काठमडौं । काठमाडौंको चोभार सुख्खा बन्दरगाहमा तातोपानी नाकाबाट आएका सवारीसाधनको भन्सार जाँचपास सुरू भएको छ ।
यसअघि चोभारबाट दक्षिणी नाका (वीरगञ्ज, विराटनगर लगायत)बाट आएका कन्टेनराइज्ड कार्गो र नयाँ सवारी साधनहरू मात्रै भन्सार जाँचपास हुँदै आएकोमा गत सातादेखि उत्तरी नाका तातोपानी नाकाबाट आएका सवारी साधनको पनि भन्सार जााँचपास सुरू गरिएको हो ।
नेपाल इन्टरमोडल यातायात विकास समितका कार्यकारी निर्देशक आशिष गजुरेलले गत फागुन १५ गतेदेखि तातोपानी नाकाबाट आयात गरिएका सामग्रीको चोभारबाट भन्सार जाँचपास सुरू गरिएको जानकारी दिए ।
उनका अनुसार १५ गते कोभेक/क्रिग/कालिका जोइन्ट भेन्चर कम्पनीले आयात गरेको हाइड्रोपावरको सामान बोकेको ४ वटा कन्टेनरहरू पहिलोपटक तातोपानी नाकाबाट भन्सार जाँचपासको लागि सिधै चोभार सुक्खा बन्दरगाह आइपुगेका हुन् ।
सरकारले यसअघि नै तातोपानी र रसुवागढी नाकाबाट आयात गरिएका सामानको चोभारमा भन्सार जााचपास गर्न सकिने व्यवस्था गरे पनि मालवाहक साधन आएका थिएनन् ।
अर्थ मन्त्रालयले २०८१ कात्तिकमा राजपत्रमा सूचना प्रकाशित गरी तातोपानी र रसुवा भन्सार कार्यालयबाट आन्तरिक परिवहन गरी चोभारस्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा भन्सार जाँचपासको लागि सामान ल्याउन चाहने पैठारीकर्ताको लागि सडक मार्ग तोकेको थियो ।
यसअघि दक्षिणी नाकाहरू वीरगञ्ज, विराटनगर, काँकडभिट्टा र भैरहवा भन्सार कार्यालयबाट मात्र चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँचपासको लागि सामान ल्याउन पाउने व्यवस्था थियो ।
तातोपानी नाकाबाट समेत भन्सार जाँचपासको लागि कन्टेनराइज्ड मालवस्तु आउन थालेपछि चोभार सुक्खा बन्दरगाहमा थप चहलपहल बढ्न थालेको र उक्त सुक्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनको लागि थप टेवा पुग्ने गजुरेलले बताए ।
पर्याप्त भौतिक पूर्वाधार, न्यूनतम सेवा शुल्क लगायत स्तरीय सेवा प्राप्त हुने भएकोले आगामी दिनमा आयात निर्यातकर्ताहरूले नियमित रुपमा मालवाहक सवारी साधन सवारी चोभार आउने गरेको उनले बताए ।
त्यसैगरी, आगामी दिनमा रसुवानाकाबाट पनि भन्सार जाँचपास गर्न सवारी साधन तथा कन्टेनर आउने वातावरण बनेको छ । काठमाडौंमा आयात हुने सामान र काठमाडौं वरिपरीबाट निर्यात गर्न चोभार सुक्खा बन्दरगाहबाट स्तरीय सेवा दिइने हुँदा यस बन्दरगाहको अधिकतम प्रयोग गर्न कार्यकारी निर्देशक गजुरेलले व्यवसायीलाई आग्रह समेत गरेका छन् ।
२०८० चैत २२ गतेदेखि संचालनमा आएको चोभार सुख्खा बन्दरगाह अझै पूर्ण क्षमतामा संचालनमा आउन सकेको छैन ।