चिनियाँ एआइ डिपसिकले मच्चायो तहल्का, अमेरिकी कम्पनीको सेयर मूल्यमा भारी गिरावट

काठमाडौं । चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) कम्पनी ‘डिपसिक’ ले विश्व प्रविधि क्षेत्रमा तहल्का मच्चाएको छ । औपचारिक रुपमा संचालनमा आएको एक सातामै डिपसिकले अमेरिकी एआइ कम्पनीहरुलाई उछिन्दै सनसनी मच्चाएको हो ।

चिनियाँ कम्पनी डिपसिकले अमेरिकी प्रतिद्वन्द्वीहरूको तुलनामा धेरै कम खर्च गरेर झन्डै उत्तिकै राम्रो काम गर्ने क्षमता देखाउनुले पनि यसको चर्चा बढेको हो। डिपसिकले आफ्नो नयाँ एआइ मोडल विकास गर्न जम्मा ५६ लाख डलर मात्र खर्च भएको जनाएको छ ।

डिपसिक हाल अमेरिकामा एप्पलको एपस्टोरमा सबैभन्दा लोकप्रिय निःशुल्क एप बनेको छ । यसले अमेरिकी चर्चित एआइ च्याट जीपीटीलाई समेत पछि पारेको छ ।

सीएनएनका अनुसार सोमबार डिपसिक एआइ एसिस्टेन्सको उभारपछि अमेरिकाका प्रविधि कम्पनीहरूको सेयरमा गिरावट आएको थियो । एक वर्षअघि स्थापना भएको सो स्टार्टअप कम्पनीले ‘आरवान’ नामक च्याटजीपीटीजस्तै एआइ मोडेल निर्माण गरेको छ । र, यो ओपेनएआइको च्याटजीपीटी, गुगल र मेटाका नयाँ एआइ मोडलभन्दा निकै सस्तो मूल्यमा सञ्चालन हुने भएकाले यसले सबैलाई चुनौती दिएको विश्लेषण भइरहेका छन् ।

अहिले एआइमा काम गरिरहेका अमेरिकी कम्पनीहरूको सेयर मूल्यमा व्यापक कमी आएको छ। एआइ प्रविधिका लागि उच्च गुणस्तरको चिप्स बनाउने अमेरिकी कम्पनी एनभिडियाको सेयर मूल्य एक दिनमै ३ खर्ब डलर (११ प्रतिशत) घटेको फाइनान्सियल टाइम्सले लेखेको छ। यो कुनै पनि कम्पनीका लागि एक दिनमा आएको अहिलेसम्मकै ठूलो गिरावट हो।

त्यस्तै, युरोपेली चिप्स उपकरण निर्माता एएसएमएलको सेयर मूल्य पनि १० प्रतिशत घटेको छ। माइक्रोसफ्ट ६ प्रतिशत घटेको छ भने मेटा ५ प्रतिशत तल झरेको छ। यसले सूचना प्रविधिका कम्पनीहरूको सेयर कारोबार हुने न्यास्ड्याक परिसूचक ४.२ र एसएन्डपी २.४ प्रतिशत तल झर्ने अवस्था आएको फाइनान्सियल टाइम्सले जनाएको छ।

यो गिरावट कायम रहने हो भने अमेरिकी र युरोपेली कम्पनीहरूको बजार मूल्य १२ खर्ब डलरसम्म घट्न सक्छ भनेर ब्लुमबर्गले लेखेको छ।

विश्लेषकहरूले डिपसिकको उदयलाई तत्कालीन सोभियत संघले सन् १९५७ मा स्पुतनिक भू-उपग्रह अन्तरिक्षमा पठाएर अन्तरिक्ष होडमा अमेरिकामाथि अग्रता हासिल गरेको घटनासँग तुलना गरेका छन्। अमेरिकी भेन्चर क्यापिटलिस्ट एवं ट्रम्पका सल्लाहकारसमेत रहेका मार्क एन्डरसनले यो घटनालाई ‘एआईको स्पुतनिक क्षण’ का रूपमा टिप्पणी गरेको बीबीसीले जनाएको छ ।

हिमालयन लघुवित्तको नाफा ५ गुणाले बढ्यो, प्रतिसेयर आम्दानी कति ? Read Previous

हिमालयन लघुवित्तको नाफा ५ गुणाले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

जगेडा कोषका आधारमा ६ बैंक 'निकै' बलिया, चुक्ता पूँजीभन्दा ठूलो छ आकार Read Next

जगेडा कोषका आधारमा ६ बैंक 'निकै' बलिया, चुक्ता पूँजीभन्दा ठूलो छ आकार