
काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आज (कार्यालय समय)देखि प्राथमिक साधरण सेयर (आइपीओ) बिक्रीमा ल्याउने भएको छ ।
कम्पनीले दोस्रो चरणमा सर्वसाधरणका लागि आइपीओ बिक्रीमा ल्याएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता आइपीओ बिक्रीमा ल्याएको छ ।
कम्पनीको आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाउने छन् । कम्पनीको आइपीओमा फागुन २६ गतेसम्म आवेदन दिन सकिने छ । सो अवधिमा सबै सेयर बिक्री नभएका ढिलोमा चैत ७ गतेसम्म आवेदन थप गरिनेछ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरूका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।
२ वर्षमा २३ शाखा/उपशाखा विस्तार
क्रेष्ट माइक्रो लाइफ लाइफ कम्पनी ऐन, २०६३ अनुसार २०७९ पुस १३ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेडको रुपमा दर्ता भएको थियो । बीमा ऐन, २०७९ तथा बीमा विनियमावली, २०४९ अनुसार २०७९ चैत २८ गते नेपाल बीमा प्राधिकरणबाट लघु बीमा सम्बन्धी कारोबार गर्न स्वीकृति प्राएके थियो । कम्पनीले २०८० जेठ २ गते देखि औपचारिक रुपमा लघु जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आइरहेको छ ।
कम्पनीको रजिस्टर्ड कार्यालय सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ६ मा रहेको छ । कम्पनीको प्रादेशिक कार्यालय रमेश कम्प्लेक्स, ललितपुरमा छ । आवश्यकता अनुसार देशका जुनसुकै ठाउँ र विदेशमा समेत शाखा, उपशाखा खोल्न सक्नेछ ।
हाल यस कम्पनीले देशका सातै प्रदेशमा २३ वटा शाखा तथा उपशाखा खोली लघु जीवन बीमा सम्बन्धी कारोबार गर्दै आइरहेको छ ।
समय सापेक्ष अनुसार नयाँ नयाँ लघु जीवन बीमा योजना तथा सेवाहरूको विकास गरी सम्भाव्य ग्राहकहरूको पहिचान गरेर आफ्नो व्यापार विस्तार गर्ने योजना रहेको छ ।
कस्तो छ कम्पनीको वित्तीय अवस्था ?
१ अर्ब रुपैयाँ अधिकृत पूँजी रहेको नेपालको जारी पूँजी ७५ करोड ५० रुपैयाँ रहेको छ । हाल ५२ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले थप पूँजी वृद्धि गर्न कम्पनीले २२ करोड ५० लाख रुपैयाँको आइपीओ जारी गर्न लागेको हो ।
आइपीओपछि कम्पनीको चुक्ता पूँजी ७५ करोड रुपैयाँ पुग्नेछ । कम्पनीमा संस्थापक सेयर होल्डरको स्वामित्व ७० प्रतिशत रहेको छ भने सर्वसाधरणको हिस्सा ३० प्रतिशत रहने छ ।
कम्पनीले चालु आवको पुस मसान्तसम्म ४० लाख १७ हजार लाख रुपैयाँ खुद नाफा कमाएको हो । ५२ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको रिटेन्ड अर्निङमा १ करोड १० लाख रुपैयाँ छ । अदर इक्विटी ७२ लाख ६७ हजार रुपैयाँ छ । चालु आवको पुससम्म कम्पनीले ७ करोड ६० लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको आह्वान पत्र अनुसार चालु आर्थिक वर्षमा ५ करोड ८० लाख, आव २०८२/८३ मा ११ करोड ८५ लाख र २०८३/८४ मा १५ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्ने प्रक्षेपन गरेको छ ।
त्यस्तै, संचित मुनाफा चालु आवमा २ करोड ६९ लाख, आव २०८२/८३ मा ९ करोड ९४ लाख र २०८३/८४ मा १९ करोड ६३ लाख रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ ।
कम्पनीले प्रतिसेयर आम्दानी चालु आवमा ७.७४ रुपैयाँ, आगामी आवमा १५.८१ रुपैयाँ र आव २०८३/८४ मा २०.६५ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ । चालु आवमा १०९.३१ रुपैयाँ रहने प्रतिसेयर नेटवर्थ आगामी वर्ष १२५.१८ रुपैयाँ र आव २०८३/८४ मा १४५.९३ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ ।
कस्तो छ रेटिङ ?
