काठमाडौं । ६ वाणिज्य बैंकहरूको चुक्ता पूँजीभन्दा जगेडा कोषको आकार ठूलो रहेको छ । बैंकहरूले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार २० बैंकमध्ये ६ बैंकको चुक्ता पूँजीभन्दा जगेडा कोषको आकार ठूलो देखिएको हो ।
आफ्नो पूँजीभन्दा जगेडा कोष धेरै हुनेमा २ वटा सरकारी र ४ वटा निजी क्षेत्रका बैंक रहेका छन् । जसमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको जगेडा कोषमा सबैभन्दा धेरै रकम संचित छ । यस बैंकको जगेडा कोषको आकार चुक्ता पूँजीको तुलनामा झण्डै अढाई गुणा ठूलो अर्थात् ३७ अर्ब २० करोड रुपैयाँ छ । यसको चुक्ता पूँजी १५ अर्ब ६४ करोड रुपैयाँ छ ।
त्यसैगरी, २७ अर्ब ६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको नबिल बैंकको जगेडा कोषमा ३० अर्ब ३० करोड रुपैयाँ संचित छ । यो वाणिज्य बैंकहरूमा दोस्रो धेरै हो । नबिल वासलतका अधिकांश सूचकमा अब्बल रहेको छ । पुससम्म नबिलले सबैभन्दा धेरै ३ अर्ब ४९ करोड रुपैयाँ नाफा कमाएको छ ।
सरकारी स्वामित्वकै नेपाल बैंक पनि जगेडा कोषका आधारमा निकै बलियो रहेको छ । १४ अर्ब ६९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको नेपाल बैंकको जगेडा कोषमा २३ अर्ब १९ करोड रुपैयाँ संचित छ ।
अधिकांश सूचकमा खस्कँदो क्रममा रहेको एनआइसी एशियाको जगेडा कोषमा भने बलियो रहेको छ । १४ अर्ब ९२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको एनआइसीको जगेडा कोषमा १७ अर्ब ४१ करोड रुपैयँँ संचित छ ।
त्यस्तै, विदेशी स्वामित्वको एभरेष्ट बैंकको पनि जगेडा कोष पूँजीभन्दा धेरै छ । १२ अर्ब ९४ करोड चुक्ता पूँजी रहेको एभरेष्टको जगेडा कोषमा १३ अर्ब ३२ करोड रुपैयाँ संचित छ ।

निजी क्षेत्रकै सिद्धार्थ बैंकको पनि जगेडा कोष पूजी बराबर नै रहेको छ । १४ अर्ब ९ करोड चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १४ अर्ब २५ करोड रुपैयाँ संचित छ ।
१४ बैंकको भने जगेडा कोषको आकार चुक्ता पूँजीभन्दा कम रहेको छ । चुक्ता पूँजीको आधारमा सबैभन्दा ठूलो रहेको ग्लोबल आइएमईको जगेडा कोषमा २३ अर्ब ६७ करोड रुपैयाँ संचित छ । ग्लोबलको चुक्ता पूँजी ३८ अर्ब ११ करोड रुपैयाँ छ ।
पूँजीका आधारमा दोस्रो ठूलो बैंक नेपाल इन्भेष्टमेन्टको जगेडा कोषमा ३१ अर्ब ८९ करोड संचित छ । यो २० बैंकमध्ये दोस्रो धेरै रकम हो । यसको चुक्ता पूँजी ३४ करोड १३ लाख रुपैयाँ छ ।
हिमालयन र स्ट्याण्डर्ड चार्टड पनि जगेडा कोषमा बलियो नै देखिएका छन् । यी तीनै बैंकको जगेडा कोषको आकार चुक्ता पूँजीभन्दा थोरै मात्र कम छ ।
जगेडा कोषका आधारमा दुई बैंक भने निकै कमजोर देखिएका छन् । सिटिजन्स र सानिमाको जगेडा कोषको आधार चुक्ता पूँजीको तुलनामा आधाभन्दा कम छ । १४ अर्ब ७६ करोड चुक्ता पूँजी रहेको सिटिजन्सको जगेडा कोषमा ७ अर्ब २८ करोड र १३ अर्ब ५८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको सानिमाको जगेडामा ६ अर्ब २ करोड रुपैयाँ मात्र संचित छ ।
पुस मसान्तसम्म बैंकहरूको कुल जगेड कोषको आकार ३ खर्ब ३१ अर्ब रुपैयाँ रहेको छ । औसतमा एउटा वाणिज्य बैंकको जगेडा कोषमा १६ अर्ब ५७ करोड रुपैयाँ संचित छ । बैंकहरूको कुल चुक्ता पूँजी ३ खर्ब ८५ अर्ब रुपैयाँ छ ।
जगेडा कोष भन्नाले संस्थाको नाफा वा मुनाफाबाट छुट्टाइएको रकम वा सो रकमबाट खडा गरेको कोषहरूलाई जनाउँदछ । जगेडा संस्थाको वित्तीय अवस्था सुदृढ गर्नको लागि तथा भैपरि आउने दायित्वहरूको लागि मुनाफाबाट समायोजन गरी खडा गरिन्छ । जगेडामा रकम छुट्याउँदा संस्थाको आन्तरिक वित्तीय क्षमता बढ्न जान्छ । तर, यसले सेयरधनीले लाभांशको रूपमा प्राप्त गर्ने रकममा कमी ल्याउँदछ । यद्यपि, जगेडाको रकममा सेयरधनीहरूकै हक अधिकार रहन्छ ।
कुनै पनि कम्पनीमा लगानी गर्नुअघि लगानीकर्ताले ध्यान दिनु पर्ने मुख्य सूचक हो जगेडा कोष । यो कोषको आकार जति बलियो हुन्छ, त्यति संस्थाहरूको जोखिम वहन क्षमता मजबुत भएको मानिन्छ। सामान्यतया बैंक तथा वित्तीय संस्थाहरूले नाफाको २० प्रतिशत रकम जगेडा कोषमा राख्ने गर्छन् ।