वीरगञ्ज नाकाबाट पौने ९ अर्बको धान-चामल आयात

वीरगञ्ज (पर्सा) । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ८ अर्ब ६८ करोड रुपैयाँ मूल्य पर्ने २२ करोड ६४ लाख ८ हजार २२९ किलोग्राम धान आयात भएको छ ।

गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा धानको आयात ७२ प्रतिशतले वृद्धि भएको हो । गत आवको सोही अवधिमा यो नाका हुँदै ४ अर्ब ९१ करोड मूल्य पर्ने १३ करोड १८ लाख ५९ हजार ४१६ किलोग्राम धान आयात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आवको सात महिनामा धान र चामलको आयातमा वृद्धि भएको बताए।

‘गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा धान-चामलको आयात बढेको देखिन्छ,’ उनले भने ।

कृषिप्रधान मुलुक नेपालमा धान मात्र नभएर चामल पनि विदेशी मुलुकबाट आयात हुँदै आइरहेको छ । चालु आवको सात महिनामा यो नाका हुँदै १ अर्ब ३५ करोड रुपैयाँ मूल्यको एक करोड ३३ लाख ७४ हजार ८२६ किलोग्राम चामल आयात भएको छ ।

जबकि गत आवको सोही अवधिमा भने १ अर्ब ६ करोडको ८१ लाख १७ हजार १३० किलोग्राम चामल आयात भएको थियो । चालु आवको सात महिनामा २ अर्ब ९६ करोड मूल्यको पाँच करोड ७७ लाख १४ हजार ५८३ किलोग्राम मकै आयात भएको छ ।

जबकि गत आवको सोही अवधिमा भने २ अर्ब ९७ करोड रुपैयाँ मूल्य पर्ने ६ करोड ६० लाख ४९ हजार ९७२ किलोग्राम मकै आयात भएको थियो । गत आवको तुलनामा चालु आवको सोही अवधिमा मकैको आयातमा भने सामान्य गिरावट देखिएको छ ।रासस

सेयर मूल्य २६०० अन्तर भएका समाज र ग्रामीण विकास लघुवित्त बीच मर्जर सम्झौता Read Previous

सेयर मूल्य २६०० अन्तर भएका समाज र ग्रामीण विकास लघुवित्त बीच मर्जर सम्झौता

नेप्सेको सीईओका लागि दरखास्त दिने म्याद थप Read Next

नेप्सेको सीईओका लागि दरखास्त दिने म्याद थप