सवा ३ अर्बमा घोराही-तुलसीपुर सडक ४ लेन बनाइँदै, बोलपत्र आह्वान

सांकेतिक तस्वीर

दाङ । दाङको घोराही-तुलसीपुर जोड्ने चार लेनको सडक निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ ।

भारतीय एक्जिम बैंकको ऋण लगानीमा निर्माण हुने उक्त सडकको ठेक्का ६ वर्षअघि भारतीय कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टले पाएको थियो । तर उक्त कम्पनीले अन्य नेपाली ठेकेदार कम्पनीलाई जिम्मा लगाएपछि सडक निर्माणले गति लिन सकेको थिएन ।

पछिल्लो पटक २०७८ साल फागुन २६ गतेदेखि श्रेष्ठ कन्स्ट्रक्सनलाई सडक निर्माणको जम्मेवारी दिइएको थियो । उक्त कम्पनीले पनि सडकका दायाँबायाँ ठुल्ठूला खाल्डा बनाएर काम छाडेको भन्दै चौतर्फी विरोध भएपछि नेपाल सरकारले उक्त ठेक्का सम्झौता तोडेको थियो ।

अहिले पुनः नेपाल सरकारकै लागतमा मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले ठेक्का आह्वान गरेको हो । आयोजनाको लागत ३ अर्ब १९ करोड रुपैयाँ रहेको छ ।

मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयका निर्देशक इन्जिनियर दीप बाराहीका अनुसार यही फागुन ३० गतेसम्म आवेदन गर्ने अवधि छ । उनका अनुसार विगतजस्तो कतै चार लेन र कतै दुई लेन नभइ सबै खण्डमा चार लेनको सडक हुनेछ ।

विगतमा बजार क्षेत्रमा दुई लेन मात्रै सडक बनाउने प्रस्ताव थियो । घोराहीको डिके पेट्रोलपम्पदेखि तुलसीपुरको हातीखौवासम्मको २१ किलोमिटर सडक खण्ड ३० मिटर चौडाइको हुनेछ । सम्झौता भएको ३६ महिनाभित्र काम सक्ने गरी आयोजनाको काम अघि बढ्नेछ ।

शिवरात्रीमा सवारी व्यवस्थापनमा ८९० ट्राफिक खटाइने, यी ठाउँमा निःशुल्क पार्किङ Read Previous

शिवरात्रीमा सवारी व्यवस्थापनमा ८९० ट्राफिक खटाइने, यी ठाउँमा निःशुल्क पार्किङ

निर्जीवन बीमा व्यवसाय १० प्रतिशत बढ्यो, शिखरलाई टक्कर दिँदै सलिको Read Next

निर्जीवन बीमा व्यवसाय १० प्रतिशत बढ्यो, शिखरलाई टक्कर दिँदै सलिको