नबिल बैंक र भारतको आइसीआइसीआइ बैंकबीच सम्झौता

काठमाडौं । नबिल बैंक र भारतको आइसीआइसीआइ बैंकले आपसमा सहकार्य गर्ने गरी सम्झौता गरेका छन् ।

 

दुई देशका ठूला वाणिज्य बैंकबीच सहकार्य तथा व्यापार, विप्रेषण (रेमिट्यान्स), ट्रेजरी (कोष) लगायत विविध व्यावसायिक सम्बन्धलाई थप बलियो बनाउने फ्रेमवर्क (ढाँचा) सिर्जना गर्ने गर्ने सहमति भएको हो ।

 

यससम्बन्धि समझदारीपत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र आईसीआईसीआई बैंकका इन्टरनेसनल फाइनान्सियल इन्स्टिच्युसन ग्रुप प्रमुख रञ्जु सिगटियाले हस्तारक्षर गरे ।

 

सम्झौतापछि दुई बैंकले आफ्ना ग्राहकको व्यापार तथा ट्रेजरी आवश्यकतामा निर्वाध सहयोग गर्न आपसमा निकट सहकार्यका साथ काम गर्नेछन् । नबिल बैंकले निजी क्षेत्रबाट सञ्चालित ठूलो बैंकमध्ये एक हो भने आईसीआईसीआई बैंक बैंकिङ तथा फ्रान्चाइज विस्तारमा विशिष्टता हासिल गरेको बैंक हो ।

 

यसकारण दुवै बैंक यस सहमतिमार्फत सहकार्यका लागि एकसाथ हुँदा हासिल युक्त शक्तिको प्रभावकारी रूपमा लाभ उठाउन यस सम्झौताले दुवै बैंकलाई सक्षम बनाउने नबिल बैंकको दाबी छ । बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले भने, “आईसीआईसीआई बैंकसँग साझेदारी गर्न पाउँदा हामीलाई गर्व लागेको छ । यो समझदारीले नबिल बैंक र आईसीआईसीआई बैंकबीच अनुभव आदान-प्रदान र नेटवर्क सञ्जाललाई थप बलियो बनाउन प्लेटफर्म सिर्जना गर्नेछ ।” खासगरी भारतसँग व्यापार गरिरहेका नबिल बैंकका ग्राहकलाई यसबाट लाभ मिल्ने उनको दाबी छ ।

 

त्यस अवसरमा आईसीआईसीआईकी प्रतिनिधि सिगटियाले भनिन्, “भारतसँग नेपालको व्यापार तथा लगानी करिडोर बलियो र बढ्दो क्रममा छ । आईसीआईसीआई बैंकले साझेदार बैंकहरूसँग उनीहरूका नेपाली ग्राहकलाई आईसीआईसीआई बैंकको उपस्थिति भएका भारत तथा अन्य मुलुकका स्थानसम्म जोड्न सक्रिय रूपमा काम गरिरहेको छ ।” बढ्दो भारत-नेपाल आर्थिक करिडोरमा बैंकको सहभागिता निरन्तर बढाउने प्रतिबद्धताअनुरूप यो सम्झौतापत्रमा हस्ताक्षर गरेको उनले बताइन् ।

 

नबिल बैंकको नेपालभर ९७ शाखा कार्यालय तथा १ सय ४३ एटीएम काउन्टर छन् । नेपाली बैंकिङ क्षेत्रमा थुप्रै नव–प्रवर्तनात्मक उत्पादन तथा मार्केटिङ अवधारणा थालनी गर्ने बैंक अग्रणाी स्थानमा छ ।

 

यसैगरी आइसीआइसीआइ बैंकको भारतमा ५ हजार २ सय २८ शाखा तथा १५ हजार १ सय ५९ एटीएम काउन्टर छन् । बैंकले इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र फोन बैंकिङलगायत मल्टी–च्यानल डेलिभरी नेटवर्कमार्फत ठूलो संख्यामा रहेका आफ्ना ग्राहक कस्टुमर बेस) लाई सेवा दिँदै आएको छ ।

 

बैंकको उपस्थिति १५ देशमा छ । बैंक नेपालमा प्रतिनिधि कार्यालय खोल्ने क्रममा छ ।

सहुलियतपूर्ण कर्जा अन्तर्गत बैंक तथा वित्तीय संस्थाले गरे ४७ अर्ब लगानी Read Previous

सहुलियतपूर्ण कर्जा अन्तर्गत बैंक तथा वित्तीय संस्थाले गरे ४७ अर्ब लगानी

बैंक ह्याकिङ्ग प्रकरण : १ करोड लिएर भागेका एजेन्ट पक्राउ Read Next

बैंक ह्याकिङ्ग प्रकरण : १ करोड लिएर भागेका एजेन्ट पक्राउ