायमा झिनो सुधार देखिएको छ । आर्थिक शिथिलताका साढे २ वर्षदेखि सुस्ताएको कर्जा लगानी चालु आवमा केही बढ्न थालेको देखिएको छ । यद्यपि, कर्जा लगानी अपेक्षित रूपमा भने बढ्न सकेको छैन ।
चालु आवको ८ महिना (साउन फागुन)सम्म वाणिज्य बैंकहरूको निक्षेप संकलन भन्दा कर्जा लगानीको वृद्धिदर धेरै रहेको छ । नेपाल बैंकर्स संघका अनुसार फागुनसम्म बैंकहरूको कर्जाको वृद्धिदर ६.१२ प्रतिशत छ । जबकि यही अवधिमा बैंकहरूको निक्षेप वृद्धिदर ४.९ प्रतिशत छ ।
चालु आवको ८ महिनामा २० वाणिज्य बैंकले कुल २ खर्ब ८० अर्ब रुपैयाँ नयाँ कर्जा लगानी गरेका छन् । गत असारमा ४५ खर्ब ७१ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरूको कुल कर्जा फागुनसम्म बढेर ४८ खर्ब ५१ रुपैयाँ पुगेको छ ।
यही अवधिमा बैंकहरूमा २ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । गत असार मसान्तमा बैंकहरूको कुल निक्षेप ५७ खर्ब ५५ अर्ब रहेकामा गत फागुनसम्म बढेर ६० खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ ।
अहिले बैंकिङ प्रणालीमा कायम अधिक तरलताका कारण बैंकहरूले निक्षेप संकलनमा खासै ध्यान दिएका छैनन् । तर, कर्जाको लगानीलाई भने प्राथमिकतामा राखेका छन् । सोही कजार निक्षेपको भन्दा कर्जाको वृद्धिदर धेरै भएको छ ।
चालु आवमा बैंकहरूले पुसमा सबैभन्दा धेरै ९३ अर्ब ६७ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए । यद्यपि, त्यो कर्जा नयाँ लगानी नभई ‘एभरग्रिनिङ’ थियो । त्यस्तै, साउनमा २ अर्ब, भदौमा ५३ अर्ब, असोजमा ५६ अर्ब, मंसिरमा ४२ अर्ब कर्जा लगानी गरेका बैंकहरूको कात्तिकमा भने कर्जा लगानी २ अर्बले घटेको थियो ।
त्यसैगरी, मंसिरमा ४२ अर्ब कर्जा लगानी गरेका बैंकहरूको माघ र फागुनमा कर्जा लगानी सुस्ताएको छ । बैंकहरूले माघमा १२ अर्ब २३ करोड रुपैयाँ र फागुनमा २३ अर्ब ७४ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् ।
पछिल्लो समय आर्थिक गतिविधि क्रमशः बढ्न थालेकाले कर्जाको माग बढ्न थालेको देखिन्छ । हाल उद्योगहरूले लिने चालु पूँजी, सेयर धितो, व्यापार, हायर पर्चेज, आवासीय लगायत कर्जाको माग बढ्न थालेको बैंकरहरू बताउँछन् ।
कर्जाको माग बढाउन भन्दै नेपाल राष्ट्र बैंकले एकपछि अर्को नीतिगत लचकता अपनाउँदै आएको छ । प्रणालीमा ६ खर्ब रुपैयाँ बढी तरलता थुप्रिएर बसेको छ भने ब्याजदर ३ वर्ष यताकै सस्तो भएको छ । घट्दो ब्याजदर र नीतिगत लचकतासँगै आर्थिक गतिविधि बढेकाले पछिल्लो समय कर्जाको माग केही बढ्न थालेको हो ।
चालु आवमा पनि कर्जा विस्तारको लक्ष्य भने नभेटिने देखिएको छ । राष्ट्र बैंकले निजी क्षेत्रतर्फ १२.५ प्रतिशत कर्जा विस्तार गर्ने लक्ष्य राखे पनि ८ महिनामा आधा मात्रै लक्ष्य लगानी भएको छ । ८ महिनासम्मको प्रगतिका आधारमा लक्ष्य भेटाउन कठिनाइ हुने जानकारहरू बताउँछन् ।