काठमाडौं । चालु आर्थिक वर्षमा तीन प्रकृतिका कर्जाको माग उच्च देखिएको छ । अर्थतन्त्रमा आएको शिथिलताका कारण अन्य क्षेत्रमा कर्जाको माग बढ्न नसके पनि ट्रष्ट रिसिप्ट (व्यापार), मार्जिन (सेयर) र चालु पूँजी कर्जा लगानी ह्वात्तै बढेको हो ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार यी तीन प्रकृतिको कर्जाको वृद्धिदर वार्षिक लक्ष्यभन्दा पनि धेरै रहेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ मा निजी क्षेत्रतर्फ साढे १२ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखेको छ । सो अनुसार चालु आवमा ६ खर्ब बढी रुपैयाँ कर्जा लगानी गर्नुपर्छ । चालु आवको ७ महिनामा बैंक तथा वित्तीय संस्थाले २ खर्ब ७२ अर्ब रुपैयाँ मात्रै कर्जा लगानी गरेका छन् । चालु आवमा कर्जाको वृद्धिदर ५.३ प्रतिशत मात्रै छ ।
बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने १२ प्रकृतिका कर्जामध्ये चालु आवको ७ महिनामा १० प्रकृतिका कर्जाको वृद्धिदर धनात्मक छ भने दुई क्षेत्रको ऋणात्मक छ । आर्थिक शिथिलताका बाबजूद व्यापार, सेयर र चालु पूँजी कर्जाको वृद्धिदर लक्ष्यभन्दा बढी अर्थात् १२.५ प्रतिशत माथि रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
राष्ट्र बैंकका अनुसार चालु आवमा व्यापारिक प्रयोजनका लागि प्रवाह हुने ट्रस्ट रिसिप्ट/आयात कर्जा लगानी वृद्धिदर सबैभन्दा धेरै ६९.५ प्रतिशत रहेको छ । यसले चालु आवमा व्यापार क्षेत्रमा कर्जाको माग सबैभन्दा धेरै रहेको देखाएको छ । गत असारसम्म ८२ अर्ब ८३ करोड रहेको ट्रस्ट रिसिप्ट कर्जा माघ मसान्त आइपुग्दा साढे ५७ अर्बले बढेर १ खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ ।
त्यस्तै, मार्जिन प्रकृतिको (सेयर कर्जा)को वृद्धिदर पनि उच्च छ । चालु आवमा सेयर कर्जाको वृद्धिदर २७.८ प्रतिशत रहेको छ । ७ महिनामै बैंक तथा वित्तीय संस्थाहरूले २५ अर्ब रुपैयाँ सेयर कर्जा लगानी गरेका छन् । गत असारसम्म मार्जिन कर्जा लगानी कुल ९० अर्ब रहेकोमा माघ आइपुग्दा बढेर १ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ ।
त्यसैगरी, औद्योगिक क्षेत्रमा पनि कर्जाको माग बढेको देखिएको छ । उद्योगहरूले लिने वर्किङ क्यापिटल लोन १२.४ प्रतिशतले बढेको छ । ७ महिनाको अवधिमा ८९ अर्ब ९२ करोड रुपैयाँ चालु पूँजी कर्जा लगानी भएको छ । गत असारसम्म ७ खर्ब २५ अर्ब चालु पूँजी कर्जा लगानी भएकोमा माघ आइपुग्दा बढेर ७ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ । निर्माण सिजन सुरू हुन लागेसँगै उद्योगहरूले कच्चा पद्धार्थ आयात बढाउँदा यस्तो कर्जाको माग बढेको हो ।
त्यस्तै, हायर पर्चेज, ट्रम लोन, व्यक्तिगत आवास कर्जा, क्यास क्रेडिट, रियल ई–स्टेट र अन्य प्रकृतिको कर्जाको वृद्धिदर ३ प्रतिशतभन्दा धेरै छ ।
विगत २ वर्षदेखि सुस्ताएको घरजग्गा र अटोमोबाइल सेक्टरमा केही सुधार आउँदा कर्जाको माग बढेको देन्छि । ७ महिनाको अवधिमा १२ अर्ब २८ करोड व्यक्तिगत घर कर्जा, ८ अर्ब ७३ करोड रियल ईस्टेट, ५ अर्ब ५८ करोड हायर पर्चेज कर्जा लगानी भएको राष्ट्र बैंकको तथ्यांक छ ।
त्यसैगरी, ७० अर्ब ३७ करोड ट्रम लोन, २४ अर्ब २२ करोड क्यास क्रेडिट र १६ अर्ब ४५ करोड रुपैयाँ अन्य प्रकृतिको कर्जा लगानी भएको छ ।
दुई प्रकारका कर्जाको वृद्धिदर ऋणात्मक
चालु आवमा दुई प्रकारका कर्जाको वृद्धिदर ऋणात्मक छ । १० प्रकृतिका कर्जा लगानी बढ्दा ओभर ड्राफ्ट कर्जा र डिस्प्राइड सेक्टर (विपन्न वर्ग)मा प्रवाह हुने कर्जा लगानी घटेको हो ।
राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आवमा ओभर ड्राफ्ट कर्जा लगानी सबैभन्दा धेरै १२.४ प्रतिशतले घटेको छ । गत असारसम्म १ खर्ब २४ अर्ब ओभर ड्राफ्ट कर्जा लगानी भएकोमा माघसम्म आइपुग्दा १५ अर्ब ४८ करोडले घटेर १ खर्ब ९ अर्ब रुपैयाँमा आइपुगेको छ ।
त्यस्तै, विपन्न वर्गमा प्रवाह हुने कर्जा ७.३ प्रतिशतले घटेको छ । गत असारसम्म विपन्न वर्गमा ३ खर्ब १२ अर्ब रुपैयाँ कर्जा लगानी भएकोमा माघ आइपुग्दा २२ अर्ब ६७ करोड घटेर २ खर्ब ८९ अर्ब रुपैयाँमा झरेको छ ।
सरकार र राष्ट्र बैंकले कर्जाको माग बढाउन एकपछि अर्को नीतिगत लचकता अपनाए पनि कर्जाको माग बढ्न सकेको छैन । पैसा जति बैंकिङ प्रणालीमै थुप्रेर बसेको छ । हाल प्रणालीमा साढे ६ खर्ब रुपैयाँ बढी अधिक तरलता छ ।