आइपीओ निष्काशनको लागि गराइएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्युअर रेटिङ डबल बी’ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।
आइपीओबाट प्राप्त पैसा कहाँ लगानी गर्छ ?
आइपीओ जारीबाट प्राप्त हुने रकम कम्पनी ऐन, बीमा ऐन तथा अन्य प्रचलित कानुनको अधिनमा रही कम्पनीको व्यवसायिक प्रयोजनमा उपयोग गर्ने कम्पनीले जनाएको छ । त्यसैगरी नेपाल बीमा प्राधिकरणबाट जारी गरिएको नयाँ लगानी निर्देशिकाले विभिन्न पूर्वाधारजन्य क्षेत्रहरू तथा राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रहरूमा लगानीको अवसरहरू प्रदान गरेकोले त्यस्तो क्षेत्रहरूमा लगानी विस्तारका लागि उक्त रकम उपयोगको लागि पहल गर्ने कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार आइपीओबाट प्राप्त हुने २२ करोड ५० लाख रुपैयाँमध्ये ४ करोड ५० लाख रुपैयाँ नेपाल सरकारको जमानत प्राप्त ऋणपत्र तथा बचतपत्रमा, ९ करोड रुपैयाँ मुद्दती निक्षेपमा, ५ करोड ६२ लाख ५० हजार रुपैयाँ बैंक तथा वित्तीय संस्थाले जारी गर्ने ऋणपत्र तथा डिबेञ्चरमा लगानी गर्ने भएको छ ।
त्यसैगरी, ६७ लाख ५० हजार रुपैयाँ सूचीकृत कम्पनीहरूको बण्ड, डिबेञ्चर, ऋणपत्रमा, १ करोड २५ लाख ५० हजार रुपैयाँ नागरिक लगानी कोष तथा म्युचुअल फण्डमा र १ करोड ५७ लाख ५० हजार रुपैयाँ सूचीकृत कम्पनीको साधरण सेयरमा लगानी गर्ने योजना बनाएको छ ।
को-को छन् प्रमोटर सेयर होल्डर ?
कम्पनीको कुल चुक्त पूँजीको ७० प्रतिशत हिस्सा संस्थापक सेयरधनीको रहेको छ । क्रेष्ट माइक्रोमा हिमालयन रि इन्स्योरेन्स, विभिन्न इन्भेष्टमेन्ट कम्पनी तथा व्यवसायी/व्यक्तिहरू प्रमोटर सेयर होल्डरका रूपमा रहेका छन् । कम्पनीमा मुख्यगरी १७ जना प्रमोटर सेयर होल्डर रहेका छन् ।
कम्पनीमा सबैभन्दा धेरै सेयर हिस्सा हिमालयन रि इन्स्योरेन्सकोे छ । कम्पनीमा हिमालयनको ११ करोड २५ लाख रुपैयाँ बराबरको ११ लाख २५ हजार कित्ता सेयर लगानी छ ।
त्यस्तै, कम्पनीमा मेट्रो क्यापिटलको ८ करोड ७२ लाख रुपैयाँ बराबरको ८ लाख ७२ हजार कित्ता सेयर स्वामित्व छ । त्यसैगरी, किशनलाल दुगड र केआरएस इन्भेष्टमेन्टको समान साढे ३ करोड बराबरको ३.५/३.५ लाख कित्ता सेयर छ ।
त्यस्तै, कम्पनीमा श्रद्धा अग्रवालको २ करोड २७ लाख, संगीतादेवी मोरको २ करोड ८ लाख, अनुपम राठीको १ करोड ७५ लाख, सुमन मोर, सुमन मोरको समान १ करोड ५२ लाख, संजय गोल्छा, समृद्धि एण्ड कम्पनी, वैभव एण्ड कम्प्नीको समान १ करोड २५ लाख रुपैयाँ सेयर लगानी छ ।
त्यस्तैगरी, आरएच इन्भेष्टमेन्ट, इफिसियन्ट हाउजिङ, आरएमसी कन्स्ट्रक्सन र शोभाकर न्यौपानेको समान १/१ करोड रुपैयाँ सेयर लगानी रहेको छ । आइपीओ बाँडफाँटपछि सर्वसाधरणको २२ करोड ५० लाख रुपैयाँ लगानी हुनेछ ।