काठमाडौं । नबिल बैंकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई ९६ वटा अस्थायी आवास हस्तान्तरण गरेको छ ।
बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले नलगाड नगरपालिकाका प्रमुख डम्बरबहादुर रावत र चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादीलाई एक कार्यक्रममा अस्थायी आवास निर्माण सम्पन्न भएको जानकारी दिँदै त्यससम्बन्धी कागतपत्र उनीहरूलाई हस्तान्तरण गरेका हुन् ।
बैंकले स्थानीय सरकारसँगको साझेदारीमा जाजरकोटको नलगाड नगरपालिका-१ मा ४७ र रुकुम पश्चिमको चौरजहारी नगरपालिका-१ मा ४९ अस्थायी आवास निर्माण गरेको थियो ।
बैंकले जारी गरेको प्रेस विज्ञप्तिअनुसार आवास हस्तान्तरण कार्यक्रममा अध्यक्ष पौडेलले बैंक समाजमा सकारात्मक प्रभाव पार्न सधैं प्रतिबद्ध रहेको बताउँदै प्राकृतिक प्रकोपबाट प्रभावितलाई सहयोग पुर्याउने उद्देश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले अस्थायी आवास निर्माण परियोजना कार्यान्वयन गरेको जानकारी दिए ।
नलगाड नगरपालिकाका प्रमुख रावत र चौरजहारी नगरपालिकाका प्रमुख वादीले भूकम्प प्रभावितलाई ओत लाग्ने ठाउँ उपलब्ध गराएकामा बैंकप्रति आभार व्यक्त गरेका थिए ।
आवास हस्तान्तरण कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गाना, बैंकका सञ्चालक निर्वाण चौधरीलगायत बैंकका उच्च पदाधिकारीहरुको उपस्थिति थियो ।
अघिल्लो वर्षको कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका-१, रामीडाँडा केन्द्रविन्दु भएर ६.४ रिक्टर स्केलको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा व्यापक क्षति भएको थियो ।