चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै

बागमती । हेटौँडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई सुरुङमार्ग सर्वसाधारणको अवलोकनका लागि खुला गर्ने तयारी सुरु भएको छ । बागमती प्रदेश सरकारको ४ करोड ५७ लाख रुपैयाँको लागतमा पुनःनिर्माण भएपछि सर्वसाधारणको अवलोकनका लागि खुला गर्न लागिएको हो ।

प्रदेश सरकार अन्तर्गतको प्रदेश यातायात पूर्वाधार निर्देशनालयले पुनःनिर्माण गरिएको सो सुरुङमार्ग आज औपचारिक रुपमा हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गर्न लागेको छ ।

हस्तान्तरण लगत्तै सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिने उपमहानगरका प्रमुख मिनाकुमारी लामाले जानकारी दिइन् । सुरुङमार्ग व्यवस्थापन तथा सञ्चालन गर्ने सहमति भइसकेकाले सर्वसाधारणको अवलोकनका लागि खुला गर्न लागिएको प्रमुख लामाले बताइन् ।

सुरुङमार्ग अवलोकनका लागि आउने नेपालीलाई प्रतिव्यक्ति ५० रुपैयाँ, विदेशीलाई प्रतिव्यक्ति १२० रुपैयाँ, विद्यार्थीलाई प्रतिव्यक्ति २० रुपैयाँ र ५ वर्षमुनीका बालबालिका, जेष्ठनागरिक र आपाङता भएका व्यक्तिलाई निःशुल्क गरिने प्रमुख लामाको भनाइ छ ।

पुनःनिर्माण गरिएको उक्त सुरुङमार्गलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजनाका साथ अवलोकन गर्न आउनेहरुका लागि खुला गर्न लागिएको प्रमुख लामाले बताइन् ।

मधेस प्रदेशको बारा र बागमती प्रदेशको मकवानपुरलाई जोड्ने उक्त सुरुङमार्ग विसं १९७४ मा तत्कालिन प्रधानमन्त्री चन्द्रशमशेरको पालामा निर्माण गरिएको थियो । सो सुरुङमार्गबाट विसं २०२० सम्म सवारी साधनहरु सञ्चालन हुँदै आएको थियो ।

जिर्ण भएको सो सुरुङमार्गको गत २०७९ साल वैशाख १९ गते जिर्णोद्वार सम्पन्न गर्ने गरी काम सुरु भएको थियो । सुरुङमार्ग पुनःनिर्माण भएपनि त्यसको सञ्चालन कसले गर्ने भने अन्यौलताका कारण लामो समयदेखि बन्द थियो ।

उपमहानगरले सुरुङमार्ग सञ्चालन गर्ने सहमति भएपछि हस्तान्तरण गरी सञ्चालनमा ल्याउन लागिएको प्रदेश यातायात पूर्वाधार निर्देशनालयका निर्देशक पुष्पकरराज पोखरेलले जानकारी दिए ।

कुल १९८ मिटर लम्बाई उक्त सुरुङमार्ग पुनःनिर्माण पश्चात २२५ मिटरको पुगेको जनाएको छ ।

नबिल बैंकले बनाइदियो भूकम्पपीडितलाई ९६ वटा अस्थायी आवास Read Previous

नबिल बैंकले बनाइदियो भूकम्पपीडितलाई ९६ वटा अस्थायी आवास

नेपाल बैंक र काठमाडौं डेन्टल हस्पिटल बीच छुट सम्बन्धी सम्झौता Read Next

नेपाल बैंक र काठमाडौं डेन्टल हस्पिटल बीच छुट सम्बन्धी सम्झौता