‘हाइ क्याप’ कम्पनी उकास्दै सेयर बजार, कारोबार र सूचक ६ महिना यताकै उच्च

काठमाडौं । सेयर बजारमा उछाल आएको छ । बिहीबार हाफ सेन्चुरीको फड्को मारेको नेप्सेले आज ७५ अंकको छलाङ हानेको हो ।

नेप्सेमा लगातार वृद्धि भएको आज नवौं दिन हो । गत फागुन ४ गते यता लगातार बढिरहेका रहेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो । पछिल्ला ९ कारोबार दिनमा नेप्से २११ अंकले बढेको छ ।

नेपाल राष्ट्र बैंकले गत साता मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत लचकता अपनाएपछि लगानीकर्ता उत्साहित हुँदा नेप्सेमा दैनिक उछाल आइरहेको हो ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंकहरूको नाफा बढ्न सहयोग पुग्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले असल कर्जाको प्रोभिजनदर १.१० प्रतिशतबाट घटाएर १ प्रतिशतमा झारेको छ । त्यस्तै, ‘नन् डेलिभरेवल फरवार्ड’मा प्राथमिक पूँजीको २० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था गरेको छ ।

त्यस्तै, लघुवित्तहरूले पनि आगामी जेठदेखि बेसरेटको आधारमा कर्जाको ब्याजदर तय गर्न पाउने व्यवस्था गरेको छ । यी व्यवस्थाले लगानीकर्ता आशावादी बन्दा सूचकमा उच्च वृद्धि भएको हो ।

पछिल्लो समम अधिकांश सूचकहरू सेयर बजार अनुकूल रहेका छन् । बैंकिङ प्रणालीमा इतिहासकै धेरै तरलता कायम छ । ब्याजदर ३ वर्ष यताकै सस्तो भएको छ । नेपाल राष्ट्र बैंकले एकपछि अर्को लचकता अपनाउँदै आएको छ । अन्य क्षेत्रमा कर्जाको खासै माग नहुँदा बैंक तथा वित्तीय संस्थाहरूले पनि सेयर कर्जा लगानीलाई प्राथमिकतामा राखेका छन् । यिनै कारणले गर्दा आगामी दिनमा नेप्सेले नयाँ उचाइ लिने आशामा लगानीकर्ताले धामाधम सेयर किनरिहेको देखिन्छ ।

यसअघि लो क्याप कम्पनीको मात्रै सेयर मूल्य बढ्दै आएको थियो । तर, केही साता यता हाइ क्याप कम्पनीमा लगानीकर्ताको आकर्षण बढ्दो छ । हाइ क्याप कम्पनी चल्न थालेपछि बजारले गति लिने लगानीकर्ताहरूको भनाइ छ । यसअघि लघुवित्त, फाइनान्स लगायत थोरै पूँजी हुने कम्पनीम आकर्ष देखिन्थ्यो । अहिले धेरै पूँजी भएका बैंक, बीमा कम्पनी, पुनर्बीमा, सिमेन्ट लगायत कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

आइतबार नेप्से परिसूचक ७५.२४ अंकले बढेर २८९०.२४ बिन्दुमा पुगेको छ । यो पछिल्लो ६ महिना यताकै उच्च विन्दु हो । आज सूचकसँगै कारोबार रकममा पनि उछाल आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम झण्डै ३ अर्बले बढेर १४ अर्ब २५ करोड रुपैयाँ पुगेको छ ।

आज कारोबारमा आएका १३ वटै समूहमध्ये म्यूचअल फण्ड बाहेक अरु सबै समूहको परिसूकच बढेको छ । फाइनान्स, होटल, उत्पादनमूलक, जीवन बीमा समूह्को परिसूचक ४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज पनि पुनर्बीमा कम्पनीहरूको सेयरमा उच्च आकर्षण देखिएको छ । नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ९७ करोड ५३ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको दोस्रो धेरै ८५ करोड ९३ रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये १९६ कम्पनीको सेयर मूल्य बढेको छ भने ४४ कम्पनीको मूल्य घटेको छ ।

बढ्दो बजारमा आज ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, हिमालयन डिस्ट्रीलरी, नेपाल लाइफ इन्स्योरेन्स, सिन्धु विकास बैंक र दोर्दी खोला जलविद्युत्को सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

आज समाज लघुवित्तका सेयरधनीले भने सर्वाधिक १० प्रतिशत कमाएका छन् । समाजले ग्रामीण विकास लघुवित्तसँग मर्जरमा जाने सम्झौता गरेसँगै यसको मूल्यमा भारी गिरावट आएको हो ।

नो केबलकार समूहलाई वार्तामा आउन गृहमन्त्रीको आग्रह Read Previous

नो केबलकार समूहलाई वार्तामा आउन गृहमन्त्रीको आग्रह

तातोपानी नाकाबाट ल्याइएका सामान चोभारबाटै भन्सार जाँचपास सुरू Read Next

तातोपानी नाकाबाट ल्याइएका सामान चोभारबाटै भन्सार जाँचपास सुरू