बाढीपहिरोको क्षतिबापत १६ बीमा कम्पनीले दिए १.१९ अर्ब दाबी भुक्तानी

काठमाडौं । गत असोजको ११ र १२ को अविरल वर्षापछिको बाढीपहिरोका कारण भएको जनधनको क्षतिबापत बीमा कम्पनीहरुले झण्डै सवा १ अर्ब दाबी भुक्तानी दिएका छन् ।

नेपाल बीमा प्राधिकरणका अनुसार मंसिर २६ गतेसम्म बाढीपहहिरोबाट भएको क्षतिको १२ अर्ब ३६ करोड रुपैयाँ बराबरको दाबी परेको थियो । १८ निर्जीवन बीमा कम्पनी मध्ये हालसम्म १६ कम्पनीले १ अर्ब १९ करोड ६४ लाख रुपैयाँ दाबी भुक्तानी दिएका हुन् ।

प्राधिकरणका अनुसारकुल ३ हजार ५४९ वटा दाबी परेकोमा १ हजार ५१४ निवेदनको दाबी भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।

दाबीको तुलनामा भुक्तानी न्यून देखिएको छ । हालसम्म बीमा कम्पनीहरुले कुल दाबीको साढे ९ प्रतिशत मात्रै भुक्तानी गरेका हुन् । बाँकी दाबीहरु पनि भुक्तानी प्रक्रियामा रहेको बीमा कम्पनीहरुले जनाएका छन् ।

प्राधिकरणका अनुसार हालसम्म शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै ३० करोड ७८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । शिखरमा कुल १ अर्ब १६ करोड रुपैयाँ बराबरको बीमा दाबी परेको छ ।

त्यस्तै, सबैभन्दा धेरै २ अर्ब ६२ करोड रुपैयाँको दाबी परेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले हालसम्म २५ करोड ५३ लाख रुपैयाँ मात्रै भुक्तानी दिएको छ ।

१ अर्ब ५२ करोडको दाबी परेको दि ओरियन्टलले ४ करोड ४९ लाख, १ अर्ब ३४ करोड रुपैयाँको दाबी परेको सगरमाथा लुम्बिनीले १४ करोड ५४ लाख रुपैयाँ, १ अर्ब १ करोड दाबी परेको हिमालयन एभरेष्ट इन्स्योरेन्सले १० करोड ढ३ लाख रुपैयाँ भुक्तानी दिएको छ ।

त्यस्तै, साढे ७४ करोड रुपैयाँको दाबी परेको युनाइटेड अजोडले १ करोड २८ लाख, ६७ करोड ३८ लाख दाबी परेको नेकोले ८ करोड १३ लाख, साढे ५० करोड दाबी परेको एनएलजीले २ करोड ५४ लाख, ४५ करोड ३७ लाख दाबी परेको आइजीआइ पु्रडेन्सियलले ८ करोड ६७ लाख, ४२ करोड दाबी परेको नेपाल इन्स्योरेन्सले १ करोड ४८ लाख रुपैयाँ दाबी भुक्तानी दिएको प्राधिकरणले जनाएको छ ।

हालसम्म राष्ट्रिय बीमा कम्पनी र ट्रष्ट माइक्रोइन्स्योरेन्सले १ रुपैयाँ पनि दाबी भुक्तानी दिएका छैनन् । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीमा २० करोड ७१ लाख रुपैयाँ र ट्रष्ट माइक्रो इन्स्योरेन्समा १५ लाख २० हजार रुपैयाँ बराबरको दाबी परेको छ ।

राष्ट्रपति पौडेलद्वारा ५ देशका राजदूत नियुक्त Read Previous

राष्ट्रपति पौडेलद्वारा ५ देशका राजदूत नियुक्त

भैरहवा विमानस्थलमा पहिलो पटक चिनियाँ जहाज अवतरण Read Next

भैरहवा विमानस्थलमा पहिलो पटक चिनियाँ जहाज अवतरण