काठमाडौं । निर्जीवन बीमा व्यवसायमा सुधार आएको छ । गत आर्थिक वर्षको माघको तुलनामा चालु आवको सोही अवधिमा निर्जीवन बीमा कम्पनीको प्रिमियम संकलन ९.६९ प्रतिशतले बढेको हो ।
नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार चालु आवको माघसम्म १८ निर्जीवन बीमा कम्पनी (१४ निर्जीवन र ४ निर्जीवन लघु बीमा)ले २४ अर्ब ७७ करोड ७० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा २ अर्ब १९ करोड रुपैयाँ धेरै हो । गत वर्ष माघसम्म निर्जीवन बीमा कम्पनीले कुल २२ अर्ब ५८ करोड ७३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए ।
चालु आवको माघसम्म १४ निर्जीवन बीमा कम्पनीले कुल २४ अर्ब २७ करोड ४१ लाख रुपैयाँ र ४ निर्जीवन लघुबीमा कम्पनीले ५० करोड २८ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् । माघ महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरूले ३ अर्ब ४७ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् । यस महिना बीमा कम्पनीहरुले कुल ८ खर्ब ३६ अर्ब रुपैयाँ बीमांक बराबरको बीमा गरेका हुन् ।
चालु आवको माघसम्म निर्जीवन बीमा कम्पनीहरूले कुल १८ लाख २१ हजार ९२७ वटा पोलिसी बिक्री गरेका छन् । यो गत वर्षको माघकोभन्दा १ लाख १८ हजार ९४० वटा धेरै हो । गत वर्ष माघसम्म १७ लाख २ हजार ९८७ वटा पोलिसी बिक्री गरेका थिए ।
पछिल्लो समय अर्थतन्त्रमा क्रमशः सुधार देखिन थालेसँगै निर्जीवन बीमा व्यवसायमा पनि सुधार आएको हो । गत वर्ष घट्दो क्रममा रहेको निर्जीवन बीमा व्यवसायमा चालु वर्षमा भने महिनैपिच्छे बढ्दो क्रममा छ ।
मुख्यगरी निर्जीवन बीमा व्यवसायको एकतिहाई हिस्सा ओगट्ने सवारीसाधनको बिक्रीमा सुधार आउँदा समग्र बीमा व्यवसायमा सुधार आएको हो । त्यस्तै, सम्पत्ति बीमा गर्ने बढ्दा पनि व्यवसायमा सुधार देखिएको हो ।
यद्यपि, यस वर्ष बीमा कम्पनीहरूले व्यवसाय बढाए पनि दायित्व पनि ह्वात्तै बढेको लछ । गत असोज दोस्रो साता आएको बाढीपहिरोका कारण १३ अर्ब रुपैयाँ बढीको दाबी परेको छ । यो बीमा कम्पनीहरूको ३ महिनाको व्यवसाय बराबर हो ।
शिखरलाई टक्कर दिँदा सलिको
निर्जीवन बीमा कम्पनी मध्ये व्यवसाय लिड गर्न मुख्य गरी दुई कम्पनीहरू बीच मुख्य प्रतिस्पर्धा देखिएको छ । शिखर र सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) बीच कडा टक्कर देखिएको हो । त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स पनि प्रतिस्पर्धामा देखिएको छ ।

माघसम्म शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै ३ अर्ब १३ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । शिखरलाई पछ्याएको सगरमाथा लुम्बिनीले २ अर्ब ९३ करोड रुपैयाँको व्यापार गर्दै दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै, सिद्धार्थ प्रिमियर बीमा शुल्क संकलनमा तेस्रो स्थानमा रहेको छ । ७ महिनामा सिद्धार्थले २ अर्ब ४४ करोड रुपैयाँ बीमा शुल्क उठाउँदै तेस्रो धेरै व्यवसाय गर्ने कम्पनी बनेको छ ।
त्यसैगरी, आइजीआई प्रुडेन्सियलले २ अर्ब २ करोड, नेकोले १ अर्ब ९५ करोड, हिमालयन एभरेष्टले १ अर्ब ९२ करोड, एनएलजीले १ अर्ब ६२ करोड, दी ओरेन्टलले १ अर्ब ५२ करोड, युनाइटेडले १ अर्ब ५२ करोड, सानिमा जनरलले १ अर्ब ३८ करोड, नेपाल इन्स्योरेन्सले १ अर्ब २५ करोड, प्रभु इन्स्योरेन्सले १ अर्ब ३ करोड र राष्ट्रिय बीमा कम्पनीले ९४ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ ।
माघसम्म नेशनलले सबैभन्दा कम ६९ करोड ३४ लाख रुपैयाँको व्यवसाय गरेको छ ।
व्यवसाय बढाउँदै लघुबीमा कम्पनी
लघुबीमा कम्पनीहरूले पनि आफ्नो व्यवसाय बढाउँदै लगेका छन् । गत असारसम्म कुल निर्जीवन बीमा व्यवसायमा लघुबीमा कम्पनीहरूको हिस्सा १ प्रतिशतभन्दा कम रहँदै आएकोमा चालु आवको माघ आइपुग्दा झण्डै २ प्रतिशत पुर्याएका छन् ।
४ निर्जीवन लघुबीमा कम्पनीले माघसम्म ५० करोड २८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । यो कुल निर्जीवन बीमा व्यवसायको २.०२ प्रतिशत हो ।
अघिल्लो वर्षदेखि संचालनमा आएका लघुबीमा कम्पनीहरूले क्रमशः आफ्नो व्यवसाय बढाउँदै लगेका हुन् । माघसम्म नेपाल माइक्रो इन्स्योरेन्सले १४ करोड ६८ लाख, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले १२ करोड ४९ लाख, स्टार माइक्रो इन्स्योरेन्सले ११ करोड ६६ लाख र ट्रष्ट माइक्रो इन्स्योरेन्सले ११ करोड ४३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।