काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाको खुद नाफा झण्डै ५ गुणाले बढेको छ । लघुवित्तले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/२२ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ३९५.६८ प्रतिशतले बढेकोे हो ।
लघुवित्तले चालु आवको पुस मसान्तसम्ममा २ करोड ६० लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आवको सोही अवधिको २ करोड ८ लाख रुपैयाँ धेरै हो । लघुवित्तले गत वर्ष पुस मसान्तसम्म ५२ लाख ५८ हजार रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी र संचालन नाफा बढेकाले नाफामा उल्लेख्य सुधार आएको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३०.१७ प्रतिशतले बढेर १५ करोड ३३ लाख रुपैयाँ पुगेको छ । लघुवित्तको संचालन मुनाफा ३९५.६८ प्रतिशतले बढेर ३ करोड ७३ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा लघुवित्तले १ अर्ब १ करोड रुपैयाँ निक्षेप संकलन र ४ अर्ब ३६ करोड रुपैयाँ सापटी लिई कुल ४ अर्ब ६९ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।
हाल ३१ करोड ९८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको सेयर प्रिमियमा ४ करोड ५५ लाख र जगेडा कोषमा १२ करोड रुपैयाँ संचित छ । लघुवित्तको वितरण योग्य नाफा भने २९ लाख ६० हजार ऋणात्मक छ ।
नाफा बढेसँगै लघुवित्तको प्रतिसेयर आम्दानीमा पनि उल्लेख्य वृद्धि भएको छ ।समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ३.२९ रुपैयाँबाट बढेर १६.३० रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १२३.२७ रुपैयाँ छ ।
यस अवधिमा लघुवित्तको खराब कर्जा ३.५९ प्रतिशतबाट बढेर ५.६२ प्रतिशत पुगेको छ । खराब कर्जा बढ्दा लघुवित्तको इम्पेयरमेन्ट चार्ज ४९.७९ प्रतिशतले बढेर ११ करोड ७३ लाख रुपैयाँ पुगेको छ ।