बढ्न थाल्यो पेट्रोलियम पद्धार्थको खपत, सरकारले पायो साढे ६२ अर्ब राजस्व

काठमाडौं । चालु आर्थिक वर्षमा पेट्रोलियम पद्धार्थको खपत बढेको छ । पछिल्लो समय क्रमशः आर्थिक गतिविधि बढ्न थालेसँगै सबैखाले पेट्रोलियम पद्धार्थको खपत बढ्न थालेको हो ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आवको ७ महिना (साउन-माघ) मा डिजेल, पेट्रोल, मट्टीतेल, खाना पकाउने एलपी ग्यासको खपत बढेको छ । गत वर्ष माघको तुलनामा चालु वर्षमा पेट्रोलियम पद्धार्थको खपत औसतमा ९.८३ प्रतिशतले बढेको छ ।

चालु वर्षमा मट्टीतेलको खपत सबैभन्दा धेरै २१.५३ प्रतिशतले बढेको छ । माघसम्म ७ हजार ४२८ किलोलिटर मट्टीतेल खपत भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १ हजार ३१६ किलोलिटर धेरै हो । गत वर्ष माघसम्म ६ हजार ११२ किलोलिटर डिजेल आयात भएको थियो ।

त्यसैगरी, समीक्षा अवधिमा पेट्रोलको खपत १०.७३ प्रतिशतले बढेको छ । माघसम्म ४ लाख ३३ हजार ४४६५ किलोलिटर पेट्रोल आयात भएको छ । गत वर्षको तुलनामा चालु आवमा पेट्रोल खपत ४१ हजार ९९९ किलोलिटर बढेको छ । गत वर्ष सोही अवधिमा ३ लाख ९१ हजार ४४७ किलोलिटर आयात भएको थियो ।

चालु वर्षमा खाना पकाउने एलपी ग्यासको आयात ५.१४ प्रतिशतले बढेको छ । गत वर्ष माघसम्म २९ करोड ८९ लाख किलो एलपी ग्यास आयात भएकोमा चालु वर्षको सोही अवधिमा ३१ करोड ४३ लाख किलो आयात भएको छ । गत वर्षको तुलनामा चालु वर्षमा १ करोड ५३ लाख किलो धेरै ग्यास आयात भएको छ ।

चालु आवमा डिजेल खपत १.२९ प्रतिशतले बढेको छ । गत वर्ष माघसम्म ७ लाख २९ हजार ७५२ किलोलिटर डिजेल आयात भएकोमा चालु आवमा बढेर ७ लाख ३९ हजार १४७ किलोलिटर आयात भएको छ । चालु वर्ष ९ हजार ३९५ किलोटिर धेरै डिजेल आयात भएको हो ।

त्यस्तै, हवाई इन्धन खपत पनि १०.४४ प्रतिशतले बढेको छ । चालु आवमा १ लाख २१ हजार ५९७ किलोलिटर हवाई इन्धन आयात भएको छ । यो गत वर्षको यही अवधिको तुलनामा ११ हजार ४९७ किलोलिटर धेरै हो ।

पछिल्लो समय अर्थतन्त्र क्रमशः चलायमान हुन थालेकाले इन्धनको खपत बढेको नेपाल आयल निगमले जनाएको छ । निर्माण गतिविधि बढ्न थालेकाले सिमेन्ट, डण्डी लगायत उद्योग संचालन अवधि बढ्दा डिजेलको खपत बढेको हो । कतिपय उद्योगहरूले नियमित बिजुली नपाउँदा पनि डिजेल खपत बढेको हो । त्यस्तै, विकास आयोजनामा स्काभेटर, ट्रिपर लगायत उपकरण प्रयोग बढ्न थालेकाले डिजेलको खपत बढेको हो ।

त्यस्तै, चालु आवमा ईभीको आयात बढे पनि पर्यटकीय क्षेत्र चलायमान हुँदा र आममानिसको गतिविधि बढ्दा पेट्रोलको पनि खपत बढेको हो ।

पछिल्लो समय पर्यटन व्यवसाय गुल्जार हुँदा खाना पकाउने ग्यासको खपत बढेको हो । पर्यटकीय गतिविधि बढ्दा होटल तथा रेष्टुरेन्टहरू पूर्ण क्षमतामा संचालन हुन थालेका छन् । पछिल्लो समय इन्डक्सन चुल्होको प्रयोग बढे पनि होटलमा ग्यासको प्रयोग बढ्दा खपत बढेको हो ।

विदेशिने रकम भने घट्यो

चालु वर्षको पेट्रोलियक पद्धार्थको आयात बढे पनि विदेशिने रकम भने ४.९४ प्रतिशतले घटेको छ । गत वर्ष ७ महिनामा इन्धन खरिदका लागि कुल १ खर्ब ५९ अर्ब २० करोड रुपैयाँ विदेशिएको थियो भने चालु आवको सोही अवधिमा १ खर्ब ५१ अर्ब ३२ करोड बाहिरिएको छ ।

चालु वर्षमा इन्धन खरिदका लागि गत वर्षकोभन्दा ७ अर्ब ८८ करोड रुपैयाँ कम बाहिरिएको हो । आयात बढे पनि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पद्धार्थको मूल्य घट्दा विदेशिने रकम घटेको हो । गत वर्षको तुलनामा चालु वर्षमा विश्व बजारमा कच्चा तेलको भाउ सस्तिँदा विदेशिने रकम घटेको हो ।

आयात बढ्दा सरकारलाई ३ अर्ब फाइदा

पेट्रोलियम पद्धार्थको खपत बढ्दा सरकारलाई पनि फाइदा भएको छ । आयात बढेकोले सरकारले पाउने राजस्व पनि बढेको हो ।

गत वर्षको माघको तुलनामा चालु वर्षमा सरकारले पेट्रोलियम पद्धार्थ आयात बापत २ अर्ब ९७ करोड रुपैयाँ धेरै राजस्व पाएको छ । गत वर्ष माघसम्म इन्धन आयातबापत सरकारले ५९ अर्ब ५९ करोड रुपैयाँ राजस्व पाएको थियो भने चालु वर्षको सोही अवधिमा ६२ अर्ब ५६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

चालु वर्षमा डिजेल आयातबाट सबैभन्दा धेरै २९ अर्ब ४५ करोड, पेट्रोलबाट २४ अर्ब ५८ करोड, हवाई इन्धनबाट १ अर्ब ७२ करोड र खाना पकाउने एलपी ग्यासबाट ६ अर्ब ६१ करोड राजस्व असुली गरेको छ ।

फागुन २० देखि आइपीओ बिक्री गर्दै पियोर इनर्जी Read Previous

फागुन २० देखि आइपीओ बिक्री गर्दै पियोर इनर्जी

सम्पदा लघुवित्तका सेयरधनीको पनि हात खाली, लाभांश नदिने Read Next

सम्पदा लघुवित्तका सेयरधनीको पनि हात खाली, लाभांश नदिने