सहुलियतपूर्ण कर्जा अन्तर्गत बैंक तथा वित्तीय संस्थाले गरे ४७ अर्ब लगानी

काठमाडौं । सरकारले युवा उद्यमशीलता प्रवर्द्धन गर्ने र स्वरोजगार बनाउने उद्देश्यसहित ल्याएको सहुलियतपूर्ण कर्जामा बैंक तथा वित्तीय संस्थाले करिब साढे ४७ अर्ब लगानी गरेका छन् ।

 

नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले सहुलियत कर्जाअन्तर्गत  ४७ अर्ब ३१ करोड ४१ लाख ८६ हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस अवधिमा कूल २० हजार ८६९ जनाले बैंक तथा वित्तीय संस्थाहरुबाट यस्ताे  कर्जा लिएका छन् ।

 

सहुलियतपूर्ण कर्जामा सबैभन्दा धेरै वाणिज्य बैंकहरुले लगानी गरेका छन् । हाल सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले मात्रै २० हजार १३७ ऋणीलाई ४४ अर्ब ६० करोड ४ लाख ५६ हजार रुपैयाँ कर्जा लगानी गरेका छन् ।

 

सहुलियतपूर्ण कर्जाको अधिकांश रकम कृषि क्षेत्रमा प्रवाह भएपछि गत महिना राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र गर्दै अनिवार्य जारी गर्नु पर्ने कर्जाको संख्या तोकेको थियो । जस अनुसार चालू आव भित्र कृषि बाहेकका क्षेत्रमा वाणिज्य बैंकले ५ सय, विकास बैंकले २ सय र फाइनान्स कम्पनीले १ सय वटा कर्जा जारी गर्नुपर्नेछ ।

 

यस्तै ‘ख’ वर्गका विकास बैंकहरुले सहुलियतपूर्ण कर्जाअन्तर्गत २ अर्ब ५४ करोड ४९ लाख ३७ हजार रुपैयाँ ऋण प्रवाह गरेका छन् । विकास बैंकबाट ७१६ जनाले सहुलियतपूर्ण ऋण लिएका छन् ।

 

कात्तिक मसान्तसम्ममा १६ जनाले फाइनान्स कम्पनीहरुबाट १६ करोड ८७ लाख ९३ हजार रुपैयाँ सहुलियतपूर्ण कर्जा लिएका छन् ।

 

सहुलियतपूर्ण कर्जाको ९७ प्रतिशत रकम कृषिमा

 

सहुलियत कर्जा लिने कूल २० हजार ८६९ मध्ये ९० प्रतिशत अर्थात् १८ हजार ७४३ जनाले कृषि तथा पशुपन्छी शीर्षकमा कर्जा लिएका छन् । यो कर्जामा बैंक तथा वित्तीय संस्थाहरुले ४५ अर्ब ९३ करोड ५१ लाख २९ हजार रुपैयाँ लगानी गरेका छन् । यो कूल कर्जा लगानी रकमको ९७ प्रतिशत हो ।

कात्तिकसम्ममा २ हजार १२६ जनाले अन्य विभिन्न शीर्षकमा १ अर्ब ३७ करोड ९० लाख ५७ हजार सहुलियत कर्जा लिएका छन् । जसमा १ हजार ६७५ जनाले महिला उद्यमशीलता कर्जा अन्तर्गत १ अर्ब १५ करोड ७७ लाख ८५ हजार ऋण लिएका छन् । ३८ जनाले शिक्षित युवा स्वरोजगार कर्जाअन्तर्गत २ करोड १५ लाख ५० हजार, ८७ जनाले विदेशबाट फर्केका युवा परियोजना अन्तर्गत ६ करोड ७० लाख ७१ हजार रुपैयाँ कर्जा लिएका छन् ।

 

यस्तै, ६० जनाले उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा अन्तर्गत २ करोड १७ लाख ९४ हजार, ११७ जनाले दलित समुदाय व्यवसाय विकास कर्जाअन्तर्गत ६ करोड ९८ लाख ७०हजार र १३९ जनाले भूकम्पपीडितका लागि निजी आवास कर्जा ४ करोड ९ लाख ८७ हजार कर्जा लिएका छन् ।

 

सहुलियतपूर्ण कर्जाको अधिकांश रकम कृषि क्षेत्रमा मात्र प्रवाह भएपछि गत महिना राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र गर्दै अनिवार्य जारी गर्नु पर्ने कर्जाको संख्या तोकेको थियो । नयाँ निर्देशन अनुसार ‘क’ वर्गका वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षभित्र कम्तीमा पनि ५ सयवटा यस्ता कर्जा प्रवाह गर्नु पर्नेछ ।

 

त्यस्तै, ‘ख’ वर्गका विकास बैंकहरूले कम्तीमा २ सयवटा र ‘ग’ वर्गका वित्त कम्पनीहरूले कम्तीमा १ सय यस्तो कर्जा जारी गरेको हुनुपर्छ ।यसरी जारी गर्ने कर्जा सहुलियत कर्जाअन्तर्गतको कृषि तथा पशुपक्षी कर्जाबाहेक अन्य शीर्षकमा जारी गर्नुपर्नेछ ।

 

यसरी जारी गर्ने कर्जा सहुलियत कर्जाअन्तर्गतको कृषि तथा पशुपक्षी कर्जाबाहेक अन्य शीर्षकमा जारी गर्नुपर्नेछ ।

 

कुन-कुन शीर्षकमा लिन पाइन्छ सहुलियतपूर्ण कर्जा

 

सरकारले युवा उद्यमशीलता प्रवर्द्धन गर्ने र स्वरोजगार बनाउने उद्देश्यसहित ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५’ बनाई ब्याज अनुदान सहित विभिन्न ७ शीर्षकका सहुलियत कर्जा लिन पाउने व्यवस्था गरेको थियो । कार्यविधि संशोधन गरी हाल ९ शीर्षकमा कर्जा लिन पाइने व्यवस्था गरेको छ ।

 

ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि अनुसार व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, महिला उद्यमशील कर्जा, दलित समुदाय व्यावसाय विकास कर्जा, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा, भूकम्पपीडितको निजी आवासा निर्माण कर्जामा सहुलियत ऋण दिने व्यवस्था गरेको छ ।

 

हालै राष्ट्र बैंकले कपडा उद्योग संचालन गर्न र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट मान्यताप्राप्त संस्थाबाट लिइने तालिमका लागिसमेत सहुलियतमा कर्जा पाइने व्यवस्था गरेको हो ।

 

बैंकर्स संघको नयाँ कार्य समितिद्वारा पदभार ग्रहण Read Previous

बैंकर्स संघको नयाँ कार्य समितिद्वारा पदभार ग्रहण

नबिल बैंक र भारतको आइसीआइसीआइ बैंकबीच सम्झौता Read Next

नबिल बैंक र भारतको आइसीआइसीआइ बैंकबीच सम्झौता