काठमाडौं । नेपाल सरकारलाई विकास साझेदारबाट प्राप्त हुने वैदेशिक सहायतामा उल्लेख्य परिमाणमा वृद्धि भएको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को पुस पहिलो सातासम्ममा २ खर्ब २ अर्ब ४० करोड रुपैयाँ बराबरको वैदेशिक सहायताको नयाँ प्रतिबद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा प्राप्त प्रतिबद्धता ५९ अर्ब ९८ करोड रुपैयाँको तुलनामा चालु आवमा २३७ प्रतिशतले प्रतिबद्धता बढेको अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले जानकारी दिए। उनका अनुसार यस अवधिमा वैदेशिक अनुदानको प्रतिबद्धता १५३ प्रतिशतले र वैदेशिक ऋणको प्रतिबद्धता २८० प्रतिशतले बढेको हो ।
त्यसैगरी चालु आर्थिक वर्षको हालसम्मको अवधिमा प्राप्त वैदेशिक सहायता पनि गत वर्षको समान अवधिको तुलनामा ३०.३ प्रतिशतले वृद्धि भएको प्रवक्ता भट्टराईले बताए ।
उनका अनुसार यस अवधिमा वैदेशिक अनुदान ६ अर्ब ७५ करोड, वैदेशिक ऋण ३७ अर्ब ३३ करोड गरी कुल ४४ अर्ब ८ करोड वैदेशिक सहायता प्राप्त भई विभिन्न विकास निर्माणका क्षेत्रमा प्रयोग भएको छ ।